हिजोआज बजारमा विभिन्न किसिमका हेयर स्टाइल चलनचल्तीमा छन् । खासगरी, युवतीहरू आफूलाई स्टाइलिस देखाउन चाहन्छन् । फलस्वरूप बजारमा आइरहने स्टाइललाई उनीहरूले अपनाइरहेका हुन्छ । आफ्नो रूप, रङ, बनोट र स्वभावका आधारमा मन पर्ने हेयर स्टाइल राख्न सकिन्छ, जसले गर्दा स्टाइलिस देखिनुका साथै सहजसमेत महसुस होस् ।
एज कलर
पछिल्लो समय चलेका हेयर स्टाइलमध्ये एज कलर एक हो । आजकल अधिकांश युवतीले कपालमा खैरो र हल्का पहँेलो खालको रङ राख्ने गर्छन् । विशेषगरी, मंगोलियन अनुहार र गोरो छाला भएकाका लागि यस्तो रङ बढी सुहाउँछ । त्यस्तै, गहुँगोरो छाला भएकालाई हलुका निलो र पर्पल कलर राम्रो देखिन्छ । जुनसुकै आकारको कपाललाई पनि कलर गरेर स्टाइलिस बनाउन सकिन्छ ।
स्ट्रेट
कपाललाई सीधा बनाउने चलनले क्लासिक लुक दिने गर्छ । यो एकदमै सजिलो तरिका हो । जस्तोसुकै पहिरनमा पनि यो फिट देखिन्छ । कपाललाई खुला छाड्ने भएकाले मिलाउन सहज र स्याहार गर्न पनि सजिलो हुन्छ । यसमा अगाडिको थोरै कपाललाई पछाडि लगेर पिनले बाँध्नसमेत सकिन्छ ।
मेरी टप नट
स्टाइलिस देखिनका लागि कतिपय महिला कपाल बाँध्ने गर्छन्, जसलाई मेरी टप नट भनिन्छ । यसमा पोनिटेल अर्थात् घुमाएर बाँध्ने, स्पाइरल, ब्याडलक बनाउने वा माथि जुरो बनाएर बाँध्ने गरिन्छ । सामान्यतया सबै कपाललाई माथि लगेर मुठो पारेर बाँधिन्छ । साथै, आधा बाँधेर र आधा छाडेर पनि फरक लुक्स दिन सकिन्छ ।
फ्रन्ट पफ
फ्रन्ट पफ स्टाइल युवतीमाझ निकै लोकप्रिय छ । यसमा अगाडिको कपाल अलिकति उठाएर माथि क्लिपले बाँधिन्छ । यसलाई पफ बनाउने पनि भनिन्छ । आफूलाई मन पर्ने गरी पछाडिको कपाल जुरो बनाउन वा बाट्न सकिन्छ अथवा खुला नै छाड्न सकिन्छ ।
ट्रेडिसनल लुक्स
ट्रेडिसनल लुक्स पनि युवतीहरूले धेरै रुचाउने गरेका छन् । यसमा कपाललाई दुवैपट्टिबाट बाटेर पछाडि लगिन्छ र पछाडिको कपाल स्टाइलिस गरेर बाटिन्छ । अनि, जुरो बनाएर स्टाइल दिइन्छ । यो खासगरी उत्सव, पर्व वा भोज आदिका लागि उपयुक्त हुन्छ ।
अन्डरकट
अन्डरकटमा अगाडिको कपाललाई छाडेर दायाँ र बायाँको कपाललाई छोट्याउने गरिन्छ । युवामाझ लोकप्रिय रहेको यो स्टाइल हिजोआज युवतीले पनि अपनाउन थालेका छन् । यसले कपालसँगै अनुहारको लुक्सलाई समेत परिवर्तन गर्छ ।