१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार १८:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पा २ ले शक्तिशाली सांसद पायो, ‘ज्यानमारा’ सडकबाट निकास पाएन

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार १८:०५:००

०४८ सालको चुनावमा नेताले मलाई भोट दिनुहोस् सिद्धबाबा सडक बनाइछाड्छौँ भनेको सम्झना अझै ताजै छ तानसेन– ५ कैलाशनगरका प्रेमबहादुर बुढामगरलाई। अहिले उक्त बाटो झनै बिजोग बन्दै गएको छ। मगरले भने, ‘उक्त सडकमा अहिलेसम्म कति जनाको अनाहकमा ज्यान गयो लेखाजोखा छैन।’ 

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावमा पनि उम्मेदवारहरूले सिद्धबाबा सडक बनाउने नारा दोहोर्‍याएका छन्। ०४८ सालको चुनावदेखिको भोट माग्ने मुख्य हतियार बनेको यो सडक अहिले झन् खस्किँदो अवस्थामा छ। घरमा हिसाबकिताब नै बुझाएर यात्रा गर्नुपर्ने यो सडकलाई धेरैजना ज्यानमारा सडकसमेत भन्छन्। 

दैनिक साना–ठूला गरी पाँच हजारभन्दा बढी सवारी आवागमन हुने यो मार्ग पाल्पा, अर्घाखाँची, स्याङ्जा, गुल्मी, पर्वत, बाग्लुङ, कास्कीलगायतका जिल्लालाई जोड्ने मुख्य राजमार्ग हो। सिद्धार्थ राजमार्गअन्तर्गतको चार किलोमिटर सिद्धबाबा सडक क्षेत्र जोखिमयुक्त छ। वर्षा वा हिउँद जुनकुनै वेला पनि पहिरो जाने यस क्षेत्रमा प्रत्येक साल आधा दर्जनभन्दा बढीले ज्यान गुमाउने गरेका छन्। 

०४८ को चुनावमा पाल्पाका तीनवटै क्षेत्र विजय प्राप्त गरेको कांग्रेसले केही कार्यक्रममा सडकको नाम उच्चारण गर्नेबाहेक केही काम गर्न सकेन। ०४८ मा विजयी भएका नेपाली कांग्रेसका हरि नेपाल दुईपटक संसदमा पुगे। प्रत्येक चुनावमा सडक नै बनाउँछु भनेका नेपालको कार्यकाल पनि सकियो। 

०४८ मै चुनाव लडेका एमाले नेता दलबहादुर रानाले पनि यो बाटोको विकल्प खोज्ने विषयमा प्रभावकारी भूमिका खेल्न सकेनन्। एकपटक चुनाव हारेका रानाले चारपटक पाल्पाली जनताको प्रतिनिधित्व गरे, तर यो सडक निर्माणमा उनको ध्यान पुग्न सकेन। भूमि सुधारमन्त्रीसमेत बनेका उनीबाट जनताले आशा गरे, तर कुनै परिणाम निस्किएन। 

०५१ देखि नै लगातार चुनाव लडिरहेका एमाले नेता सोमप्रसाद पाण्डे अहिलेको चुनावमा पनि पाल्पा २ बाटै प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीबाट चुनाव भिड्दै छन्। प्रत्येक चुनावमा सिद्धबाबा क्षेत्रको सडक बनाउँछु भनेर नथाकेका पाण्डेले यसपालि पनि पुरानै नाराको रटान लगाएका छन्। ०६४ को चुनाव मात्रै हारेका उनले चारपटक जितेका छन्। केपी ओली प्रधानमन्त्री र उनी निकट विष्णु पौडेल अर्थमन्त्री हुँदा उद्योगमन्त्री बनेका पाण्डेले सडकको कुनै निकास दिन सकेनन्। 

प्रत्येक चुनावमा सडक बनाउँछौँ भनेर भोट मागे पनि माओवादीले भने ०६४ को चुनावमा एक सिटभन्दा बढी जित्न सकेन। प्रदेश सभामा टिकट पाएका माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्तीले पनी सिद्धबाबा सडकलाई नारामा समेटेका थिए, त्यसमा उनको भूमिका देखिएन। लुम्बिनी प्रदेशका ऊर्जा तथा जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पनि पाल्पा–बुटवल यात्रा गर्दाबाहेक बाटोको विषयमा सोच्न सकेनन्। राना यो चुनावमा पनि पाल्पा २ (क)बाटै लुम्बिनी प्रदेश सभा सदस्यको लागि चुनावी मैदानमा छन्।

पटकपटक पाल्पाबाट जितेर गए पनि यो सडकको दिगो मर्मत वा विकल्पमा कुनै ध्यान नदिएकोप्रति पाल्पाली जनता चिन्तित छन्। पुरानै उम्मेदवार भएका कारण सडकको स्तराेन्नति हुनेमा मतदाता ढुक्क छैनन्।