आइसिसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको छ। एडिलेडमा शुक्रबार भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको हो।
अस्ट्रेलियाले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६४ रन मात्र बनायो।
अफगानिस्तानका लागि रासिद खानले ४८ (नटआउट), गुलाबदिन नइबले ३९ र रहमनुल्लाह गुरबाजले ३० रन बनाएका थिए।
यस्तै, बलिङतर्फ अस्ट्रेलियाका जोस हेजलवुड र एडम जम्पाले दुई–दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६८ रन बनायो।
ब्याटिङतर्फ म्याक्सवेलले ५४ (नटआउट) र मिचेल मार्सले ४५ रन बनाए। बलिङतर्फ अफगानिस्तानका नवीन उल हकले तीन र फजलहक फरुकीले दुई विकेट लिए।
यो जितसँगै अस्ट्रेलिया पाँच खेलमा सात अंकसहित समूह ‘ए’को तालिकाको दोस्रो स्थानमा उक्लिएर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ।
यसका लागि अस्ट्रेलियालाई शनिबार हुने इंग्यान्ड र श्रीलंकाको खेल कुर्नुपर्ने हुन्छ। त्यो खेलमा इंग्ल्यान्ड विजयी भएको खण्डमा अस्ट्रेलिया स्वतः बाहिरिनेछ। समूह ‘ए’बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ।
अफगानिस्तानको भने सेमिफाइनल जाने सम्भावना टुंगिएको छ। अफगानिस्तान दुई अंकसहित तालिकाको पुछारमा छ।