नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका छन् । निर्वाचन आयोगमा आज आयोजित एक कार्यक्रममा उनले गाडी हस्तान्तरण गरेका हुन् ।
सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने भारतको विश्वास छ। नेपाल सरकारको अनुरोधमा ८० वटा सवारीसाधन उपलब्ध गराइएको भारतीय राजदूतावासले जनाएको छ ।
‘नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले निर्वाचनको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतले हालसम्म निर्वाचन आयोगलाई दुई सय १४ वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको छ ।’