वैदेशिक रोजगारका नाममा मात्रै होइन, सोलार प्लान्ट जोड्ने भन्दै स्थानीय तहमा समेत ठगी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भगाइएका फरार अभियुक्त श्यामराज पाण्डेका दुईवटा राहदानी (मेसिन रिडेबल पासपोर्ट) भएको खुलेको छ । वैदेशिक रोजगारका नाममा ठगीको आरोप लागेका पाण्डेका १२३४३४१२ र १०५९५१२५ नम्बरका दुईवटा राहदानी भएको वैदेशिक रोजगार विभागले नै पुष्टि गरेको हो ।
विमानस्थलकै कर्मचारीको मिलेमतोमा पाण्डे एक साताअघि ७ कात्तिकमा विमानस्थलबाट भगाइएका थिए । जापान जान लागेका उनी कर्मचारीकै मिलेमतोमा भागेको खुलेपछि अध्यागमन विभागले घटनाको छानबिन गर्दै छ । विमानस्थलबाट भगाइएको एक दिनअघि मात्रै ६ कात्तिकमा वैदेशिक रोजगार विभागले अध्यागमनलाई पत्र काट्दै पाण्डेलाई पक्राउ गर्न भनेको थियो । उक्त पत्रमा पाण्डेको नाममा जारी भएका दुईवटा राहदानी नम्बर उल्लेख गरिएको छ ।
घटनाको अनुसन्धानमा संलग्न अध्यागमनका निर्देशक कमलप्रसाद पाण्डेले वैदेशिक रोजगार विभागबाट प्राप्त पत्रमा पाण्डेको राहदानीका दुईवटा नम्बर खुलाइएको बताए । तर, घटनाको अन्य पक्षबारे छानबिन भइरहेको र राहदानीको सम्बन्धमा भने छानबिन गर्ने निकाय अरू नै भएको बताए । ‘श्यामराजको सम्बन्धमा छानबिन गर्न समिति नै गठन भएको छ । जहाँसम्म उनको नाममा जारी राहदानीको विषय छ । यसमा हामी जानकार हुँदैनौँ । यो हेर्ने निकाय अरू नै हो,’ उनले भने, ‘वैदेशिक रोजगार विभागले पठाएको पत्रमा राहदानीका दुईवटा नम्बर भने उल्लेख छ । यो हेर्ने निकाय अध्यागमन होइन ।’
नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार श्यामराजले प्रयोग गर्ने १२३४३४१२ नम्बरको एउटा राहदानी २५ अगस्ट ०२१ मा जारी भएको देखिन्छ, जसको म्याद २४ अगस्ट ०३१ सम्म छ । जसमा प्रयोग भएको नागरिकता नम्बर १३७७६ छ । त्यस्तै, १०५९५१२५ नम्बरको अर्को राहदानी भने २३ अक्टोबार ०१७ मा जारी भएको देखिन्छ । राहदानीको म्याद २२ अक्टोबर ०२७ सम्म रहेको देखिन्छ । उक्त राहदानीमा नागरिकता नम्बर ७३७७६ प्रयोग भएको छ । दुवै राहदानीमा वाहकको नाम श्यामराज पाण्डे उल्लेख छ । जन्ममिति ३ डिसेम्बर १९८३ उल्लेख छ । ठेगानामा नुवाकोट भनिएको छ । दुवैमा श्रीमती नवीना पन्त उल्लेख छ ।
अध्यागमन निर्देशक पाण्डेले राहदानीको सम्बन्धमा भने, ‘राहदानी कसरी जारी भयो ? कहिले जारी भयो ? जारी भएको राहदानी सही हो कि गलत हो, यस विषयमा हेर्ने निकाय अरू नै छ । हामीले अध्ययन गर्ने अध्यामगनको पाटो मात्रै हो । यसक्रममा शंकास्पद कागजात फेला परे सम्बन्धित निकायलाई जानकारी गराउने कामसम्म हाम्रो होला ।’
नुवाकोट बेलकोटगढी नगरपालिका– १३ का श्यामराजविरुद्ध वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी परिसर काठमाडौंलाई १५ साउनमा पक्राउ गर्न पत्र काटेको थियो । वैदेशिक रोजगार कसुरमा छुना गुरुङलगायतको उजुरी परेपछि विभागले काठमाडौं परिसरलाई पक्राउ गर्न पत्र काटेको थियो । तर, उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । यही क्रममा जापान जाने सूचनापछि उनलाई रोक्न विभागले गत ६ कात्तिकमा अध्यागमन विभागलाई पत्र काटेको थियो । तर, पत्रको बेवास्ता गर्दै अध्यागमनका कर्मचारीले उनलाई त्यसको भोलिपल्ट भगाएका थिए । त्यसको करिब एक घन्टापछि मात्रै उनीहरूले उनको सम्बन्धमा प्रहरीलाई जानकारी गराएका थिए ।
अध्यागमनको सिस्टममा उनको पासपोर्ट कालोसूचीमा देखिएपछि अध्यागमन कर्मचारीले प्रहरीलाई बुझाउनुपर्नेमा उनलाई भगाएपछि मात्रै खबर गरेको प्रारम्भिक छानबिनले देखाएको छ । घटनामा अध्यागमन कर्मचारीको भूमिका शंकास्पद देखिएपछि विभागले छानबिन थालेको छ । विभागका निर्देशक पाण्डेको नेतृत्वमा कर्मचारीहरूमाथि छानबिन भइरहेको छ ।
विभागले गरेको छानबिनमा अध्यागमन अधिकृत सन्तोष सुवेदी आफैँ उनलाई लिन एक तलामुनि गएको देखिन्छ । उनै सुवेदीले पाण्डेलाई प्रस्थान अनुमति दिलाउन पहल गरेका थिए । तर, एक कर्मचारीले आनाकानी गरेपछि आफूहरू फस्ने भन्दै मानेनन् । त्यसपछि उनी नै अभियुक्त पाण्डेलाई बाहिरसम्म छाड्न गएका थिए । त्यहाँबाट प्रहरीलाई छक्याउँदै पाण्डे भागेका थिए । उनी भागिसकेपछि अध्यागमन कार्यालयबाट प्रहरीलाई जानकारी गराइएको स्रोत बताउँछ ।
विभाग स्रोतका अनुसार ८:३७ बजे अध्यागमनको बी–वान गेटबाट उनी बाहिरिएका थिए । ९:२० मा प्रहरीलाई खबर भएको थियो । प्रहरीले सिसिक्यामेराका आधारमा खोजी सुरु गर्दा उनी विमानस्थलबाट भागिसकेका थिए । घटनाको एक सातासम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । कोही व्यक्ति कालोसूचीमा देखिए अध्यागमनले तत्कालै प्रहरीलाई खबर गरेर बुझाउने गर्छ । तर, पाण्डेको हकमा भने नियोजित रूपमा भगाएर प्रहरीलाई खबर गरेको स्रोत बताउँछ ।
पाण्डे मानव बेचबिखन मुद्दामा सर्वोच्चबाट समेत दोषी ठहर
फरार पाण्डे मानव बेचबिखन तथा वैदेशिक रोजगार ठगीमा कुख्यात व्यक्ति भएको अध्यागमनको प्रारम्भिक छानबिनमा खुलेको छ । उनीविरुद्ध सर्वोच्च अदालतले समेत ०७८ फागुनमा मानव बेचबिखन कसुरमा दोषी ठहर गरेको प्रहरीले जनायो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई ०७१ असोजमा पक्राउ गरेकोमा पछि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, सात वर्षपछि अदालतले दोषी ठहर गरे पनि उनी फरार छन् ।
त्यसअघि सरकारी छाप किर्ते गरेको कसुरमा उनलाई २१ पुस ०६२ मै जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद सजाय सुनाएको थियो । पाण्डेले अमेरिका र अस्ट्रेलिया पठाइदिने भन्दै सर्वसाधारणबाट ५ लाखदेखि ४० लाख रुपैयाँसम्म उठाएका थिए ।
सोलार प्लान्ट जोड्ने भन्दै स्थानीय तहमा समेत ठगी
वैदेशिक रोजगारको नाममा दलाली गर्ने श्यामराजले डोटीको पूर्वीचौकी गाउँपालिकामा ६० मेगावाटको सोलार पावर बनाउने भन्दै योजना स्वीकृत गराई डिपिआरका लागि १५ लाख लिएर सम्पर्कविहीन बनेको खुलेको छ । अछामको रामारोशन गाउँपालिकामा पनि १० मेगावाटको सोलार पावर बनाउने भन्दै योजना स्वीकृत गराई डिपिआरका लागि १५ लाख लिएर लापत्ता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए ।
श्यामराजले आफूलाई बायोग्यास, सोलार पावर, विन्ड पावर, वेस्ट म्यानेजमेन्ट, वेस्ट वाटर ट्रिटमेन्ट र कृषिको विज्ञसमेत भनेर स्थानीय तहका नेतृत्वसँग परिचित गराउने, प्रोजेक्ट स्वीकृत गराउने, रकम लिने र केही अवधि काम गरेजस्तो गरेर सम्पर्कविहीन बन्ने गरेका छन् । यस्तो ठगीका लागि उनले स्काई ब्लु टेक्नोलोजी कम्पनी नै दर्ता गराएका छन् । उनले पोखरा महानगरपालिकाबाट पाँच वर्षका लागि बायोग्यास, सोलार पावर, विन्ड पावर, वेस्ट म्यानेजमेन्ट, वेस्ट वाटर ट्रिटमेन्ट र कृषि विषयको ‘कन्सल्टेन्ट’का रूपमा नियुक्ति नै लिएका छन् । २० डिसेम्बर ०२१ मा नियुक्त भएका उनीको कार्यावधि २० डिसेम्बर ०२६ सम्म कायम छ । नियुक्तिपत्रमा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको हस्ताक्षर छ । उनले अन्य स्थानीय तहलाई समेत ठगी गरेको स्रोतले बतायो ।
पाण्डे आफू टेलिभिजनको पत्रकारसमेत भएको भनेर परिचित गराउँछन् । उनले इमरलेन्ड प्लानेट टिभीको प्रेसपास नै बनाएका छन् । नयाँ पत्रिकालाई प्राप्त प्रेसपासअनुसार उनी टेलिभिजनको ‘कन्ट्री रिप्रेजेन्टेटिभ’ हुन् ।