मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Friday, 28 August, 2026
२o७९ कार्तिक १६ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

धनगढी बजारमा चल्यो उपमहानगरको डोजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १९:o५:oo

धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको छ। उपमहानगरले बुधबारबाट डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरेको हो। 

मुख्य बजारस्थित कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक फराकिलो बनाउनका लागि अतिक्रमण हटाउन लागिएको उपमहानगरले जनाएको छ। स्वास्थ्यको प्रयोगशाला भवन र सेती प्रादेशिक अस्पतालको व्यापारिक कम्प्लेक्समा बुधबार डोजर चल्यो। प्रयोगशाला र अस्पतालको सडकमा परेका संरचना डोजर लगाएर भत्काइएको हो। 

सडक विस्तार गर्न धनगढीका मेयर गोपाल हमाल आफैँ फिल्डमा खटिएका छन्। उनले मुख्य बजार क्षेत्रको सडक ३० मिटर फराकिलो बनाउन लागिएको बताए। त्यसका लागि सरकारी कार्यालयबाट अतिक्रमण हटाउने कार्यको सुरुवात गरिएको उनले बताए। सडकको क्षेत्राधिकारभित्र बनेका सरकारी संरचना हटाइसकेपछि निजी संरचना हटाउन सुरु गरिने मेयर हमालले जानकारी दिए। अहिले घरधनीलाई त्यस्ता संरचना आफैँ हटाउन आग्रह गरिएको उपमहानगरले जनाएको छ। 

उपमहानगरले गत भदौ दोस्रो साता सूचना जारी गर्दै मुख्य बजारस्थित सडकको ३० मिटर क्षेत्राधिकारभित्र बनेका संरचना असोज मसान्तभित्र हटाउन आग्रह गरेको थियो। तर, तोकेको समयमा संरचना खाली नगरिएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको उपमहानगरले जनाएको छ।
    
‘निजी संरचना हटाउन घरधनीलाई आग्रह गरिसकेका छौँ। सडकको क्षेत्राधिकारमा परेका सरकारी संरचना हटाइसकेपछि निजी संरचना पनि हटाउँछौँ,’ मेयर हमालले भने, ‘हाम्रा प्राविधिकले सडकको क्षेत्र रेखांकन गर्ने काम गरिरहनुभएको छ।’ 

एक दर्जन डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कार्य जतिसक्दो चाँडो पूरा गर्ने योजना रहेको उनले बताए। उपमहानगरसँग दुईवटा मात्रै डोजर रहेकाले १० वटा डोजर भाडामा लिनका लागि उपमहानगरले टेन्डर आह्वान गरेको छ।