१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका डडेल्धुरा
२o७९ कार्तिक १६ बुधबार ११:१४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले गृहजिल्लामा सातवटा चुनावी सभालाई सम्बोधन गर्ने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार ११:१४:oo

प्रधानमन्त्री देउवा १७ देखि २० कात्तिकसम्म गृहजिल्ला डडेल्धुरामा हुने चुनावी सभामा व्यस्त रहने

पत्नी आरजु राणा देउवामार्फत प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरा आउँदै छन् । मनोनयन दर्तापछि प्रधानमन्त्री देउवा पहिलोपटक चुनावी कार्यक्रममा सहभागी हुन यही कात्तिक १७ गते गृहजिल्ला आउन लागेका हुन् । केही दिनअघि गठबन्धनको कार्यकर्ता प्रशिक्षणका लागि धनगढी आएका प्रधानमन्त्री देउवा उतैबाट फर्किएका थिए । स्थानीय तहको चुनावपछि प्रधानमन्त्री देउवा गृहजिल्ला आएका छैनन् ।  

उनी चार दिन गृहजिल्लामै चुनावी कार्यक्रमहरूमा व्यस्त रहने कार्यतालिका रहेको कांग्रेस डडेल्धुराले जनाएको छ । यस दौरानमा प्रधानमन्त्री देउवाले सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा हुने सत्तागठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको कांग्रेसका जिल्ला सभापति एवं वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक भीमबहादुर साउदले जानकारी दिए । साउदका अनुसार चुनावी सभासँगै प्रधानमन्त्रीले कार्यकर्ता भेटभाट गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री देउवा बुधबार बेलुकी धनगढी आइपुग्नेछन् । उनले १७ कार्तिकमा सदरमुकामको बागबजारमा हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नेछन् ।  त्यसपछिका तीन दिन उनले दैनिक दुईवटा आमसभालाई सम्बोधन गर्ने कार्यतालिका मिलाइएको छ । त्यस्तै, १८ कात्तिकमा नवदुर्गा गाउँपालिकाको बेलापुर र गन्यापधुरा गाउँपालिकाको गणेशपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गन्यापधुरा देउवाको घर रहेको पालिका हो । 

यसैगरी,  १९ कात्तिकमा अयमेरू गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपालमा हुने सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने साउदले जानकारी दिए । २० कात्तिकमा आलिताल गाउँपालिकाको गोदाम र पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । चुनावी कार्यक्रमका लागि प्रधानमन्त्रीले हेलिकोप्टर प्रयोग गर्ने कांग्रेसले जनाएको छ ।

‘अहिलेलाई चार दिन बस्ने कार्यतालिका छ । समय थप पनि हुन सक्छ,’ संयोजक साउदले भने, ‘त्यसपछि प्रधानमन्त्री एकैपटक मौन अवधि सुरु हुनुअघि आउनुहुन्छ ।’ गठबन्धनले अहिले जिल्लाका सातवटै पालिकामा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर घरदैलो अभियान सुरु गरेको उनले जानकारी दिए । प्रधानमन्त्री देउवा घरदैलो कार्यक्रममा भने सहभागी हुने कार्यतालिका छैन ।

मल्लको चुनौती

डडेल्धुराबाट सातौँपटक चुनाव लड्न लागेका देउवालाई यसपालि उनकै पूर्वकार्यकर्ता कर्ण मल्लले चुनौती दिँदै छन् । यसअघिका ६ वटै निर्वाचनमा विजयी भएका देउवालाई यसपालि केन्द्रको गठबन्धनअनुसार जिल्लामा जनमतका हिसाबले कांग्रेसपछि दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको समर्थन छ । 

दुईपटक कांग्रेस डडेल्धुराका सभापति भइसकेका मल्ल केही महिनाअघि पार्टीले साधारण सदस्यबाट समेत हटाएपछि नेपाली कांग्रेस (बिपी)बाट उम्मेदवार बनेका हुन् । यहाँ एमालेले भने संघमा उम्मेदवारी फिर्ता लिएको छ । कांग्रेस बिपीसँगको तालमेलका लागि एमालेले उम्मेदवारी फिर्ता लिएको हो । तर, पछि समीकरण भाँडियो । कांग्रेस बिपी र नेकपा एकीकृत समाजवादीबीच नयाँ समीकरण बनेको छ ।

केन्द्रमा सत्ता र चुनावी गठबन्धनमा रहेको समाजवादीले गठबन्धनका शीर्ष नेता उम्मेदवार रहेको डडेल्धुरामा भने गठबन्धनलाई भोट हाल्नेछैन । जिल्ला अध्यक्षसहित सबैजसो पदाधिकारी मल्लको पक्षमा लागेका छन् । जिल्लाका पार्टीका नेताहरूको सहमतिमै प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका समाजवादीका नेता डा. तारा जोशीलाई कांग्रेस बिपीले सघाउने सहमति भएको छ । उम्मेदवार नभएपछि अहिले एमालेको समर्थन पनि मल्ललाई रहेको बताइएको छ । 

प्रदेश सभा (क) मा गठबन्धनबाट माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट र (ख) मा कांग्रेसका गोविन्दराज बोहरा उम्मेदवार छन् । जिल्लामा गठबन्धन कायम हुन नसके पनि देउवाको विगतदेखिको ‘विरासत’ र गत स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादीले पाएको मत हेर्दा उनको अपराजित यात्रामा विराम लाउन सहज छैन । 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका सात पालिकामध्ये पाँचमा कांग्रेस र दुईमा माओवादीले जित हासिल गरेको थियो । वडाध्यक्षमा कांग्रेसले जिल्लाभरि सबैभन्दा बढी २१ हजार चार सय ६२ मत पाएको थियो । 

त्यस्तै, माओवादीले १२ हजार ६ सय २३, एमालेले १० हजार पाँच सय नाै, एकीकृत समाजवादीले चार हजार सात सय १९ र नेपाली कांग्रेस (बिपी)ले तीन हजार सात सय ९९ मत प्राप्त गरेका थिए । डडेल्धुरामा ९२ हजार दुई सय मतदाता छन् ।