कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले प्रधामन्त्री बन्ने इच्छा भए पनि तत्काल आफ्नो दाबी प्रधानमन्त्रीमा नरहेको बताएकी छिन् ।
दुईदिने जनकपुरधामको भ्रमणमा आएकी नेतृ राणाले सोमबार सञ्चारकर्मीकाे जिज्ञासामा यस्तो धारणा व्यक्त गरेकी हुन् ।
‘राजनीतिमा लागेपछि जोकोहीको इच्छा प्रधानमन्त्री, मन्त्री बन्ने हुन्छ,’ उनले भनिन्, ‘मेरोमा पनि त्यो इच्छा हो । तर, म अहिले त्यसको दाबी गर्दिनँ । प्रधानमन्त्री हुन अनुभव चाहिन्छ, देश चलाउने सक्ने क्षमता चाहिन्छ, भनेजस्तो सजिलो छैन ।’
आगामी निर्वाचनमा सत्तारूढ गठबन्धन दलले राम्रो सिट ल्याउने उनले दाबी गरिन् । सञ्चारकर्मीको एक जिज्ञसामा उनले भनिन्, ‘गठबन्धन दलभित्र अब कुनै विवाद छैन । अधिकांश बागी उम्मेदवार सहमतिमा आइसकेका छन् । भएकाले कुनै प्रभाव पार्न सक्दैनन् ।’
जनकपुरधामको छठ हेर्न र आफ्ना पार्टीका नेता तथा उम्मेदवारहरूसँग भेट्न जनकपुरधाम आएकी उनले जनकपुरधामको छठमा आफू पहिलोपटक सहभागी भई सूर्य देवतालाई पूजा गर्न सकेकोमा खुसी लागेको बताइन् । विश्वप्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न पहल गर्ने उनको भनाइ थियो ।