एक व्यक्ति टेम्पो चढेर कतै जाँदै थिए । चालक आरामले टेम्पो कुदाइरहेका थिए । अचानक एउटा कार पार्किङबाट हुइँकिएर टेम्पोको अगाडि आइपुग्यो । टेम्पोचालकले हतारहतार ब्रेक लगाए । ठूलो दुर्घटनाबाट उनीहरू जोगिए । कारचालकको गल्ती हुँदाहुँदै पनि उसले टेम्पोचालकलाई मुखमा आएजति शब्द निकालेर गाली गर्यो । टेम्पोचालक बडो शान्त स्वभावका थिए । त्यसैले, उनी कारचालकसित माफी मागेर अघि बढे ।
टेम्पोचालकको यस्तो व्यवहार देख्दा टेम्पोका यात्रु छक्क परे । उनले चालकसित प्रश्न गरे– त्यो कारचालकले तपाईंलाई त्यति नराम्रा शब्दमा गाली गर्यो । तैपनि, किन उल्टै तपाईंले माफी माग्नुभयो ? आखिर गल्ती त उसैको थियो । झन्डै उसको गल्तीले हामी दुवैको ज्यान गएन ।
टेम्पो कुदाउँदै चालकले गम्भीर हुँदै भने– कतिपय मानिस फोहोरका कन्टेनरजस्तै हुन्छन् । तिनले आफ्नो दिमागलाई फोहोर नै फोहोरले भरेका हुन्छन् । जुन कुरा जीवनमा कहिल्यै काम लाग्दैन, त्यसैको संग्रहमा लागिरहन्छन् । क्रोध, घृणा, चिन्ता, निराशाजस्ता अनेक थरी फोहोर दिमागभरि बोकेर डुलिरहन्छन् ।
जब दिमागमा यस्तो फोहोरको बोझ बढी हुन्छ, तब त्यसलाई कम गर्न उनीहरू अरूमाथि त्यो फोहोर फाल्ने मौकाको खोजीमा हुन्छन् । त्यसैले, म त्यस्ता मान्छेबाट टाढै बस्न रुचाउँछु । यस्तासित भेट हुने अवस्था आयो भने तिनलाई टाढैबाट नमस्कार गरेर आफ्नो बाटो लाग्छु । मैले पनि तिनले ममाथि फ्याँकेका फोहोर बटुल्दै हिँडेँ भने त म पनि फोहोरको कन्टेनर बन्छु र छेउछाउका मानिसमाथि फोहोर फाल्दै हिँड्न थालिहाल्छु नि !
मलाई लाग्छ, जिन्दगी अति सुन्दर छ । त्यसैले, जसले हामीसित राम्रो व्यवहार गर्छन्, तिनलाई आभार व्यक्त गरौँ र जसले राम्रो व्यवहार गर्दैनन्, तिनलाई हाँसेर माफ गरौँ । मानसिक रोगी अस्पतालमा मात्र हुँदैनन्, हाम्रा छेउछाउमै पनि हुन्छन् भन्ने हामीले कहिल्यै बिर्सनु हुँदैन । चालकबाट यात्रुले अनमोल ज्ञान पाए ।