१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक १२ शनिबार १४:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा एक हप्तामा ६ जनाले गरे आत्महत्या

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १२ शनिबार १४:४०:००

मकवानपुरमा पछिल्लो एक हप्तामा ६ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यलय मकवानपुरको तत्थ्यांकअनुसार कात्तिक ५ गते शनिबारदेखि आजसम्ममा ६ जनाले आत्महत्या गरेका छन्। 

आत्महत्या गर्नेमा दुईजना महिला र ४ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ। पाँचजनाले झुन्डिएर आत्महत्या गरेका छन् भने एकजनाले विषादी सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

कात्तिक ५ गते शनिबार हेटौँडा–८ की ४० वर्षीय महिलाले आत्महत्या गरेको भोलिपल्ट कात्तिक ६ गते आइतबार बकैया गाउँपालिका–२ दोभानचौरकी ४६ वर्षीय नरमाया थिङ र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ प्रगति टाेलका ३९ वर्षीय भीमसेन आलेमगरले आत्महत्या गरे। थिङले तरकारीमा छर्न ल्याएको विषादी सेवन र मगरले झुन्डिएर आत्महत्या गरेका थिए। 

यस्तै, कात्तिक ८ गते सोमबार कैलाश गाउँपालिका–७ का २१ वर्षीय आसमान चेपाङ, कात्तिक १० गते पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नम्बर ७ घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ हातिलेटस्थित मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २० वर्षका धीरज पटेल र ११ गते शुक्रबार हेटौँडा ४ सूर्यचोक बस्ने ४९ वर्षका शंकरबहादुर थिङले झुन्डिएर आत्महत्या गरेका छन्।

आत्महत्याका कारणहरूका बारेमा यसै भन्न सक्ने अवस्था नरहेको प्रहरी प्रवक्ता कार्कीले बताए। आर्थिक लेनदेन, पारिवारिक समस्या, पारिवारिक हिंसा, प्रेम सम्बन्धमा असमझदारी मुख्यतः शिक्षाको कमी आत्महत्याको कारण हुन सक्ने प्रवक्ता कार्कीको भनाइ छ। 

गत कात्तिक ५ गते शनिबार आत्महत्या गर्ने महिलाले आफूले सापटी दिएको पैसा ऋणीले दिन आनाकानी गरेपछि तनावमा आत्महत्या गरेको बताइएको छ। 

मृतकका छोराले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आमालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै स्थानीय २ जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भनी जाहेरीसमेत दिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए। यस्तै, अन्य आत्महत्याका घटनाको बारेमा भने अनुसन्धान चलिरहेको र  कारण यही नै हो भन्न सक्ने अवस्था नरहेको बताए।