मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस बागलुङ
२०७९ कार्तिक ९ बुधबार ०८:३३:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

'आधुनिकता'काे पेलाइमा सोरठी नाच, पिराेलिन्छन् अग्रज

Read Time : > 2 मिनेट
रासस, बागलुङ
२०७९ कार्तिक ९ बुधबार ०८:३३:००

बाग्लुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’। चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ। 

सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ। तिहार आउनु एकसाता पहिले नै गाउँमा बुढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ। आधुनिक गीत संगीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन्।

यो नाच समूहमा नाचिने गरिन्छ। नाच प्रस्तुत गर्दा एकजना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्छ। समूहमा रहेका केही बुढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरूसँगै गाउने र नाच्ने गर्छन्। एक दशक अगाडिसम्म बाग्लुङ पश्चिमका ग्रामीण भेग तिहारको वेला निकै रमाइलो हुने गर्थ्याे। जताततै सोरठी नाच्ने र गाउनेहरू भेटिन्थे। अहिले यो नाच देख्नसमेत मुस्किल पर्छ।

बडिगाडका ७७ वर्षीय रत्नबहादुर बुढा आफ्नो जवानीमा सोरठी नाचेर थाक्दैनथे। आफ्नो हात खुट्टा चल्न थालेपछि उनले नाच्न छोडे। नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा उनी चिन्तित छन्।  

उनले चिन्ता व्यक्त गर्दै भने, ‘हराउँछ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउन मैले धेरै खाजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरू गीतमा नाच्छन् सोरठीमा नाच्दैनन्।’

नाच लोप हुने डरले उनी पिरोलिन्छन्। बाउ, बाजे र काकाबाट नाच्न सिकेका उनले आफ्नो छोरा, भतिज र नातिले सिक्न नचाहँदा नाच संकटमा परेको बताए। 

‘हामीपछिका भाइहरूले त अहिले पनि नाच्दै छन्, अब उनीहरूले पनि दुई÷चार वर्षपछि नाच्न सक्दैनन्, उतिवेला बाउ, बाजे र काकाले हाम्लाई सिकाए, हामीहरूले भाइहरूलाई सिकाइयो, तर अहिलेका जवानले चासो दिँदैनन्, हराउने भयो अब यो नाच,’ बुढाले भने। 

पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको तमाखोला– ३ का ६७ वर्षीय भक्तबहादुर पुनले बताए। 

पुनले आफूले १०-१२ वर्षको उमेरदेखि नै सोरठी नाच सिकेर नाच्दै आएको बताउँदै अहिलेका युवाले यसतर्फ चासो नदेखाउँदा हराउँदै गएको बताए। उनले नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने गरेको गुनासो गरे। 

‘जमाना फेरिए। अहिलेका युवाले पुराना कला संस्कृति सिक्नै चाहन्नथे –के गीत सुन्छन्, गाउँछन्, तर पुराना गीत संगीत त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्न,’ उनले भने, ‘हामी मरेपछि पुराना संस्कृति पनि मर्छन् होला, यस्ता राम्रा संस्कृति हराउँदै गए, निकै दुःख लाग्छ, अहिलेका युवाले सिके त पुर्खौंसम्म पनि जीवित रहने थिए।’

मौलिक संस्कृतिमध्येको विशिष्ट संस्कृति भएको भन्दै यसको संरक्षण गर्नका लागि युवापुस्ता नै जागरुक हुनुपर्ने पुनले बताए। 

आधुनिकतासँगै पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिन नसके यस्ता संस्कृति युगौँसम्म संरक्षण गर्न नसकिने उनले बताए। पुनले भने, ‘मौलिक संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अँगाल्नु गलत हो, संस्कृतिले हाम्रो पहिचान बनेको छ, आधुनिक संस्कारसँगै पुराना संस्कार संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्छ।’

निसीखोला गाउँपालिका–६ का ७० वर्षीय पृथबहादुर घर्तीमगर पुस्ता हस्नान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको बताए। केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीत गाइने, पुराना नाच नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाच सुन्न र देख्नसमेत नपाइनेमा उनले चिन्ता व्यक्त गरे। 

‘अहिले बुढो भएर पनि यो नाच्न गाउन निकै मन लाग्छ, परानले भेट्दैन, हात खुट्टाले पनि धोका दियो, बैँसमा मेला पर्व सुरु भयो भने सोरठी नाच्ने पुराना–पुराना गीतहरू गाउने गरिन्थ्यो, अहिले त्यस्ता गीत र नाचहरू कतै देख्न पनि पाइन्न, सुन्न पनि पाइन्न, अहिले त सुन्दा रिस उठ्नेजस्ता गीतहरू गाउँछन्, आफन्तसँग बसेर हेर्नै नमिल्ने गरी नाच्छन्, यसले त हाम्रो संस्कृतिलाई फोहोर बनाएको छ,’ उनले भने। 

अहिले गाउँ सहरमा बुढापाकाले नाच्दै आएको सोरठी नाच खासै नदेखिने गलकोटका ३२ वर्षीय प्रेम काउचाले बताए। उनले आफ्नो पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिममा संस्कृतिलाई बढावा दिइरहेको कारण सोरठी हराउँदै गएको उनी स्वीकार गरे।   

‘हामी १५÷१६ वर्ष हुँदासम्म पनि गाउँमा सोरठी नाच्ने टिम धेरै हुन्थे, हामीहरूले पनि सिक्ने कोसिस गरेनौँ, त्यही भएर पनि अहिले यो लोप हुँदै गयो, अझै पनि पुराना बुढापाका अग्रजसँग सिक्ने अवसर छ, हामीहरूले सिक्यौँ भने नयाँलाई पनि सिकाउन सहज हुन्थ्यो,’ उनले भने, ‘मौलिक संस्कृतिलाई दैनिक भित्रिएका पश्चिमा कला संस्कृतिले विस्थापित गरिरहेको छ, नयाँ संस्कृतिलाई अँगाल्ने र पुरानालाई संरक्षण गर्न जरुरी छ।’

काउचाले पछिल्लो समय अध्ययन तथा रोजगारीका लागि बजार झर्ने र बजारमा आधुनिक किसिमका गीत संगीत सुन्ने र गाउने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको उनी बताउँछन्।