मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दसौँ राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गर्दैै प्रधानमन्त्री शेरबहादुर देउवा (बायाँ)
रमेश सुवेदी काठमाडाैं
२०७९ कार्तिक ४ शुक्रबार ०७:२९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कर्णालीमा भेट्ने वाचा गरेर सकियो नवौँ राष्ट्रिय खेलकुद

१७२ स्वर्ण, ११० रजत र ८९ कांस्यका साथ त्रिभुवन आर्मी क्लब लगातार तेस्रोपटक पदक तालिकाको शीर्ष स्थानमा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ कार्तिक ४ शुक्रबार ०७:२९:००

कर्णालीमा भेट्ने वाचा गरेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार पोखरा रंगशालामा भव्यका साथ सम्पन्न भएको छ । २८ असोजबाट सुरु भएको प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । प्रधानमन्त्री देउवाले एक कार्यक्रमबीच दसौँ राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झन्डा हस्तान्तरण गरेका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिताको दसौँ संस्करण २ देखि ९ मंसिर ०८१ सालमा कर्णालीमा हुनेछ । घरेलु खेलकुदमा कोभिड–१९ पछि आयोजना भएको यहीँ नै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हो । 

यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीमा २२ देखि २८ जेठ ०७९ सालसम्म हुने भनिएको थियो । तर, प्राविधिक कारण प्रतियोगिताको मिति सारियो । एक सातासम्म चलेको प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपिएफ र एक गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीले प्रतिस्पर्धा गरेका थिए ।  

 चार सय चार स्वर्ण
प्रतियोगितामा सहभागी कुल ३६ खेलका तीन सय ९६ विधामा पुरुष तीन हजार चार सय १४ र महिला दुई हजार सात सय १३ गरी कुल ६ हजार एक सय २७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समावेश गरिएका ३६ खेल गण्डकीका आठ जिल्लामा भएको थियो । नवौँ राष्ट्रिय खेलकुदमा चार सय चार स्वर्ण र उति नै रजत पदक समावेश थिए । खेलाडीले पाँच सय १२ कांस्यका लागि भिडेका थिए । एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य पदकसहित कुल तीन सय ९१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी टिम च्याम्पियन बन्न सफल भएको छ ।

२८ असोजमा एक भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगितामा दुखद दुर्घटना भयो । पाराग्लाइडिङका खेलाडी निसिम थापा खेलकै क्रममा निधन भए । समापन समारोहबीच थापाको चिरशान्तिको कामा गर्दै एक मिनेट मौनधारण गरिएको थियो । समापनका अवसरमा विविध सांस्कृतीका कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजीसमेत गरिएको थियो ।

यस्तै, नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट काठमाडौंमा भयो । यसबाहेक अन्य सबै खेल गण्डकी प्रदेशमै भएको थियो । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई आठ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । व्यक्तिगत स्पर्धामा भने बागमती प्रदेशकी शिक्षा नापितले फेन्सिङतर्फको स्पर्धामा पहिलो स्वर्ण जितेकी थिइन् ।

 सहभागि खेलाडीमध्ये कान्छो खेलाडीको रुपमा रितिका बुमी रहिन् । सात वर्ष २२ दिनकी बुमी पौडी खेलाडी हुन । उनले सुदूरपश्चिमबाट सहभागी भएक्ी थिईन ।  यसै गरि जेठो खेलाडीका रुपमा धनबहादुर घले रहे । प्रदेश १ बाट स्क्वास खेलमा भाग लिएका घले ६१ वर्ष ४ महिनाका हुन ।

 पौडी र बक्सिङमा दर्शकको ओइरो 
पोखरेली समर्थकहरूले विभिन्न खेलमा निकै उत्साहका साथ सहभागिता जनाएका थिए । भलिबल र फुटबलमा भव्य उपस्थित रहने समर्थकको यसपटक पौडी, बक्सिङमा समेत उल्लेख्य सहभागिता रह्यो । प्रतियोगितामा थुप्रै राष्ट्रिय कीर्तिमान बने । विशेषः एथलेटिक्स, भारोत्तोलन, पौडीमा धेरै कीर्तिमान बने । पौडीकी डुवाना लामाले सर्वाधिक नौ स्वर्ण पदक जित्न सफल भइन् । यस्तै, एथलेटिक्सकी जयरानी थारूले पाँच इभेन्टमा पाँचमै स्वर्ण पदक जितिन् । भारोत्तोलनकी तारादेवी पुनले चौथो राष्ट्रिय खेलकुदबाट नवौँसम्म स्वर्ण पदक जित्ने कीर्तिमान बनाइन् ।

 १३औँ सागकै संरचनामा खेल
यसपटक राष्ट्रिय खेलकुदमा नयाँ कुनै संरचना निर्माण भएनन् । सन् २०१९ मा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा बनेका संरचनामै प्रतियोगिता गरियो । राखेपले सुरुमा गण्डकी प्रदेशको ११ वटै जिल्लामा खेल खेलाउने भनेको थियो । तर, आठ जिल्लामा मात्रै प्रतियोगिता भए । उद्घाटन २८ असोजमा भए पनि केही खेल त्यसअघि नै सुरु भएका थिए ।

पूर्वाधार नहुँदा सुटिङ खेल ललितपुरमा भयो । सुरुमा वर्षा हुँदा पुरुष क्रिकेट पूर्ण रूपमा प्रभावित भयो भने खेल पूर्वाधार अद्यावधिक गर्न पनि समस्या भयो । खेलाडीले समयमै पोसाक पाएनन् । पोसाक पाएका खेलाडीको साइज नमिल्दा उनीहरूले लगाउन सकेनन् । जर्सीको रङ जुध्दा राष्ट्रिय खेलकुदमा बिब्सको प्रयोग बाध्यकारी बन्यो । फुटबलमा फिफाको नियमअनुसारका आधारभूत कुरा पनि पालना गरिएनन् । कम्तीमा ४८ घन्टाको अन्तरमा दुई खेल हुनुपर्नेमा दिनदिनै खेल गराइयो । पोखरा रंगशालामा फुटबल टोलीका लागि व्यवस्थित बेन्चको व्यवस्था थिएन । स्याङ्जाको वालिङमा खाल्डो भएको मैदानमा खेल्नुपरेको महिला फुटबलरहरूको गुनासो थियो ।