Skip This
उपेन्द्रको दाबी- जसपाले मात्रै मधेसी जनतालाई शोषणबाट मुक्त गर्न सक्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजबिराज
२o७९ कार्तिक ३ बिहीबार २o:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपेन्द्रको दाबी- जसपाले मात्रै मधेसी जनतालाई शोषणबाट मुक्त गर्न सक्छ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजबिराज
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार २o:२१:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई जसपाले मात्रै मुक्ति दिलाउन सक्ने दाबी गरेका छन्। सप्तरीको महादेबा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
 
शोषित, उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरू अझै संघर्षरत रहेको बताउँदै यादवले भने, ‘कांग्रेसलगायतका ठूला भनाउँदा पार्टीहरूले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएका छन्, शोषण, दमन एवं अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको हो।’

पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफूहरू पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै यादवले शोषण, दमन एवं विभेदमा पारिएको समुदायका लागि अझै संघर्षरत रहेको चर्चा गरे। 

अबको वैकल्पिक शक्तिको रूपमा जसपा नेपाल मात्र रहेकाले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उनले विश्वास व्यक्त गरे। 

विकाससम्बन्धी मानवीय सूचकांकअनुसार पछाडि परेका जिल्लामा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको बताए। यादवले भने, ‘सप्तरी मेरो जन्मभूमि हो, यहीँको माटोमा जन्मेँ, हुर्केँ र विद्यालय शिक्षा पनि यहीँ प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएँ।’

आफूले सप्तरीमा नर्सिङ कलेज, इन्जिनियरिङ कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माणलगायतका कामहरू गरेको दाबी गरे। 

उनले भने, ‘मैले र मेरो पहलमा भएका कामहरू छर्लंग छन्, जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ? सचेत जनता भ्रमको खेती गर्नेहरूमाथि विश्वास गर्दैनन्।’