१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३ बिहीबार o६:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कमेडियन अपूर्वविरुद्ध प्रहरीले चलायो चार मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार o६:५३:oo

नेवाः संस्कृतिमाथि मजाक गरेको आरोपमा ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहविरुद्ध प्रहरीले चार मुद्दा चलाएको छ । एक सय चार नेवाः अभियन्ताले उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका थिए । 

सर्लाही हरिवनका अपूर्वविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १६० अन्तर्गत भेदभावप्ूर्ण व्यवहार गर्न नहुने, दफा ६५ अन्तर्गत सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ अनुसार अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दर्ता गराएको हो । अभियोगपत्रमा प्रहरीले उनीविरुद्ध पाँच वर्ष कैद सजायको माग–दाबी गरेको छ । 

कमेडियन अपूर्वले गत १० भदौमा एउटा ‘स्ट्यान्ड अप कमेडी’ भिडियो युट्युबमा अपलोड गरेका थिए । उक्त भिडियोमा नेवाः संस्कृतिमाथि मजाक उडाइएको भन्दै आलोचना भयो । नेवाः अभियन्ताहरूले उनीविरुद्ध जाहेरी दिए । १२ भदौमा अपूर्व पक्राउ परे ।

आफ्नो कमेडीमाथि आलोचनासँगै आफूविरुद्ध जाहेरी पनि परेपछि अपूर्वले उक्त भिडियो युट्युबबाट हटाएर नेवाः अभियन्ताहरूसँग माफी मागे । तर, प्रहरीले उनलाई हिरासतमा लियो । हिरासत बसेको ११ दिनपछि उनमा कोभिड संक्रमण देखियो । त्यसपछि मात्रै प्रहरीले तारेखमा छाडिदियो । तर, जब मुद्दा बुझाउन प्रहरीले उनलाई सोमबार सरकारी वकिल कार्यालय बोलायो, त्यहीँ पक्राउ गर्‍यो र पुनः हिरासतमा राखेको छ । 

‘अपूर्वविरुद्ध फरक–फरक शीर्षकमा चार मुद्दा दर्ता भएका छन् । हामीले सोही आधारमा अभियोगपत्र बनाउँदै छौँ । सम्भवतः बिहीबार मुद्दा अदालतमा पेस हुनेछ । र, त्यसपछि थुनछेकको बहस होला,’ सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । 

अपूर्वको मुद्दालाई नजिकबाट नियालेको अधिवक्ता करुणाकर मल्लिक प्रतिशोध साँध्न प्रहरी यो हदसम्म उत्रिएको दाबी गर्छन् । ‘अपूर्व एक कलाकार हुन् । कमेडी गर्ने क्रममा उनको ‘टङ स्लिप’ भयो होला । उनले गल्ती महसुस गर्दै माफी मागिसके । तैपनि उनीविरुद्ध चार मुद्दा दर्ता गरेर प्रतिशोध साँधेको देखिन्छ,’ उनको आरोप छ ।