युरोपको घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोस’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोस ब्रान्ड सार्वजनिक गरेको हो ।
कम्पनीले अबको दुई वर्षभित्र बोस ब्रान्डका घरेलु उपकरणलाई बजारमा विस्तार गर्ने योजना राखेको जनाएको छ । काठमाडौंको कमलादीमा रहेको आइटी प्लाजामा बोसको अत्याधुनिक स्टोरको स्थापनासमेत गरेको कम्पनीले जनाएको छ । स्टोरमा बोसका उच्च गुणस्तरीय रेफ्रिजेरेटर (फ्रिज), वासिङ मेसिन, डिसवासर, मिक्सर ग्राइन्डर र थप उपकरण प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । यी सबै जर्मन प्रविधिमा आधारित उपकरण रहेको कम्पनीको दाबी छ ।
गतिशील बजार र सचेत ग्राहक बढ्दै गएको अवस्थामा त्यस्ता ग्राहकले घरेलु उपकरणहरू खरिद गर्न सम्झौता नगर्ने हुनाले बोसले नेपाली बजारमा प्रवेश गरेलगत्तै उनीहरूले गुणस्तरीय सामग्री पाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । उत्पादन सार्वजनिक गर्दै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत नीरज बहलले आफूहरू नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित भएको बताए । उनले भने, ‘सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिका लागि यो एक महत्वपूर्ण कदमसमेत साबित भएको छ ।’ बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुुपसँग सहकार्य गर्न पाएका कारण निकै बलियो महसुस गरेको उनको भनाइ थियो ।
प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार दु्रत रूपमा बढिरहेको छ । यस्तोमा जर्मन विरासतमा आधारित बोस ब्रान्डका उपकरणले राम्रो बजार प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरे । यसका हरेक उपकरणहरू उपभोक्ताकेन्द्रित हुनाले विश्व बजारले समेत बोस ब्रान्ड निकै रुचाएको उनले बताए ।
कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले नेपाली उपभोक्ताका लागि गुणस्तरीय घरेलु उपकरण भित्र्याउन बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैँ अग्रपंक्तिमा रहेको छ ।’ बोस ब्रान्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको भन्दै सबै उपकरण उपभोक्ताकेन्द्रित रहेकोमा उनले जोड दिए ।
बिएसएच होम अप्लायन्सेस कम्पनीले सन् २०२१ मा मात्रै १५ अर्ब ६० करोड युरोको कारोबार गरेको कम्पनीको दाबी छ । तथ्यांकअनुसार सो वर्ष कम्पनीमा कुल ६२ हजार कर्मचारी कार्यरत रहेको जनाइएको छ । कम्पनीको पोर्टफोलियोमा बोस, सिमेन्स, नेफ, ग्यागेनौलगायत गरी ११ वटा ब्रान्ड रहेको कम्पनीले जनाएको छ । बिएसएचले आफ्ना ४० वटा विभिन्न स्थानमा रहेका कारखानाबाट सामग्री उत्पादन गर्दै आएको जनाइएको छ । कम्पनीको उत्पादन ५० भन्दा बढी राष्ट्रमा बिक्री हुँदै आएको दाबी गरिएको छ ।