१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक १ मंगलबार ०८:१९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

घनश्याम–छविलाल आमने–सामने हुँदा रुपन्देही १ मा रोचक प्रतिस्पर्धा

Read Time : > 3 मिनेट
२०७९ कार्तिक १ मंगलबार ०८:१९:००

अघिल्लो चुनावमा फरक क्षेत्रबाट दुवैले जिते पनि यसपटक एकजना संसद् बाहिर रहने

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्तासँगै रुपन्देही १ चुनावी बहस र चर्चाको केन्द्र बनेको छ । बौद्धिक नेता तथा पूर्वउपमहासचिव घनश्याम भुसाल एमाले छाडेर स्वतन्त्र उम्मेदवारको रूपमा र एमालेकै सचिव छविलाल विश्वकर्मा आमने–सामने छन् । अघिल्लो प्रतिनिधिसभामा भुसालले एमालेको तर्फबाट ३ र विश्वकर्माले १ मा चुनाव जितेका थिए । भुसाललाई सत्तागठबन्धन र विश्वकर्मालाई जसपा र राप्रपाको साथ छ । 

विगतका चुनावको मतको हिसाब गर्दा एउटा विश्लेषण गर्न सकिने आधार भए पनि भुसाल पार्टी नै छाडेर चुनावी मैदानमा उत्रिएको र एमाले विभाजन भएकाले नतिजा आकलनसमेत कठिन बनेको विश्लेषक बताउँछन् । उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म एमालेमा रहेका भुसालले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै पार्टी नै छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

उनको उम्मेदवारी स्वतन्त्र भए पनि उनलाई सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको साथ छ । एमाले सचिवसमेत रहेका विश्वकर्माले अघिल्लो प्रतिनिधिसभा चुनावमा कांग्रेस नेतालाई हराएका थिए । विश्वकर्मालाई साथ दिएको राप्रपाको यस क्षेत्रमा सम्मानजनक मत छ । 

भुसाल अघिल्लो चुनावमा रुपन्देही ३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई पाँच हजारभन्दा पनि बढी मतान्तरले हराउँदै विजयी भएका थिए । त्यस्तै, विश्वकर्मा कांग्रेस नेता अब्दुल रज्जाकलाई सात हजारभन्दा पनि बढी मतान्तरले पराजित गर्दै विजयी भएका थिए । अघिल्लो निर्वाचनमा फरक–फरक क्षेत्रबाट विजयी भएका भुसाल र विश्वकर्मामध्ये एकजना यसपटक पराजित हुने निश्चित छ । 

०७४ सालको प्रतिनिधिसभा र ०७९ को स्थानीय तहको चुनावमा पार्टी र तालमेल गरेका दलले प्राप्त गरेको मत जोड्दा एमालेका उम्मेदवारको मत धेरै बढी छ । तर, त्यतिवेला एमालेमै रहेका प्रभावशाली नेता भुसालले एमाले छाडेका छन् । यसले विगतको मतको अंकगणितमा फरक पार्न सक्छ । त्यतिवेलाका दलहरूमा समेत विभाजन भएकाले अंकगणित फरक बनेको छ । 

केही दिनअघि पार्टी छाडेका एमालेका तत्कालीन प्रदेश कमिटीका सदस्य शैलेन्द्र उपाध्याय विगतको चुनावी अंकगणित अहिले सही नहुने बताउँछन् । वितृष्णा, असन्तुष्टिका कारण एमाले छाड्ने पछिल्ला दिनमा बढ्दै गएको उनको दाबी छ । उपाध्यायले भने, ‘बौद्धिक र विकासप्रेमी तथा मतदाता माझ चिरपरिचित नेताका रूपमा घनश्याम रहेका कारण उहाँका पक्षमा माहोल राम्रो बन्दै गएको र जित निश्चित छ ।’ 

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य नीलकण्ठ पौडेलले अहिलेको अवस्था फरक रहेको र एमाले अहिले लथालिंग भइसकेकाले भुसालको पक्षमा माहोल राम्रो रहेको र जित निश्चित रहेको दाबी गरे । 

गत स्थानीय चुनावमा वडाध्यक्षमा दलहरूका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा सत्तागठबन्धनभन्दा एमालेका उम्मेदवारलाई समर्थन गरेका पार्टीको मत बढी देखिन्छ । विगतमा यसै क्षेत्रबाट निर्वाचित भएको र यस क्षेत्रमा विश्वकर्माको योगदान रहेकाले उनको पक्षमा चुनावी माहोल बनेको विश्लेषण एमालेका स्थानीय नेता–कार्यकर्ताको छ । उनको निर्वाचन क्षेत्रका चुनावी कमान्डरसमेत रहेका एमालेका नेता डा. कृष्ण न्यौपानेले एमालेका उम्मेदवारको पक्षमा १३ हजारभन्दा पनि बढी मत रहेकाले चुनाव जित्ने दाबी गरे । उनले भने, ‘दलहरूबीच तालमेल छ, गत स्थानीय निर्वाचनमा राप्रपा, जसपा, एमालेका वडाध्यक्षहरूले यस क्षेत्रमा प्राप्त गरेको मत १३ हजारभन्दा पनि बढी छ, हामी चुनाव जित्छौँ ।’

स्थानीय बासिन्दाको साथ मलाई छ : घनश्याम भुसाल, स्वतन्त्र उम्मेदवार, रुपन्देही १
मैले व्यक्तिगत रूपमा पनि यस क्षेत्रका लागि धेरै काम गरेको छु । एमाले पार्टी निर्माणका लागि मैले धेरै दुःखकष्ट सहेर काम गरेको हो । त्यसैले पनि एमाले निर्माणमा योगदान गरेका कार्यकर्ताको साथ मलाई छ । यस क्षेत्रका बासिन्दाले मलाई राम्रोसँग जान्दछन्, बुझ्छन् । मैले खेलेको भूमिकासँग चिरपरिचित भएकाले यहाँका बासिन्दाको साथ मलाई छ । गठबन्धनको पनि समर्थन छ । यी मेरा चुनाव जित्ने आधार हुन् । स्थानीय निर्वाचनको आँकडा मेरो सन्दर्भमा काम लाग्दैन । स्थानीय तहको निर्वाचनको आँकडा उम्मेदवारको उपस्थितिले फरक पार्छ । म उम्मेदवार भएसँगै यो आँकडा भत्किएको छ । विगतमा एमाले निर्माणमा दुःखकष्ट सहेको इमानदार पंक्ति मलाई सहयोग गर्न लागिपरेको छ । यसले जितको आधार निर्माण गरेको छ । यस क्षेत्रकोे विकासका लागि रोजगारी, शिक्षा, स्वास्थ्य, युवा, महिलाका क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने एजेन्डा अगाडि सारेका छौँ । 

भुसाललाई वाम गठबन्धनको साथ छ : हिरा केसी, वाम–लोकतान्त्रिक गठबन्धन चुनावी कमान्डर
रुपन्देही १ बाट कांंग्रेस नेता अब्दुल रज्जाक उम्मेदवार बन्ने गरी कांग्रेसले सिफारिस गरेको थियो । गठबन्धनका पार्टीले क्षेत्र बाँडफाँड गर्दा माओवादीको कोटामा परेको थियो । कांग्रेस नेता रज्जाक प्रदेशमा उम्मेदवार हुनुहुन्छ । उम्मेदवारी दर्ताको दिन वैचारिक, सालिन र यस क्षेत्रका बासिन्दाले रुचाएका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिनुभयो । गठबन्धनको तर्फबाट उहाँ चुनावी मैदानमा हुनुहुन्छ । गठबन्धन उहाँलाई जिताउन लागेको छ, जिताएरै छाड्छ । 

आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार
रुपन्देही १ मा प्रतिनिधिसभातर्फ २१ उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये १२ स्वतन्त्र उम्मेदवार रहेका छन् । चर्चामा रहेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । अन्य स्वतन्त्र उम्मेदवारले पुतलीदेखि सूर्यमुखी फूलसम्मका चुनाव चिह्न पाएका छन् । पार्टीहरूमा नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल, मंगोल नेसनल अर्गनाइजेसनसहितका पार्टीका र स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

जनताको सेवकका रूपमा उभिएकाले जित्नेमा ढुक्क छु : छविलाल विश्वकर्मा, एमाले उम्मेदवार रुपन्देही १ 
स्थानीय तहको निर्वाचनमा मेरो क्षेत्रमा पर्ने देवदह नगरपालिकादेखि अन्य पालिका तथा वडाहरूमा हाम्रो पक्षमा मत जाहेर भएको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट विजयी भएपछि मैले विभिन्न विकास निर्माणका योजनामा इमानका साथ काम गरेको विषयमा मतदाता जानकार हुनुहुन्छ । त्यस अर्थमा विगतमा थालेका विकासका योजना पूरा गर्न मेरो उम्मेदवारी हो । विगतका काम, गत स्थानीय तहको मतपरिणाम र जनताको सेवकका रूपमा उभिँदै आएकाले यसपटक ढुक्कका साथ चुनाव जित्छौँ । हिजोका सहकर्मीसँग अहिलेको चुनावी प्रतिस्पर्धा छ । यसमा मेरो व्यक्तिगत टीका–टिप्पणी केही छैन । यस क्षेत्रमा एमाले एकताबद्ध भएर अगाडि बढेको छ । अर्कोतर्फ चुनावी तालमेलमा रहेका दलहरू पनि एक ढिक्का भएर अगाडि बढेको अवस्था छ । ०७४ मा जनताले अभिमत दिएपछि यस क्षेत्रको विकास निर्माणको आधारशिला कोरेको छु ।