मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Tuesday, 17 December, 2024
स्वयम्भूमा हालै निर्माण भएको स्मार्ट शौचालय । तस्बिर : नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o७९ असोज ३१ सोमबार o७:४२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अपांगमैत्री छैनन् राजधानीकै सार्वजनिक शौचालय

ह्विलचियर प्रयोगकर्ता भन्छन्– शौचालय भेट्टाउनै गाह्रो छ, भेटिहाले पनि ह्विलचियर जाँदैन

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार o७:४२:oo

देशको केन्द्रीय राजधानी काठमाडौंमा एकदमै कम स्थानमा सार्वजनिक शौचालय छन् । अझ त्यसमाथि पनि अपांगमैत्री शौचालय भेट्न त निकै मुस्किल हुन्छ । यही कारण घरभन्दा बाहिर निस्किनुपरे निकै पिरोलिन्छन्, ह्विलचियर प्रयोगकर्ता दीपक केसी । ‘शौचालयकै कारण घरबाहिर निस्किनै नपरे हुन्थ्योजस्तो लाग्छ । घरबाहिर निस्किनुपर्नासाथ शौचालयको समस्यालाई सम्झन्छु,’ केसीले भने, ‘काठमाडौंमा सार्वजनिक शौचालय भेट्नै मुस्किल छ । भेटिए पनि अपांगमैत्री छैनन् । त्यसैले घर नपुन्जेलसम्म दिसापिसाब लागे रोक्नेबाहेक अन्य उपाय छैन ।’

उनलाई मात्र होइन, अर्का ह्विलचियर प्रयोगकर्ता सन्देश रम्तेल पनि घरबाहिर निस्किनुपर्दा सबैभन्दा पहिला सम्झिने भनेकै शौचालय हो भन्छन् । कतिपय ठाउँमा ह्विलचियर जाने बाटो भए पनि शौचालयभित्र ह्विलचियर नछिर्दा दिसापिसाब आए निकै कष्ट हुने बताउँछन् । ‘हामीले पनि प्रयोग गर्न मिल्ने शौचालय भेट्टाउनै गाह्रो छ । भेटिहाले पनि ह्विलचियर जाँदैन,’ उनले भने ।

उनी अपांगता भएका व्यक्तिहरूको शौचालय प्रयोग गर्ने क्षमता सामान्य मानिसको जस्तो नहुने बताउँछन । यसकारण अपांगमैत्री शौचालय बनाउन र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्ने बताउँछन् । सार्वजनिक शौचालय भन्नेबित्तिकै सामान्य मान्छेका लागि मात्र सोच्ने प्रवृतिका कारण दुःख पाउनुपरेको केसीको भनाइ छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै भए । सामान्य व्यक्तिका लागि नै सार्वजनिक शौचालय भेट्टाउन मुस्किल हुने उपत्यकामा अपांगता भएका व्यक्तिलाई कति कष्ट हुँदो हो, कल्पना गर्दा मात्रै पनि जिउ सिरिंग हुन्छ । 

 चार स्थानमा मात्रै अपांगमैत्री शौचालय 
एरोसन ट्वाइलेट हबले काठमाडौंमा बनाएको चारवटा शौचालय भने अपांगमैत्री छन् । यी शौचालयमा स्वचालित बत्ती, हात सुकाउने मेसिन, स्यानिटरी प्याडको उपलब्धता, प्याड डिस्पोज गर्ने मेसिन, झोला वा सामान राख्ने स्थान, बच्चाको डाइपर फेर्ने स्थान, बच्चालाई दूध चुसाउने स्थान, सेन्सरका आधारमा आफैँ फ्लस हुने व्यवस्था छ ।

शौचालय अपांगमैत्री, वातावरणमैत्री, लैंगिकमैत्री पनि छ । काठमाडौंको स्वयम्भू, नयाँ बानेश्वर, वडा २० को परोपकार र त्रिपुरेश्वरमध्ये टंकेश्वरको निर्माणको चरणमा छ । ललितपुरको मंगलबजार र पाटनढोकामा समेत स्मार्ट शौचालय प्रयोगमा छ । हबअनुसार यस्तो शौचालय ५० वटा बनाउने लक्ष्य राखिएको छ । यी शौचालयबाहेक अन्य ठाउँमा अन्य संघ–संस्थाले बनाएको अपांगमैत्री शौचालय नभएको अपांग महासंघले जनाएको छ ।

 काठमाडौंमा जम्मा एक सय ५० सार्वजनिक शौचालय 
काठमाडौं महानगरमा जम्मा एक सय ५० वटा सार्वजनिक शौचालय छन् । गुठी र वाटर एड नामक संस्थाले गरेको अध्ययनअनुसार काठमाडौंमा एक सय ५० वटा सार्वजनिक शौचालय फेला परेका छन् । जसमध्ये सार्वजनिक शौचालयको ३५, मन्दिरमा रहेका २२, सरकारी कार्यालयका पाँच, पार्कमा सात, पेट्रोलपम्पमा ५५, व्यापारिक मलमा १७ र अस्पतालका नौवटा छन् । यीबाहेक काठमाडौं महानगरपालिकाले सार्वजनिक रूपमा आह्वान गरेर महानगर क्षेत्रभित्रका होटेल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघ–संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक–निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरेको थियो । सोअनुसार ३७ संघ–संस्थाले निःशुल्क रूपमा शौचालय प्रयोगका लागि दिएका छन् । यी शौचालय पनि अपांगमैत्री भने नरहेको अपांग महासंघले बताएको छ ।

 ललितपुरमा ५५ वटा सार्वजनिक शौचालय
ललितपुर महानगरमा सार्वजनिक शौचालय १०, मन्दिरमा पाँच, सरकारी कार्यालयका आठ, पार्कमा दुई, पेट्रोलपम्पमा १८, व्यापारिक मलका पाँच, अस्पतालमा सात गरी कुल ५५ वटा शौचालय छन् । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डअनुसार जनसंख्याको चापअनुसार भिडभाड रहने सहरी क्षेत्रमा प्रत्येक तीन सय मिटरको दूरीमा शौचालय हुनुपर्छ । काठमाडौं महानगरभित्र धेरैजसो स्थानमा ५० मिटरको दूरीमै सार्वजनिक शौचालय छन् । तर निःशुल्क शौचालयमा सरसफाइ अभाव, अपांगमैत्री र महिलामैत्री नहँुदा प्रयोग गर्नै समस्या हुन्छ । 

 पिसाब रोक्दा अपांगता भएकाहरूमा मिर्गौलामा समस्या
काठमाडौं उपत्यकामा अपांगमैत्री शौचालय नहुँदा आफूहरूले सधैँ समस्या भोग्ने गरेको अपांग महासंघका बोर्ड सदस्य देवकला पराजुलीले बताइन् । उनी पनि ह्विचियर प्रयोगकर्ता हुन् । तर, घरभन्दा बाहिर निस्किनुपर्दा शौचालय प्रयोगमा सधैँ समस्या हुने गरेको उनले बताइन् । ‘घरबाहिर कतै जानुपर्ने भयो भने अघिल्लो दिनदेखि नै मन लागेजति खाना खान सक्दिनँ । बाहिर कतै जानुपर्छ भन्ने भयो भने खाना अड्कलेर खान्छु ।

पानी त खाँदै खान्न,’ पराजुलीले भनिन्, ‘पिसाब रोक्दा अपांगता भएकाहरू धेरैलाई मिर्गौलाको समस्या देखिएको छ ।’ उनले केही ठाउँमा अपागंमैत्री शौचालय बनाउन खोजिए पनि मापदण्डलाई ख्याल नराखिँदा झन् जोखिम भएको बताइन् । अपांगमैत्री शौचालय बनाउन धेरै खर्च नलाग्ने भएकाले यसमा नीति निर्माणकर्ताले नै ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ । सडकपेटीमा पानी किनेर खान पाइन्छ । तर, पिसाब फेर्ने ठाउँ पाइँदैन ।

‘केही ठाउँमा अपांगमैत्री शौचालय बनाउने प्रयास भएको देखिन्छ । अपांगमैत्री बनाउनका लागि र्‍याम्प मात्र हाले हुन्छ भन्ने छ । र्‍याम्पको पनि आफ्नै मापदण्ड छ । र्‍याम्प मात्र भयो र रेलिङ भएन भने लडिन्छ,’ उनले भनिन्, ‘अस्पताल, होटेलमा शौचालय भए पनि अपांगमैत्री हुँदैनन् । कतिपय ठाउँमा कृत्रिम खुट्टा, ह्विलचियर प्रयोगकर्तालाई स्टेप–स्टेप जाँदा गाह्रो हुन्छ । काठमाडौंका मेयर बालेन साहले शौचालयमा जोड दिनुभए पनि अपांगमैत्रीतर्फ ध्यान दिनुभएन । घुम्ती ट्वाइलेटको अवस्था पनि उस्तै छ । अपांगमैत्री बनाउन धेरै खर्च लाग्दैन । शौचालय दृष्टिविहीन, बहिरा, ह्विलचियर प्रयोगकर्ता पनि जान सक्ने भयो भने स्वास्थ्यमा सकारात्मक प्रभाव पथ्र्यो ।’

बाहिर जाने अघिल्लो दिनदेखि नै खाना, पानी कम खान्छु
देवकला पराजुली बोर्ड सदस्य, अपांग महासंघ

घरबाहिर कतै जानुपर्ने भयो भने अघिल्लो दिनदेखि नै मनलागेजति खाना खान सक्दिनँ । बाहिर कतै जानुपर्छ भन्ने भयो भने खाना अड्कलेर खान्छु । पानी त खाँदै खान्नँ । पिसाब रोक्दा अपांगता भएकाहरू धेरैलाई मिर्गौलाको समस्या देखिएको छ ।

घरबाहिर निस्कनै नपरे हुन्थ्योजस्तो लाग्छ
दीपक केसी, ह्विलचियर प्रयोगकर्ता

शौचालयकै कारण घरबाहिर निस्किनै नपरे हुन्थ्योजस्तो लाग्छ । काठमाडौंमा सार्वजनिक शौचालय भेट्नै मुस्किल छ । भेटिए पनि अपांगमैत्री छैनन् । त्यसैले घर नपुन्जेलसम्म दिसापिसाब रोक्नेबाहेक अन्य उपाय हुँदैन ।