१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Friday, 05 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
अजित अधिकारी काठमाडाैं
२o७९ असोज ३० आइतबार o९:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोइला अभावको बहानामा दुई सरकारी सिमेन्ट उद्योग बन्द

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार o९:२२:oo

उदयपुर सिमेन्टले गत आर्थिक वर्ष ०७८/७९ को नाफा–नोक्सान विवरण सार्वजनिक गर्न इन्कार गरेको छ भने हेटौँडा सिमेन्टले साढे २३ करोड नोक्सान व्यहोरेको छ

पूर्ण सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग दसैँअघिदेखि बन्द छन् । विश्व बजारमा बढेको कोइलाको भाउ अहिले सस्तिन थाले पनि दुवै उद्योग व्यवस्थापनले कोइलाको चरम अभाव भएको बहाना बनाउँदै उद्योग बन्द गरेका हुन् ।

१४ असोजदेखि बन्द भएको उदयपुर सिमेन्ट उद्योग खुलाउन व्यवस्थापनले चासो नदिएपछि मजदुर र कर्मचारीले शनिबार बिहान महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई लिखित ध्यानाकर्षण गराएका थिए । त्यसपछि शनिबार साँझ उदयपुर पुग्ने र आइतबारबाट उद्योग खोल्ने आश्वासन दिएका छन् । ‘म उदयपुर जाँदै छु, आइतबारबाट उद्योग चल्छ,’ उनले शनिबार साँझ टेलिफोनमा नयाँ पत्रिकासँग भने । उद्योगका उच्च तहमा कार्यरत कर्मचारीको साथ लिएर त्यहाँका चारवटै ट्रेड युनियनले संयुक्त ध्यानाकर्षण लेखेर दुई दिनभित्र उद्योगपरिसर आउन महाप्रबन्धक न्यौपानेलाई चेतावनी दिएका थिए । त्यसपछि उनी हतार–हतार उदयपुर पुगेका हुन् । महाप्रबन्धक न्यौपाने उद्योग बन्द गरेर दसैँअघिदेखि उदयपुर गएका छैनन् । 

महाप्रबन्धक न्यौपानेले कोइलाको न्यून मौज्दात भन्दा पनि दसैँका कारण उद्योग बन्द गरिएको प्रस्टीकरण दिएका छन् । ‘कोइला थोरै भएको पक्कै हो, तर दसैँमा बिदाका कारण उद्योग बन्द गरिएको हो,’ उनले भने । उद्योगमा कार्यरत कर्मचारीहरूका अनुसार उद्योग बन्द हुनु एक दिनअघि १३ असोजमा पाँच ट्रक कोइला आएको थियो । त्यसमा करिब एक सय ५० टन हुन्छ । ‘दैनिक कम्तीमा एक सय २५ टन कोइला खपत हुने उद्योगमा मौज्दात नै एक सय ५० टन भएपछि दसैँको मुखमा उद्योग बन्द गरियो,’ एक कर्मचारीले भने, ‘पहिले दसैँमा पालैपालो कर्मचारी खटेर उद्योग चल्थ्यो । दसैँमा काम गर्दा दोब्बर तलब आउने हुँदा कमाइ पनि राम्रो हुन्थ्यो । तर यसपटक बन्द गरियो ।’  

स्रोतका अनुसार कोइला आयातकर्तालाई भुक्तानी गर्नुपर्ने रकम नभएपछि उद्योग बन्द गरिएको हो । केही समयअघि २० हजार टन कोइला आपूर्तिका लागि सम्झौता भए पनि २६ करोड बक्यौता तिर्न नसक्दा कोइला आउन सकेको छैन । हेटौँडा सिमेन्ट उद्योगले पनि टेन्डरको कोइला दुईपटक अस्वीकृत गरेका कारण अहिले उद्योग बन्द भएको हो । हेटौँटा सिमेन्टका महाप्रबन्धक वसन्त पाण्डेले मापदण्डभन्दा कमसल कोइला अस्वीकृत गर्दा कोइला अभावले उद्योग बन्द गर्नुपरेको बताए । उनले नयाँ कोइलाको आपूर्ति सुरु भएकाले चाँडै उद्योग सञ्चालन हुने बताए ।

निजी क्षेत्रबाट सञ्चालित उद्योगहरूले भने कोइला अभाव खेपेका छैनन् । अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ केही बढे पनि मागअनुसार उपलब्ध रहेको र कोइला अभावमा निजी क्षेत्रका कुनै पनि सिमेन्ट बन्द नभएको जानकारी दिए ।

उदयपुर सिमेन्ट बारम्बार बन्द, क्षमताको आधा पनि चल्न छाड्यो
चार वर्षअघि नाफामा सञ्चालन भएको उदयपुर सिमेन्ट त्यसयता निरन्तर नोक्सानीमा छ । दैनिक आठ सय १० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग पछिल्लो समय आधा क्षमतामा पनि चल्न छाडेको छ । सिमेन्ट उद्योग ‘ब्रेक इभन’मा पुग्न कम्तीमा ४२ प्रतिशत क्षमतामा चल्नुपर्ने हुन्छ । ‘उद्योग चलेको दिन पनि दैनिक एक सय पाँच टनदेखि बढीमा पाँच सय २५ टनसम्म उत्पादन भएको रेकर्ड छ,’ उद्योगमा कार्यरत एक कर्मचारीले भने । उद्योग बन्द हुनुअघि पनि करिब एक साता उद्योग बन्द भएको थियो । त्यस्तै, असारमा ६ देखि १३ गतेसम्म आठ दिन मात्रै चलेको थियो । बाँकी समय उद्योग बन्द भएर ठूलो नोक्सानी व्यहोरेको एक कर्मचारीले बताए । उदयपुर सिमेन्ट एक दिन बन्द हुँदा करिब ७५ लाख नोक्सानी व्यहोर्नुपर्छ । जेठमा तीन दिन र वैशाखमा १४ दिन उद्योग बन्द थियो । उद्योगमा कार्यरत अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पालका अनुसार बन्द भएको उद्योग चलाउँदा प्रत्येकपटक १२–१३ लाख रुपैयाँ अतिरिक्त खर्च हुन्छ ।

‘बन्द भएको उद्योगको मेसिनलाई डिजेल खर्चेर तीन घन्टासम्म फायरिङ गर्नुपर्छ । अरू मेसिनरी पनि चलाउँदा प्रत्येकपटक १२–१३ लाख खर्च हुने गरेको छ,’ पालले भने । उद्योग स्रोतबाट प्राप्त तथ्यांकअनुसार पछिल्लो समय सबैभन्दा बढी क्षमतामा ११ जेठमा ६९.३७ प्रतिशत (पाँच सय ५५ टन) सिमेन्ट उत्पादन भएको थियो ।   हेटौँडा सिमेन्टको तुलनात्मक रूपमा बिक्री राम्रो भएका कारण दैनिक ६ सय टनसम्मको क्षमतामा सञ्चालित छ । यो उद्योगको दैनिक क्षमता सात सय ५० टन हो ।

उदयपुरले ४० करोड र हेटौँडाले सवा अर्ब रुपैयाँ माग्दै
निजी क्षेत्रका सिमेन्ट उद्योगीसँग प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्ने दुवै उद्योग आर्थिक रूपमा धराशायी बन्दै गएका छन् । उद्योग चलाउन उदयपुर सिमेन्टले ५६ करोड रुपैयाँ अनुदान वा ऋण सहायताका लागि सरकारलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले भने वाणिज्य बैंकहरूबाट ४० करोडसम्म ऋण लिनका लागि सैद्धान्तिक स्वीकृत दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

त्यस्तै, हेटौँडा सिमेन्टले एक अर्ब २५ करोड रुपैयाँ आर्थिक सहायता चाहिने माग राखेको छ । ‘मैले उद्योगमन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई भेटेर कुरा राखिसकेको छु । उहाँले विस्तृत व्यावसायिक कार्ययोजना ल्याउनु भन्नुभएको छ । अहिले त्यसमै लागेको छु,’ हेटौँडा सिमेन्टका महाप्रबन्धक वसन्त पाण्डेले भने । उनले सो पैसा आए उद्योगमा नयाँ मेसिनरी जडान गरी आधुनिक प्रविधिबाट सञ्चालन गरी प्रतिस्पर्धी क्षमता विस्तार गर्ने बताए ।

निजीभन्दा महँगो, तर सधैँ नोक्सानी
उदयपुर सिमेन्टले सात सय २३ रुपैयाँ प्रतिबोरामा डिलरहरूलाई बिक्री गर्छ । यसमा ढुवानी खर्च, नाफालगायत जोडेर काठमाडौंमा उदयपुरको गैँडा छाप सिमेन्टको मूल्य आठ सय ९० रुपैयाँ प्रतिबोरा तोकिएको छ । यो भनेको निजी क्षेत्रको तुलनामा करिब ५० रुपैयाँ प्रतिबोरा महँगो हो ।

त्यस्तै, हेटौँडाको शक्ति सिमेन्टको सात सय ४६ रुपैयाँ ९३ पैसा प्रतिबोरा डिलर मूल्य छ । यसमा काठमाडौंसम्मको ढुवानी खर्च एक सय २० रुपैयाँ र नाफालगायत जोड्दा मूल्य प्रतिबोरा करिब नौ सय ३० रुपैयाँ पुग्ने गरेको छ । यो भनेको निजी क्षेत्रको तुलनामा करिब सय रुपैयाँ प्रतिबोरा महँगो हो । प्रतिस्पर्धी बजारभन्दा महँगो दरमा सिमेन्ट बिक्री गरे पनि उद्योगहरू निरन्तर नोक्सानमा छन् । उदयपुर सिमेन्टले गत आर्थिक वर्ष ०७८/७९ को नाफा–नोक्सान विवरण सार्वजनिक गर्न इन्कार गरेको छ भने हेटौँडा सिमेन्टले गत आवमा साढे २३ करोड नोक्सान व्यहोरेको छ ।

ad
ad
ad
ad