Skip This
‘जंक फुड’को आदत घटाउने प्रयास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
क्याट मोर्गन/मार्क बिटम्यान
२o८१ असार २१ शुक्रबार o९:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘जंक फुड’को आदत घटाउने प्रयास

Read Time : > 2 मिनेट
क्याट मोर्गन/मार्क बिटम्यान
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o९:३१:oo

ल्याटिन अमेरिकाका केही देशले खाद्य लेबलिङलाई आवश्यक ठान्न र प्रोत्साहित गर्न थालेका छन् 

आजभोलि बाहिर खान जाँदा जंक (पत्रुखाना) बाहेकका विकल्प निकै कम भेट्टाइन्छ । तिनमा चिनी, नुन र केमिकलयुक्त प्रशोधित खाद्यवस्तु भरमार पाइन्छ । साथै, तपाईंले ‘लो फ्याट’ ‘ग्लुटेन–फ्री’, ‘केटो–फ्रेन्डली’ र ‘रेसायुक्त’जस्ता शब्दजालसहितका आक्रामक मार्केटिङको कुहिरो पनि सामना गर्नुपर्नेछ, जसले ती खाद्यपदार्थ सुआहार हो कि भन्ने भ्रम दिन्छ ।  खाने कुराको प्याकेजिङमा उल्लेखित पोषण–लेबल विश्लेषण गर्ने समय, धैर्य वा कौशल नभएका व्यक्तिका लागि भरपर्दाे मार्गदर्शन पाउन कठिन छ । यो सवालमा उपभोक्ताहरूलाई प्याकेटको अग्रभागमा एकै नजरमा पोषणसम्बन्धी महत्वपूर्ण जानकारी दिने प्रणाली सहयोगी हुन सक्छ । 

अत्यधिक चिनीयुक्त सोडा वा अन्नलाई प्रशोधन गरी तयार गरिने ब्रेकफास्ट अस्वस्थ्यकर भएको चेतावनी दिने संकेत वा लेबललाई उदाहरणका रूपमा लिन सकिन्छ । तथापि, यसप्रकारको लेबलमा अधिकांश ठूला खाद्य उत्पादक (म्यानुफ्याक्चरर्स) का रुचि हुन्न । तर, ल्याटिन अमेरिकाका केही देशले खाद्य लेबलिङलाई आवश्यक ठान्न र प्रोत्साहित गर्न थालेका छन् । केही प्रारम्भिक प्रमाणले यो तरिकाले मानिसहरूको खाने तौरतरिकामा सकारात्मक प्रभाव पार्न थालेको देखाएको पनि छ । 

चिली, मेक्सिको, ब्राजिल र अन्य दर्जनाैँ देशले खाद्य लेबलिङमा बदलाव गर्ने काम गरेका छन् । अनुसन्धानले यी कदमले मानिसलाई पोषणको गुणस्तर बुझ्न र उनीहरूको खरिद बानी सुधारमा सहयोग गर्न सक्ने देखाएको छ । चिलीले सन् २०१६ मा विद्यालयहरूमा पत्रुखाना (जंक फुड) र पत्रुपेयमा प्रतिबन्ध लगाउने, चेतावनीयुक्त–लेबलहरू लगाउनुपर्ने, अस्वस्थकर खाद्यवस्तुको विज्ञापनमा प्रतिबन्ध लगाउनेजस्ता अनेकौँ नियम ल्यायो । अनुसन्धाताले यसपछि चिनी र सोडियमजस्ता तत्व उच्च भएका पेयको खपतमा करिब २५ प्रतिशतले कमी आएको पाए । चेतावनी–लेबलले खाद्य आपूर्तिमा चिनी, सोडियम र स्याचुरेटेड फ्याटको कमी ल्याएको पनि पाए ।

उरुग्वेमा सन् २०२० मा प्रकाशित एक सर्वेक्षणले पोषणसम्बन्धी चेतावनीको प्रारम्भिक प्रभाव मूल्यांकन गर्दा चेतावनी–लेबल पढेका ५८ प्रतिशत सहभागीले सो उत्पादन खरिद गर्ने आफ्नो निर्णय परिवर्तन गरेको पायो । यसरी निर्णय परिवर्तन गर्नेमध्ये १७ प्रतिशतले कम हानिकारक सोही प्रकृतिको उत्पादन रोजेको र १८ प्रतिशतले चाहिँ त्यस खालको उत्पादन नकिन्ने निर्णय गरेको बताएका थिए । प्याकेटको अगाडि चेतावनी–लेबल राख्ने प्रबन्ध गरेका चिलीलगायत देश स्वास्थ्यलाई संवैधानिक अधिकारका रूपमा अभिलिखित गरेका देश हुन् । (मेक्सिकोको सर्वाेच्च अदालतले हालसालै स्वास्थ्य अधिकारकै हिस्साको रूपमा प्याकेजिङको अग्रभागमा लेबल लगाउनुपर्ने नियमलाई स्वीकार गरेको छ ।) 

कुनै समय अमेरिका जानकारीमूलक खाद्य लेबलिङका लागि विश्वमा अग्रणी थियो । सन् १९६० को दशकमा कंग्रेसले खाद्य कम्पनीले अन्तरराज्य कारोबार हुने आफ्ना सबै उत्पादनमा ‘सामग्री सूची’ उल्लेख गर्नुपर्ने कानुन पास गर्‍यो । त्यसको सात वर्षपछि प्रोटिन, कार्बाेहाइड्रेट, बोसो र सूक्ष्म पोषकको मात्रा र क्यालोरीलाई समेत उल्लेख गर्नुपर्ने गरी केही खाद्यवस्तुमा पोषण लेबलिङ विस्तार गरियो । प्याकेजिङमा पोषण तत्वहरूबारे भ्रामक दाबीहरू बढ्न थालेपछि ‘न्युट्रेसन लेबलिङ एन्ड एजुकेसन एक्ट’ले प्रतिक्रियास्वरूप सन् १९९० मा खाद्य कम्पनीलाई आफ्ना उत्पादनमा ‘मानवीकृत पोषण फ्याक्ट प्यानल’ राख्नुपर्ने बनायो । तर, कंग्रेसले यस उद्योगलाई सहुलियतको रूपमा केही ‘खाद्य लेबल’मा खाद्य तथा औषधि प्रशासन(एफडिए)बाट अनुमति लिएर रोगको जोखिम कम रहेका दाबी मुद्रण गर्न छुट दियो । ओट्सले ‘कोलेस्ट्रोल कम गर्ने’ वा ‘मुटुका लागि स्वस्थकर’ रहेको दाबीसहितको लेबल लगाउन पाउने भयो । अहिले करिब ६० प्रतिशत अमेरिकी आहार प्रशोधित खाद्यपदार्थबाट परिपूर्ति हुन्छ, जुन मधुमेह, हृदय रोग र क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्ध भएका खाद्यवस्तु हुन् । यसर्थ, सरकारले चेतावनी–लेबलहरू अद्यावधिक गर्ने यही समय हो ।

सन् २०२२ मा ह्वाइट हाउसले एफडिउलाई खाद्यवस्तुका प्याकेटमा पोषणबारे जानकारी प्रदर्शन गर्ने मानकीकृत प्रणालीबारे अनुसन्धान र प्रस्ताव गर्न सक्ने अख्तियारी दिएको थियो । एफडिएले लगत्तै एउटा सार्वजनिक सुनुवाइ आयोजना गर्‍यो र लक्षित समूहहरूको बैठक आयोजना गर्‍यो । उसको प्रस्ताव आउँदै छ । गत डिसेम्बरमा इलिनोइसका सांसद जान चाक्वस्की र कनेक्टिकटका सिनेटर रिचर्ड ब्लुमेन्थलले एफडिएलाई अस्वस्थकर खाद्य तथा पेयपदार्थका लागि चेतावनी–लेबल विकास गर्न दिने कानुन पेस गरेका छन् । खाद्यपदार्थ उत्पादक कम्पनीले नयाँ खाद्य लेबलविरुद्ध अदालतको ढोका ढकढक्याउन सक्छन् । अमेरिकी कानुनअन्तर्गत कर्पाेरसनलाई पनि विभिन्न सन्दर्भमा मानिसकै रूपमा हेरिन्छ र उनीहरूलाई पनि अभिव्यक्तिको स्वतन्त्रताको हक छ । 

खानाको स्वस्थकर लेबलबारे सुसूचित गर्न युरोेपेली संघका केही मुलुकले ‘न्युट्री–स्कोर’ भनिने प्रणाली उपयोग गर्छन्, जसले खाद्यवस्तुलाई ‘ए (अत्यन्त स्वस्थकर)’ देखी ‘इ (कम स्वस्थकर)’को स्केलमा स्तरीकरण गर्छ । नुन र चिल्लोका कारण फ्रान्समा बिक्री हुने चिप्सले ‘सी’ ग्रेड पाएको छ । अन्य थुप्रै मुलुकले चिनी, नुन, क्यालोरी र चिल्लोको लेबलबारे सूचित गर्न ट्राफिक लाइट सिस्टम अर्थात् उच्च (रातो), मध्यम (पहेंलो) र न्यूनतम (हरियो) रंगको लेबल प्रयोग गर्छन् । इक्वेडरमा बिक्री हुने न्युटे«लाको प्याकेटको धेरैजसो हिस्सा यस्तै लेबलले ढाकेको हुन्छ । चिलीलगायत मुलुकले चिनी, नुन, चिल्लो र क्यालोरीबारे सचेत गराउन ‘ब्ल्याक अक्टागोन (कालो रंगको अष्टकोण चिह्न)’ उपयोग गर्छन् । अनुसन्धाताहरू यो लेबलिङ ‘ट्राफिक लाइट’ र ‘न्युट्री–स्कोर सिस्टम’ भन्दा निकै सफल भएको बताउँछन् ।   

चिलीलगायत देशमा चेतावनी–लेबल नीतिले म्यानुफ्याक्चररलाई कम प्रशोधनतर्फ अग्रसर हुन प्रोत्साहित गरेको छ । स्पष्ट हौँ, सम्पूर्ण अमेरिकीलाई स्वस्थ आहार प्रदान गर्ने दिशाका थुप्रै चरणमध्ये यो एउटा चरण हो । ‘फ्रन्ट–अफ–प्याकेज लेबलिङ’ नीति–निर्माताहरूका लागि उपलब्ध उत्तम विकल्पमध्ये एक हो र यसले केही ठाउँमा काम गर्न थालिसकेको छ । यसले अमेरिकामा पनि काम गर्न सक्छ ।

(मोर्गन खाद्य प्रणालीविद् हुन् । बिटम्यान कोलम्बिया युनिभर्सिटीको ‘मेलम्यान स्कुल अफ पब्लिक हेल्थ’का खाद्यसम्बन्धी विशेष सल्लाहकार हुन् ।) 
न्युयोर्क टाइम्सबाट


 

ad
ad
ad
ad