१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस वाशिङ्गटन डिसी
२०७९ असोज २७ बिहीबार १०:५६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेट

Read Time : < 1 मिनेट
रासस वाशिङ्गटन डिसी
२०७९ असोज २७ बिहीबार १०:५६:००

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।

युएसएआइडीको मुख्यालय वासिङटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुत आधारशीला तय गर्ने विषयमा छलफल भएको जनाइएकाे छ । भेटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगकाे प्रशंसा गरेका छन् ।

अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरेका छन् । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलवायु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणासमेत गरेका छन् ।

यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल–अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताइन् । सामाजिक सञ्जालमार्फत पावरले भनेकी छिन्, ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।’ यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा रहेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छिन् ।

उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमण दलमा सहभागी अन्यको समेत उपस्थिति थियो ।

नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ ।