अहिले नेपालमा बिदा मनाउन ट्रेकिङ जानेको संख्या बढ्दो छ । महिनाको एकपटक ट्रेकिङ जाने परम्परा विकास हुँदै छ । यसरी ट्रेकिङ जानेमा आन्तरिक तथा बाह्य पर्यटकहरू हुन्छन् । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ । अर्काे, छोटो अवधिमै शरीरमा ताजगी र स्फूर्ति पैदा हुनुका साथै फरक अनुभूति गराउँछ । ट्रेकिङका लागि खासगरी उच्च हिमाली र पहाडी क्षेत्र, वनजंगल तथा नदी, तालमा जाने गरिन्छ । यस्ता ठाउँमा ट्रेकिङ जाँदा रमाइलो हुन्छ । तर, सचेत नहुँँदा विभिन्न समस्या पनि आउन सक्छन् । त्यसैले ट्रेकिङ सफल र सुरक्षित बनाउन पूर्वतयारी गर्न आवश्यक हुन्छ ।
भौगोलिक अवस्था बुझ्ने
ट्रेकिङ जान लागेको ठाउँबारे पूर्वजानकारी लिन जरुरी हुन्छ । त्यहाँको भौगोलिक अवस्था र कठिनाइबारे सजग भइएन भने ठूलो विपत्ति आइपर्न सक्छ । कुनै प्राकृतिक दुर्घटना भए÷नभएको थाहा भए अझ राम्रो हुन्छ । त्यसले सम्भावित जोखिम कम गराउँछ । अर्काे, त्यसअघि ती स्थानमा ट्रेकिङ गएका मान्छेसँग सल्लाह लिएर आफूले त्यसअनुरूप तयरी गर्दा झन् राम्रो हुन्छ । यात्राका लागि पदमार्ग पनि थाहा हुनुपर्छ । यसका लागि ‘गुगल म्याप’बाट पनि सहयोग लिन सकिन्छ ।
मौसमबारे पूर्वजानकारी लिने
नेपालको भौगोलिक वनावट फरक–फरक छ । कतिपय ठाउँमा छिनछिनमै मौसम परिवर्तन भइरहन्छ । त्यसमा पनि हिमाली र पहाडी क्षेत्रमा झनै छिटो मौसम परिवर्तन भइरहन्छ । त्यसैले पनि मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्र यात्रामा जानुपर्छ, जसले गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकियोस् । त्यसैले मौसमबारे पूर्ण रूपमा जानकार हुनुपर्छ ।
स्वास्थ्यमा ध्यान दिने
ट्रेकिङ जान शारीरिक रूपमा पूर्ण स्वस्थ हुनुपर्छ । शारीरिक रूपमा पूर्ण रूपमा स्वस्थ भएन भने ट्रेकिङ गर्न सम्भव छैन । अर्काे, ट्रेकिङ जानुअघि ‘मर्निङ वाक’ गर्दा अझ राम्रो हुन्छ । एक साताअघि सामान्य ‘एक्सरसाइज’ गर्दा शरीर फुर्तिलो हुन्छ । जसले ट्रेकिङका लागि फाइदा पुर्याउँछ । कतिपयलाई प्रेसर, सुगरजस्ता रोग हुन सक्छ । यसका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ ।
खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने (अल्टिच्युड सिकनेस) लगायत अन्य विभिन्न स्वास्थ्य समस्या हुन सक्छन् । चार हजार मिटरभन्दा माथि लेक लाग्न सक्छ । मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्छ ।
त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्छ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्छ । त्यसका लागि सिटामोललगायतका औषधि बोक्नुपर्छ । आवश्यक सामान सिजनअनुसार ट्रेकिङ गइन्छ । त्यसैले सिजनअनुसार आफूलाई चाहिन सक्ने सामान लान जरुरी हुन्छ । फेरि, अनावश्यक सामान राखेर झोला भारी पनि बनाउनुहुँदैन । तौल धेरै भएको झोला पनि बोक्नुहुँदैन । ट्रेकिङ गरेको एक–दुई दिनमै ज्यान भारी हुने भएकाले कम तौल भएको भारी बनाउनुपर्छ ।
ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानुपर्छ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ ।
अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने ‘डाउन ज्याकेट’ बोक्नुपर्छ । चार–पाँच दिनका लागि ट्रेकिङ गर्दै हुनुहुन्छ भने धेरै ठूलो झोला आवश्यक पर्दैन । तर, १०–१२ दिनको ट्रेकिङ गर्दै हुनुहुन्छ भने ३५ देखि ६० लिटरसम्मको झोला आवश्यक पर्छ ।
कस्तो खानेकुरा खाने ?
कतिपय ठाउँमा होटेल–रेस्टुरेन्ट उपलब्ध हुँदैनन् । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिसर्नुहुँदैन । त्यस्तै, मौसम परिवर्तन भइरहने भएकाले बिरामी पर्नेसमेत सम्भावना रहन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरू बोक्दा राम्रो हुन्छ । किनभने धेरै भारी पनि हुँदैन, खाँदा पनि इनर्जी दिन्छ ।