बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुलका तीनवटा स्पान बगाएको छ । गत शनिबार एउटा स्पान बगाएको थियो । त्यसपछि थप दुई स्पान बगाएको हो ।
स्पान बगेसँगै पुलका दुईवटा पिल्लर ढलेका छन् । चार सय २५ मिटर लामो सो पुल पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । तर, हस्तान्तरण नहुँदै पाँच वर्षअघि ०७४ मा तीनवटा स्पान मासिएको थियो भने दुईवटा पिल्लर ढल्किएको थियो । त्यसयता हरेक वर्ष पुल निर्माणको प्रतीक्षा हुने गरेको थियो । तर, पुल सम्पन्न हुन सकेको थिएन । १७ स्पानमध्ये अहिले पूर्वतर्फका तीनवटा बगाएको हो ।
०७४ मा भासिएको पुल भएर सर्वसाधारण जोखिम मोलेरै आउजाउ गर्दै आएका थिए । पैदल यात्री, साइकल र मोटरसाइकल यात्री मात्र होइन, हलुका सवारीसाधनसमेत भासिएकै पुलबाट आउजाउ हुने गरेको थियो । यसपटक तीनवटा स्पान बगाएपछि भने सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाबीच सीधा सम्पर्क विच्छेद भएको छ ।
सदरमुकाम गुलरियाबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सो पुल बगाएपछि गुलरिया र बारबर्दिया नगरपालिकाका हजारौँ बासिन्दा प्रभावित बनेका छन् । पुलको विकल्पमा स्थानीयवासीले पुनः डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता आएको छ । बारबर्दिया नगरपालिकाका पूर्वनगरप्रमुख दुर्गाबहादुर थारूले अब स्थानीयका लागि दुःखका दिन सुरु भएको बताए ।