१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

असन्तुष्ट मुख्यमन्त्री भट्टले भने- अन्तिम समयमा टिकट खाेसिनुलाई गम्भीरतापूर्वक लिएको छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२७:oo

प्रदेश सभा सदस्यमा दोहोरिने तयारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्तिम समयमा आफूलाई विवादित बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उम्मेदवारी दर्ताको अघिल्लो रात एकाएक टिकट अरूलाई दिएको विषयलाई आफूले सामान्य रूपमा नलिएको उनले प्रतिक्रिया दिएका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री भट्टले पार्टीभित्रको चलखेलले टिकट वितरणमा अनपेक्षित निर्णय भएको बताए। ‘केही दिनअघि मात्रै पार्टी अध्यक्ष प्रचण्डले मलाई प्रदेश सभाको तयारी गर्न भन्नुभएको थियो। त्यहीअनुसार मैले साथीहरूसँग छलफल र तयारी पनि अगाडि बढाएको थिएँ,’ उनले भने, ‘तर, अन्तिम समयमा मेरो परामर्शविना नै टिकट बाँडिनुलाई मैले गम्भीरतापूर्वक लिएको छु।’ मुख्यमन्त्री भट्ट लड्ने भनिएको डोटीको प्रदेश सभा क्षेत्र २ मा उनकै स्वकीय सचिव शिवसिंह ओलीले माओवादीबाट टिकट पाएका छन्।

मुख्यमन्त्री भट्टले डोटीबाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्न चाहेका थिए। त्यहीअनुसार पार्टीको जिल्ला कमिटीले उनको नाम सर्वसम्मत सिफारिस पनि गरेको थियो। एउटै निर्वाचन क्षेत्र रहेको डोटी एकीकृत समाजवादीले लिने केन्द्रमा सहमति भएपछि माओवादीले उनको नाम समानुपातिकको सूचीमा राखेको थियो। भट्टनिकट एक नेताका अनुसार पछि समानुपातिकको सूची संशोधन गर्दै पार्टी नेतृत्वले उनलाई प्रदेशमा तयारी गर्न भनेको थियो।

प्रतिनिधिसभाको क्षेत्र समाजवादीको भागमा परेपछि अध्यक्ष प्रचण्डले गत साता भएको भेटघाटमा आफूलाई प्रदेशमै दोहोरिनका लागि तयारी गर्न भनेको मुख्यमन्त्री भट्टले बताए। प्रदेशमा दोहोरिने आफ्नो चाहना नभए पनि पार्टी नेतृत्वको निर्देशनअनुसार आफू अगाडि बढेको वेला अन्तिम समयमा आएर गरिएको अनपेक्षित निर्णयले आफूलाई मर्माहत बनाएको उनले बताएका छन्। पार्टीको निर्णय शिरोधार्य गरेर काम गर्ने इमानदार नेता, कार्यकर्ताविरुद्ध हुने यस्ता निर्णयले पार्टीलाई नै असर गर्ने उनको चेतावनी छ।

‘मैले लगातार पाँच वर्षसम्म मुख्यमन्त्री चलाइसकेकाले अब मेरोबारेमा पार्टीले निर्णय लेओस् भन्ने चाहेको थिएँ। सोही सिलसिलामा अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीको भेटमा अध्यक्षले संघमा हाम्रो भाग नपरेकाले प्रदेशमा लड्नुहोस् भन्नुभएको थियो,’ मुख्यमन्त्री भट्टले भने। रातारात निर्णय उल्ट्याइनुलाई उनले आपत्तिजनक बताएका छन्। चुनावका वेला पार्टीभित्रकै केही नेताले आफूलाई विवादित बनाएर विभिन्न सञ्चारमाध्यममार्फत आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै मुख्यमन्त्री भट्टले आपत्ति जनाएका छन्। ‘उम्मेदवारी नपाएकोमा असन्तुष्टि होइन। मैले कुनै पदका लागि पार्टीमा कहिल्यै दाबी गरेको पनि छैन,’ उनले भने, ‘तर, पार्टी नेतृत्वको निर्देशनअनुसार अगाडि बढिसकेका वेला अन्तिम समयमा आएर ममाथि षड्यन्त्र गरिनु आपत्तिजनक छ।’

प्रदेशमा चुनाव लड्न चाहेको भए प्रदेशमै आफ्नो नाम सर्वसम्मत सिफारिस भएर आउने अवस्था रहेको उनले बताए। ‘म इमानदारीपूर्वक राजनीति गर्छु। तर, यो निर्णयले मेरो राजनीतिक चरित्रहत्या गर्ने र नेतृत्वको निर्णय क्षमतामाथि प्रश्नचिह्न खडा गर्ने काम भएको हो,’ भट्टले भने, ‘यसले पार्टीभित्र र बाहिर नकारात्मक सन्देश दिएको छ।’ ०६४ र ०७० को निर्वाचनमा डोटीबाट प्रतिनिधिसभा सदस्यमा पराजित भट्ट ०७४ को निर्वाचनमा प्रदेश सभा २ बाट निर्वाचित भएका थिए।

ad
ad