१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

हेटौँडामा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमअनुसार पाठ्पुस्तक लागू हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:१o:oo

यसअघि कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेको हेटौँडा उपमहानगरपालिकाले चालू शैक्षिक सत्रदेखि भने कक्षा ८ सम्मै स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ।उपमहानगरपालिकाले चालू शैक्षिक सत्रदेखि नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमअनुसारको ‘हाम्रो हेटौँडा’ लागू गर्ने निर्णय गरेको हो। 

उपमहानगरपालिकाको ४३औँ कार्यपालिका बैठकले चालू शैक्षिक सत्रदेखि नै नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो हेटौँडा’ लागू गर्ने निर्णय गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवं १ नम्बर वडाध्यक्ष सबिन न्यौपानेले जानकारी दिए।

प्रवक्ता न्यौपानेले विद्यालयहरूलाई स्थानीय पाठ्पुस्तक लागू गर्ने विषयमा जानकारी गराइसकिएको बताए। उनले विद्यालयहरूले स्थानीय पाठ्पुस्तक लागू गरे नगरेको अनुगमन गर्ने निर्णय भएको पनि जानकारी दिए। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहहरूले पाठ्यक्रम तयार पारेर लागू गर्न पाउने व्यवस्था छ। सोहीअनुसार मकवानपुरका १० मध्ये आठ पालिकाले यसअघिदेखि नै स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याइसकेका छन्। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४)मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने भएपछि मकवानपुरका पालिकाहरूले आफ्ना विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका हुन्। 

यसरी स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने पालिकाहरूमा हेटौँडा उपमहानगरपालिकासँगै बागमती, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका, मनहरी र राक्सिराङ गाउँपालिका रहेका छन्। जिल्लाका सबै पालिकाहरूले स्थानीय पाठ्यपुस्तकमा आफ्नो क्षेत्रको भौगोलिक अवस्था, बसोबास गर्ने जातजाति, उनीहरूको भाषा, धर्म, संस्कृति, चाडपर्व, आर्थिक, सामाजिक र राजनीतिक अवस्था, ऐतिहासिक महत्त्वलगायतका विषयवस्तु समेटेका छन्।

ad
ad