मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ असोज १५ शनिबार ०९:२८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तिहारपछि साझाका थप ३७ वटा विद्युतीय बस सञ्चालनमा आउँदै

Read Time : > 2 मिनेट
२०७९ असोज १५ शनिबार ०९:२८:००

तिहारपछि साझा यातायातले ३७ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । साझा यातायात प्रालिले ल्याउन लागेका ४० विद्युतीय बसमध्ये उपत्यकामा चलाउनका लागि थप ३७ वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो ।यसअघि असारमा तीनवटा विद्युतीय बस सञ्चालनमा आइसकेका छन् । साझा यातायातका अनुसार असारदेखि तीनवटा विद्युतीय बस हाल उपत्यकाका दुईवटा रुटमा चलिरहेका छन् । एउटा बस लगनखेल–जावलाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानीलकण्ठसम्म चल्दै आएको छ । त्यसैगरी, अरू दुईवटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतीघर, तिनकुने हुँदै एयरपोर्टसम्म चलिरहेका छन् ।

 दसैँ र तिहारका बीचमा नेपाल आइपुग्ने 
३७ वटा विद्युतीय बस दसैँ र तिहारका बीचमा आइपुग्ने साझा यातायातका सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए । उनका अनुसार हालै पाँच दिनअघि कोदारी–झाङ्मु ल्यान्डपोर्ट हुँदै काठमाडौंका लागि प्रस्थान गरेको छ । नेपालको बोर्डरमा आइपुग्न अझै करिब १०–१२ दिन लाग्न सक्ने तुलाधरले बताए ।
३७ वटा विद्युतीय बस सिएचटिसी इभीले नानजिङ उत्पादन प्लान्टबाट निर्माण गरेको तुलाधरले जानकारी दिए । ‘दसैँ र तिहारका बीचमा नेपाल आइपुग्नेछन्, त्यसपछि रुट परमिटदेखि, इन्स्योरेन्सलगायत परीक्षणको काम सुरु हुनेछ र सरकारी विशेषज्ञले अनुमति दिएसँगै बस फुल फेजमा सञ्चालनमा आउने र त्यसका लागि करिब एक महिना लाग्न सक्छ,’ तुलाधरले भने । 

 कस्तो छ विद्युतीय साझा बस ?
साझाले ल्याउन लागेका विद्युतीय बस यसअघि नै सञ्चालनमा आइसकेका छन् । ती तीनवटा बस निकै प्रभावकारी पाइएको तुलाधरले बताए । पहिलो परीक्षण तीनवटा बसबाटै सञ्चालनमा ल्याएर देखाइसकेका छौँ, त्यसैले अब आउने ३७ बस पनि उस्तै खालका हुने तुलाधर बताउँछन् । तुलाधरका अनुसार सिएचटिसिएचओसँग साझाले प्रतिबस करिब डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । डलरको भाउमा तल–माथि भइरहन्छ, करिब प्रतिबस डेढ करोड रुपैयाँ पर्ने तुलाधरले बताए । सरकारले तोकिदिएको मापदण्डअनुरूप नै साझाले बस खरिद गरेको हो । बस २५ भन्दा बढी सिट क्षमताको रहेको छ भने बसभित्र सिसिटिभी क्यामरा, डिस्प्ले बोर्ड, मोबाइल चार्ज गर्ने प्वाइन्टलगायतका सुविधा रहेका छन् भने बस १२ मिटरको रहेको छ ।

यी अपांगतामैत्री बसहरू एकपटक चार्ज गर्दा ४२ जना यात्रु लिएर दुई सय किलोमिटर गुड्नेछन् । तुलाधरका अनुसार बस, चार्जर र पाँच वर्षसम्मको मर्मत–सम्भार कम्पनीले नै गर्ने गरी सम्झौता भएको हो । त्यसैगरी, २० वटा चार्जर, तालिम, मर्मत–सम्भार र स्पेयर पार्टस्का सामान पनि हुनेछन्  । 

 यस्तो थियो बस खरिदको प्रक्रिया ?
सरकारले ९ पुस ०७५ मा तीन सयवटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरू किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन ०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो । स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज ०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीँ रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ ०७६ मा साझाको खातामा पुगिसकेको तीन अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णयसमेत गरेको थियो ।

तर, माघ ०७७ मा सरकारले तीन अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । साझासँग फिर्ता लिएर मन्त्रालयले नै सञ्चालन गर्ने भन्दै सरकारले अध्ययनसमेत अघि बढाएको थियो । मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन कमिटी नै बनाएर स्पेसिफिकेसन र बिडिङ डकुमेन्ट तयार पारेको थियो । मन्त्रालयकी सहसचिव प्रमिला बज्राचार्यको संयोजकत्वमा यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर, मन्त्रालयका सिडिई, साझा यातायात, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिसहित सात सदस्यीय कमिटी गठन भएको थियो ।

कमिटीलाई दुईवटा काम दिइएको थियो । पहिलो, प्राविधिक अध्ययन गरेर खरिद गरिने बसको स्पेसिफिकेसन तयार पार्ने र दोस्रो, टेन्डरका लागि बिडिङ डकुमेन्ट तयार पार्ने । कमिटीले बिजुली बसका तीनवटा स्पेसिफिकेसन तयार पारेको थियो । उपत्यकाको रिङरोड भित्र–बाहिर र उपत्यकाबाहिरका लागि फरक–फरक स्पेसिफिकेसन बनाएको थियो । रिङरोडभित्रका लागि बनाइएको स्पेसिफिकेसनअनुसार बस खरिद प्रक्रिया अघि बढेको थियो ।

कमिटीले एकैपटक सबै बस खरिद सुरु गर्न नहुने सुझावसमेत दिएको थियो । प्रतिवेदनमा केही बस किनेर ल्याएपछि सो आधारमा अरू बस खरिद थाल्न सुझाएको थियो । सोहीअनुसार सरकारले ०७७ मा ४० वटा बस किन्नका लागि टेन्डर आह्वान गरेको थियो । सोहीअनुसार पहिलो चरणमा तीनवटा र दोस्रो चरणमा ३७ वटा बस सञ्चालनमा ल्याउन लागिएको हो ।

चार्जिङ स्टेसन बनाउन जुट्दै साझा र विद्युत् प्राधिकरण
 साझाले चार्जिङ स्टेसनका लागि विद्युत् प्राधिकरणसँगै तयारीमा जुटेको छ । तिहारपछि बस सञ्चालनमा ल्याउनका लागि विद्युत् प्राधिणकरणको समन्वयमा स्टेसनहरूको निर्माणमा जुटेको छ । हाल दुईवटा चार्जिङ स्टेसन रहेका र त्यसैबाट सञ्चालन भइरहेको छ । ४० वटा बसका लागि २० वटा चार्जरसँगै आउने हुँदा त्यसका लागि ट्रान्समिटर निर्माणदेखि अन्य प्राविधिक निर्णयमा जुटेको र केही  महिनाभित्रै चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको तुलाधरले बताए । ‘हाम्रो २० वटा चार्जिङ स्टेसनका लागि प्लान हो, अहिले दुईवटा सञ्चालनमा छन्, पहिलो साझा यातायातकै प्रांगणमा राखिने तयारी छ,’ उनले भने ।