Skip This
भिजिट भिसामा मानव तस्करी : दुबई जान लागेकी युवती विमानस्थलबाट पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार

भिजिट भिसामा मानव तस्करी : दुबई जान लागेकी युवती विमानस्थलबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १९:४१:oo

नक्कली कागजपत्र पेस गरी भिजिट भिसामा दुबई जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। सिन्धुपाल्चोककी १९ वर्षीया युवतीलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। 

१२ कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी उनी दुबई जान लागेकी थिइन्। 

आफ्नो प्रमाणपत्र नक्कली भएको स्विकार्दै भिजिट भिसामा जान आवश्यक सबै कागजपत्र आफूलाई एक समूहले बनाइदिएको उनले पक्राउपछि बताएकी छिन्। 

‘उनीबारे हामीले सुरुमै एयरलाइन्स र अध्यागमनलाई जानकारी गराएका थियौँ,’ विमानस्थल प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जोशीले भने, ‘तर, एयरलायन्स र अध्यागमन दुवैले रोकेन, पछि बोर्डिङ पास क्यान्सिल गर्न लगाएर हामीले उनलाई पक्राउ गराएका हाैँ।’ फ्लाई दुबईमार्फत उनी दुबई जान लागेकी थिइन्। 

प्रारम्भिक अनुसन्धानमा ती युवतीसहित पाँचजनालाई मानव बेचबिखनमा संलग्न एक गिरोहले रोजगारीको प्रलोभनमा विदेश लैजान लागेको खुलेको छ। चारजना भने सेटिङमा दुबई गएका छन्। युवतीले यसरी लैजाने गिरोहबारे सूचना दिएकी छिन्।

यसबारे थप छानबिनका लागि गौशाला वृत्तमा पठाइएको एसएसपी जिसीले बताए। विमानस्थलबाट एयरलाइन्स र अध्यागमनको मिलेमतोमा मानव तस्करी भइरहेको सूचनापछि विगत एक महिनादेखि प्रहरीले कडाइ गर्दै आएको छ।

यस अवधिमा शंकास्पद कागजपत्रका आधारमा खाडीलगायत देशमा भिजिट भिसामा जान लागेका करिब चार सयलाई प्रहरीले फिर्ता गरिसकेको छ। 

फिर्ता गरिसकेका व्यक्तिका आधारमा गिरोहमाथि छानबिन गर्ने जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दिएकोमा हालसम्म कोही पक्राउ परेका छैनन्।

सेटिङमा संलग्न अध्यागमनका कर्मचारीमाथि विस्तृत छानबिन हुन नसक्दा भिजिट भिसामा हुने मानव तस्करी रोकिएको छैन।