लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। असोज ३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
स्थानीय उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन, विविधिकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। तर, अति आवश्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिइने बताइएको छ।
पालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरी यसको बिक्री–वितरण तथा बजारीकरण गरी आयआर्जन वृद्धि र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ। पालिका अध्यक्ष गुरुङले असोज ९ गते सार्वजनिक सूचना जारी गर्दै निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेका छन्।
गाउँपालिकाको यस्तो निर्णयले फूल व्यवसायमा लागेका कृषकहरू खुसी भएका छन्। पालिकाको वडा नम्बर ९ स्थित भालमचौर मृचे नमुना कृषि फार्ममा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा तीन रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। पालिकाको निर्णयमा सो फार्मका प्रवर्द्धक नवीनराज कुइँकेलले खुसी व्यक्त गरे।
स्थानीय फूल र माला प्रयोग गरी खादाको आयात रोक्न सके स्थानीय पुँजी सञ्चित हुनुका साथै आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको गाउँपालिका अध्यक्ष गुरुङले बताए।