छिमेकी मुलुक भारतमा विद्युत् निर्यात गर्दै आएको नेपालकै कुल ऊर्जा खपतमा जलविद्युत्को योगदान अत्यन्त न्यून देखिएको छ । युनडिपीले गरेको एक अध्यनन प्रतिवेदनअनुसार नेपालको ऊर्जा खपतमा विद्युत्को हिस्सा ४ प्रतिशत मात्रै देखिएको हो । अध्ययनअनुसार सन् २०२१ मा नेपालमा कुल एक खर्ब ७३ अर्ब ६० करोड युनिट (१७३.६ टेरावाट) ऊर्जा खपत भएको थियो, त्यसमा जलविद्युत्को योगदान ६ अर्ब ९४ करोड युनिट (६.९४४ टेरावाट) मात्रै देखिएको छ । सोही वर्ष नेपालमा पाँच सय मेगावाटभन्दा बढी विद्युत् खेर गएको थियो । यद्यपि, पछिल्लो समय नेपालबाट भारतमा विद्युत् निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि भारतीय बजारमा दैनिक चार सय मेगावाट विद्युत् निर्यात गर्दै आएको छ ।
हाल नेपालमा दुई हजार दुई सय ६९ मेगावाटको विद्युत् आयोजना सञ्चालनमा छन् । योबाहेक हजारौँ मेगावाटबराबरको जलविद्युत् आयोजना अध्ययन तथा निर्माणका क्रममा छन् । तर, स्वयं नेपालकै ऊर्जामा खपतमा भने जलविद्युत्को हिस्सा अत्यन्त न्यून देखिएको उक्त अध्ययनले पुष्टि गरेको छ । अध्ययनअनुसार नेपालमा खपत हुने ऊर्जामा सबैभन्दा बढी हिस्सा परम्परागत बायोमास (गोबर ग्यास, गुइँठा, दाउरा)को देखिएको छ । ऊर्जामा बायोमासको हिस्सा ६६ प्रतिशत देखिएको छ । यस्तै, पेट्रोलियम पदार्थको हिस्सा १८ प्रतिशत, कोइलाको १० प्रतिशत र नवीकरणीय ऊर्जाको २ प्रतिशत योगदान रहेको छ ।
अध्ययनमा आबद्ध प्राध्यापक डा. अमृतमान नकर्मीले नेपालको ऊर्जा खपतमा विद्युत्को योगदान सन्तोषजनक नभएको बताए । ‘कुल ऊर्जा खपतमा विद्युत्को योगदान बढ्दै गएको त छ । तर, पेट्रोलियम पदार्थ र कोइलाबाट हुने योगदान अझ बढेको छ,’ उनले भने, ‘त्यो अवस्थामा कुल ऊर्जामा विद्युत्को जुन योगदान छ, त्यसलाई राम्रो मान्न सकिँदैन ।’ यद्यपि, पहिला विद्युत् उत्पादन कम हुँदा पनि यस्तो भएको हुन सक्ने जानकारहरू बताउँछन् ।
नेपालमा विद्युत् उत्पादनको पोटिन्सियल, वातावरणीय पक्षलगायतका आधारमा यहाँको ऊर्जामा विद्युत्कै योगदान बढी हुुनु राम्रो मानिन्छ । किनकि, पेट्रोलियम, कोइलाबाट उत्पादन हुने ऊर्जाले वातावरणलाई नमज्जाले प्रभावित बनाउँछ । तर, नेपालमा त्यस्तै ऊर्जाको प्रयोग बढी हुनु दुःखद पक्ष भएको विज्ञहरूको भनाइ छ ।
पछिल्लो ११ वर्षमा के भयो ?
सन् २०१० मा नेपालको कुल ऊर्जामा विद्युत्को योगदान २ प्रतिशत थियो । सोअनुसार पछिल्लो ११ वर्षमा विद्युत्को योगदान दोब्बर भएको छ । तर, त्योसँगै पेट्रोलियम पदार्थको योगदान पनि दोब्बर भएको छ । साथै, कोइलाको योगदान पनि तीन गुणाभन्दा बढी पुगेको छ । तथ्यांकअनुसार सन् २०१० मा पेट्रोलको ९ प्रतिशत र कोइलाको ३ प्रतिशत योगदान थियो । अहिले त्यस्तो ऊर्जाको योगदान क्रमशः १८ प्रतिशत र १० प्रतिशत रहेको छ ।तथ्यांकअनुसार २०११ मा नेपालको कुल ऊर्जा खपत एक खर्ब ४४ अर्ब युनिट (१४४ टेरावाट) थियो । त्यसमा बायोमासको ८५ प्रतिशत, नवीकरणीय ऊर्जाको १ प्रतिशत योगदान दियो । तथ्यांकअनुसार ऊर्जामा पछिल्लो समय बायोमासको हिस्सा कम भएको छ ।
२०३० सम्म के होला ?
सरकारले विद्युत् खपतलाई बढावा दिएमा २०३० सम्म यसको हिस्सा ३५ प्रतिशतसम्म पुर्याउने अध्ययनले देखाएको छ । यसैगरी बायोमासको हिस्सा ३४, आधुनिक नवीकरणीय ऊर्जाको २, कोइलाको ६ प्रतिशत र पेट्रोलको २३ प्रतिशत योगदान पुग्ने अध्ययनले देखाएको छ ।
विद्युतकाे योगदान बढ्छ
प्रा.डा. अमृतमान नकर्मी
अहिले नेपालको ऊर्जा खपतमा विद्युतकाे जुन योगदान छ, त्यो सन्तोषजनक छैन । तर, ऊर्जामा यसको योगदान बढ्छ भन्ने आशा भने छ । डिजेल, कोइलाबाट चल्ने उद्योगहरू अहिले विद्युतीकरण हुँदै गएका छन् । विद्युतीय सवारीसाधन पनि प्रचलनमा आएको छ । साथै, नेपालीहरूको भान्सामा पनि विद्युतीय चुलो प्रयोग हुन थालेको छ । त्योअनुसार केही समयमै नेपालको ऊर्जामा विद्युतकाे योगदान उच्च हुन्छ । तर, त्यो यत्तिकै सम्भव छैन । सरकारले यसमा बढावा दिनुपर्छ ।