१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ०९:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच वर्षपछि पुन: धूम्रपान निषेध गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ०९:२५:००

काठमाडौं महानगरपालिकाले पाँच वर्षपछि फेरि दोहोर्‍याएर महानगर  क्षेत्रका सार्वजनिक स्थलमा आगामी शनिबारदेखि धूम्रपान निषेध गर्ने भएको छ । ५ असारमा भएको महानगरको ११औँ नगरसभाले निर्णय गरेअनुसार १ असोजदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइने बिहीबार सार्वजनिक सूचनामार्फत जनाइएको छ । 

तर, महानगरको सार्वजनिक क्षेत्रलाई धूम्रपान निषेध घोषणा गर्न लागिएको यो पहिलोपटक होइन । यसअघि तत्कालीन मेयर विद्यासुन्दर शाक्यले ११ फागुन ०७४ मा महानगरपालिकाको सार्वजनिक क्षेत्रलाई धूम्रपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गरेका थिए ।

उनले महानगरपालिकालाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त सहर घोषणा गरिएको बताए पनि कार्यकालभर कार्यान्वयन भएन । त्यतिखेर यो कार्यक्रमबापत अमेरिकी गैरसरकारी संस्था बुलुम्बर्ग फिलानट्रोपिजले एक करोड अनुदान दिने सम्झौता गरे पनि सुरुवातीमा २५ लाख मात्र पाएको थियो ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका मेयर बालेन्द्र शाहले सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध गर्ने कार्यक्रम चालू आवको नीति तथा कार्यक्रममै राखेका थिए । याे नगरसभाबाट पारित भएको थियो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार सरकारी कार्यालय, शिक्षण संस्था, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, पुस्तकालय, होटेल, रेस्टुरेन्ट, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखाना, कार्यस्थल, चलचित्रघर, नाटकघर, रिसाेर्ट, रेस्टुरेन्ट, भोजनालय, चमेनागृह, रंगशाला, धर्मशालालगायत सार्वजनिक स्थलमा धूम्रपान  सेवन गर्न  पाइँदैन । सार्वजनिक स्थलमा धूम्रपान गरे तत्काल एक सयसम्म जरिवाना वा अन्य विभागीय कारबाही हुने व्यवस्था छ ।