१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Monday, 01 July, 2024
नेपाल भ्रमणमा रहेका चिनियाँ नेता ली झाङ्सुको सवारीका लागि मंगलबार बिहान खाली गरिएको माइतीघर–बानेश्वर सडक खण्ड । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२o७९ भदौ २९ बुधबार o७:o४:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भिभिआइपी सवारी : सर्वसाधारणलाई घन्टौँ जामको सास्ती 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार o७:o४:oo

सवारी आगमनको सूचना सार्वजनिक नहुँदा कार्यालय र अत्यावश्यक काममा हिँडेका सर्वसाधारण मारमा 

कीर्तिपुरका सत्यनारायण भट्ट सोमबार दिउँसो १२ बजे नारायणहीटिस्थित दरबार संग्रहालय जान मोटरसाइकलमा निस्किए । उनी जब बल्खु चोक आइपुगे, घनघोर जाममा फस्न पुगे । बांगोटिंगो बाटो समात्दै उनी कालीमाटी चोकसम्म त पुगे । तर, त्यहाँबाट उनी एक पाइला पनि अघि बढ्न सकेनन् । दिउँसो २ बजेपछि बल्ल जाम खुल्यो । उनी संग्रहालय पुग्दा साढे २ बजेको थियो । ‘म्याराथन’ जाम सम्झिएर उनले मंगलबार त पूर्वनिर्धारित आफ्नै सबै कार्यक्रम स्थगित नै गर्नुपर्‍यो । ‘१२ बजे दरबार संग्रहालय हिँडेको म पुग्दा साढे २ बज्यो । जब कि सामान्य दिनमा म आधा घन्टामै पुग्थेँ । तीन दिनसम्मै यो जाम रहने मैले बुझेँ । त्यसो हुँदा मंगलबार पनि त्यस्तै होला भन्ने लागेर मेरा सबै निर्धारित कार्यक्रम रोकेँ,’ उनले भने ।

भक्तपुरका खगेन्द्र रावल नियमित कामका लागि न्युरोड गइरहनुपर्छ । सदाझैँ सोमबार पनि उनी न्युरोड जान घरबाट निस्किए । जब लोकन्थली आइपुगे, उनी जाममा फस्न पुगे । जाम छिचोलेर न्युरोड पुग्दा अपराह्न ४ बजेको थियो । मंगलबार पनि त्यस्तै जाम हुने थाहा पाएका उनी बिहानै घरबाट निस्किए । र, जाम सुरु हुनुअगावै कार्यालय पुगे । ‘सोमबार दिनभरजसो जाममा फसियो । मंगलबार पनि जाम हुने थाहा पाएपछि बिहानै घरबाट निस्किएँ । जामबाट बालबाल जोगिएँ । नत्र आज पनि जाममा परिने निश्चित थियो,’ उनले भने ।

जाममा फसिने डरले नयाँबानेश्वर बस्ने विश्वास खड्काले मंगलबारको कार्यसूची नै बदले । किनकि उनी सोमबार झन्डै चार घन्टा जाममा बस्नुपरेको थियो । पुतलीसडकस्थित ‘नेम्स’मा लोकसेवा तयारी कक्षा अध्ययन गर्न आउने क्रममा उनी नयाँबानेश्वर चोकमै जाममा फस्न पुगेका थिए । ‘सोमबार अचानक जाममा फसियो । बुझ्दा थाहा भयो भिभिआइपीको सवारी रहेछ । यस्ता सवारी हुँदा पहिले नै सूचना भएको भए म हिजो अर्कै बाटो भएर पुतलीसडक जान्थेँ । तर, विनाजानकारी अवागमन रोक्दा जाममा फस्न पुगेँ,’ उनले भने ।

कलाकार तथा निर्देशक निश्चल बस्नेतले सोमबारदेखिको ‘म्याराथन’ जामको विरोध गर्दे सामाजिक सञ्जालमार्फत अक्रोस नै पोखे । जामको विरोध गर्दै उनले लेखे, ‘कसैले ती भीआइपीलाई सुनाइदिनु तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भिआइपीहरूले एम्बुलेन्सभित्र छटपटाई ज्यानसमेत दाउमा राखेका छन् । जति नै मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन । ज्यानभन्दा ठूलो सवारी कुनै भिआइपीको हुनुहुँदैन ।’

भिभिआइपी सवारीको दुई घन्टाअघिबाटै आवागमनमा रोक

सवारी चलेका वेला दरबारमार्ग–भद्रकाली सडकमा रोकिएका सवारीसाधन ।  तस्बिर : संजित परियार/नयाँ पत्रिका 

यतिवेला चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा छन् । सोल्टीमोडस्थित होटेल सोल्टीमा बसेका उनको भेटघाट कार्यक्रम नयाँबानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्म तय भएका छन् । सोहीअनुसार गृह मन्त्रालयमातहतको सुरक्षा समितिले उनको आवागमन रुट तय गरेको छ । सुरक्षाकर्मीको परिचालन र रुट हुँदै आवागमन गर्ने सर्वसाधारणलाई प्रहरीले सोहीअनुसार ‘डाइभर्ट’ गर्दै आएको छ । भ्रमण रुटमा सुरक्षा प्रबन्ध कडा तुल्याइएको छ । रुटमा पर्ने सडक प्रहरीले आवागमनको दुई घन्टाअघिबाटै रोकेको छ । जसको मारमा परेका छन् सर्वसाधारण । जो घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा छन् । 

विशेष गरी नयाँबानेश्वर–बिजुली बजार–माइतीघर मण्डला–त्रिपुरेश्वर हुँदै सोल्टीमोडसम्मको सडक सोमबारदेखि दिनभरजसो प्रभावित भयो । ठूला अस्पताल, विद्यालय, कलेज, कार्यालय मात्र नभई ठूला सपिङ मलसम्म यही रुटमा छन् । त्यसैले यो रुटमा सवारी आवागमनको चाप सधैँ घना हुने गर्छ । 

विनाजानकारी यही रुटबाट भिभिआइपीको सवारी चलाइएकाले सर्वसाधारणले सास्ती भोग्नुपरेको नेपाल प्रहरीका पूर्वडिआइजी तथा ट्राफिक विश्लेषक केशव अधिकारीले बताए । ‘अहिले जुन ठाउँमा भिभिआइपीको सवारी चलाइएको छ, त्यो सधैँ व्यस्त रहने रुट हो । यस्ता ठाउँमा सवारी चलाउँदा दुई दिनअघि नै सूचना सार्वजनिक गरिनुपथ्र्यो । त्यसो हुँदा नागरिक आफैँ सचेत हुन्थे । घन्टौँको जामबाट उनीहरू बच्थे । तर, त्यसो गरिएन सर्वसाधारणले दुःख पाए,’ उनले भने ।

विदेशी मुलुकमा भिभिआइपीको आवागमन हुनु दुई दिनअघि नै रुटबारे सूचना सार्वजनिक हुने गरेको अनुभव सुनाउँछन् पूर्वडिआइजी अधिकारी । यसो गर्दा सर्वसाधारण आवागमन हुने समयमा रुट पर्ने सडकमा जाँदैनन् । यसले आवागमन व्यवस्थापन गर्ने प्रहरीलाई मात्र नभई सर्वसाधारणलाई समेत सहज हुने उनको तर्क छ । 

तिज र शिवरात्रिमा पशुपतिनाथ मन्दिरआसपास क्षेत्रका ट्राफिक जामबारे दुई दिनअघिदेखि नै जनतालाई जानकारी गराउने गरेको उदाहरण दिँदै उनले भने, ‘विदेशमा भिभिआइपीको अवागमन हुँदा रुट र समयबारे दुई दिनअघिबाटै सूचना सार्वजनिक हुन्छ । तर, हामीकहाँ त्यस्तो भएको अनुभव छैन । तिज र शिवरात्रि पर्वमा आवागमन प्रभावित हुने ठाउँको सूचना सार्वजनिक गर्ने अभ्यास त हामीकहाँ पनि छ नि । त्यस्तै गर्न सके कमसेकम सर्वसाधारणले दुःख पाउँदैनथे । प्रहरीलाई पनि व्यवस्थापन गर्न सजिलो हुन्छ ।’

विनासूचना व्यस्त रुटमा भिभिआइपीको सवारी चलाइयो  : केशव अधिकारी, पूर्वडिआइजी

विदेशमा भिभिआइपीको अवागमन हुँदा रुट र समयबारे दुई दिनअघिबाटै सूचना सार्वजनिक हुन्छ । तर, हामीकहाँ त्यस्तो भएको अनुभव छैन । तिज र शिवरात्रि पर्वमा आवागमन प्रभावित हुने ठाउँको सूचना सार्वजनिक गर्ने अभ्यास त हामीकहाँ पनि छ नि ।

त्यस्तै गर्न सके कमसेकम सर्वसाधारणले दुःख पाउँदैनथे । प्रहरीलाई पनि व्यवस्थापन गर्न सजिलो हुन्छ । अहिले जुन ठाउँमा भिभिआइपीको सवारी चलाइएको छ, त्यो सधैँ व्यस्त रहने रुट हो ।

यस्ता ठाउँमा सवारी चलाउँदा दुई दिनअघि नै सूचना सर्वजनिक गरिनुपथ्र्यो । त्यसो हुँदा नागरिक आफैँ सचेत हुन्थे । घन्टौँको जामबाट उनीहरू बच्थे । तर, त्यसो गरिएन सर्वसाधारणले दुःख पाए ।

सवारीमा अवरोध हुने भन्दै मिटरब्याजपीडितविरुद्ध मंगलबार पनि लाठी प्रहार 
न्यायिक छानबिन समितिको माग गर्दै माइतीघर मण्डलामा धर्नारत साहुकारपीडितलाई प्रहरीले मंगलबार पनि हस्तक्षेप गरेको छ । करिब साढे १ बजे उनीहरू पूर्ववत् धर्नाका लागि माइतीघर मण्डला पुगेका थिए । 

चिनियाँ पाहुनाको सवारीमा अवरोध हुने भन्दै अलर्टमा रहेका प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरेको थियोे । पक्राउपछि उनीहरूलाई प्रदर्शनीमार्गस्थित पुलिस क्लब लगिएको थियो । यसक्रममा प्रहरीले उनीहरूविरुद्ध लाठी प्रहारसमेत गरेको थियो । लाठी प्रहारका कारण पीडितमध्ये केहीको टाउको फुटेको छ । कसैको शरीरमा नीलडाम छ । प्रहरीले मंगलबार साँझ सबैलाई छाडेको थियो ।

ad
ad
ad
ad