सिराहाको धनगढीमाई नगरपालिका– १३ भोर्लेनीका एक सय नाैजना भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।
राष्ट्रिय भूमि आयोग, जिल्ला समितिको समन्वयमा भोर्लेनीस्थित वडा कार्यालय परिसरमा आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी हुन्। जग्गाधनी प्रमाण पुर्जा पाएका भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले खादा ओढाएर सम्मान गरेका थिए।
भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीको जग्गाका लागि धनगढीमाई नगरपालिकास्तरीय भूमि एकाइ सेवा केन्द्रका संयोजक सञ्जय चौधरीका अनुसार यहाँका १३ भूमिहीन दलित तथा ९६ भूमिहीन सुकुमबासीलाई जग्गाधनी प्रमाण पुर्जा दिइएको हो। ‘जग्गाधनी प्रमाण पुर्जा पाउन बाँकी रहेका तीन सयभन्दा बढी अव्यवस्थित बसोवासीले दिएको निवेदनको आधारमा नापीसमेत भइसकेको छ,’ संयोजक चौधरीले भने ‘उनीहरूलाई दोस्रो चरणमा व्यवस्थापन गर्ने गरी जग्गाधनी प्रमाण पुर्जाको काम भइरहेको छ।’
भूमि आयोग सिराहाका सदस्यसचिव तथा सिराहा नापी प्रमुख इन्जिनियर रविन सिंहले धनगढीमाई नगर क्षेत्रमा पर्ने १ देखि १४ नम्बर वडासम्म पाँच सय नाैजना भूमिहीन दलित, सात सय ३५ भूमिहीन सुकुमबासी र एक हजार चार सय ४१ जना अव्यवस्थित बसोवासी गरी दुई हजार ६ सय ८५ जनाको लगत संकलन भएको जानकारी दिए।
जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिहीनलाई जग्गा दिने संवैधानिक हक कार्यान्वयनस्वरूप भूमिहीन सुकुमबासीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण भइरहेको बताइन्। संविधानको रक्षार्थ गठन भएको वर्तमान गठबन्धन सरकारले संविधानमा व्यवस्था भएको नागरिक अधिकारस्वरूप जग्गाधनी प्रमाण पुर्जा दिइएको उनको भनाइ छ।