Skip This
धनगढीमा अतिक्रमण हटाएर मुख्य बजार क्षेत्रको सडक फराकिलो बनाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनगढीमा अतिक्रमण हटाएर मुख्य बजार क्षेत्रको सडक फराकिलो बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:१६:oo

नगर क्षेत्रभित्र सार्वजनिक खोलानालाको अतिक्रमण हटाउने अभियान थालेको धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा पनि अतिक्रमण हटाएर सडक चौडा गर्ने भएको छ। उपमहानगरले सूचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र बनाइएका संरचना हटाउन निर्देशन दिएको हो। 

मुख्य बजारक्षेत्रस्थित कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडकको क्षेत्राधिकार ३० मिटरभित्र बनाइएका घरटहरालगायतका संरचना असोज मसान्तभित्र हटाइसक्न भनिएको छ। तोकिएको समयमा संरचना हटाउन अटेरी गर्नेलाई प्रचलित ऐनअनुसार कारबाही गरिने उपमहानगरले जनाएको छ। मुख्य बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर दर्जनौँ संरचना निर्माण गरिएका छन्।

ती संरचनालाई हटाएर पार्किङ व्यवस्थासहित फुटपाथ र साइकल लेनसमेत भएको अत्याधुनिक सडक निर्माण गर्ने योजना रहेको धनगढीका मेयर गोपाल हमालले बताएका छन्। सडक निर्माणका लागि परामर्श दातामार्फत सर्भेको काम सुरु भइसकेको उनले जानकारी दिए। अटेरी गरी नहटाएका संरचना असोजपछि डोजर लगाएर खाली गर्ने उपमहानगरपालिकाको तयारी छ। मुख्य बजारको यो खण्ड करिब पौने तीन किलोमिटर छ। 

अतिक्रमण गरी संरचना बनाइएका कारण धनगढी बजार क्षेत्रको सडक साँघुरो छ। प्रदेशको अस्थायी राजधानी र प्रमुख व्यापारिक केन्द्र रहेको धनगढीमा जनसंख्या र सवारीसाधनको चाप सडकले धान्न नसक्ने गरी बढिरहेको छ। सडक चौडा नगरे धनगढी बजारको अस्तित्व नै संकटमा पर्ने मेयर हमालले बताए। 

‘धनगढी–अत्तरिया छ लेन सडक बनिसकेको छ। वरिपरिका अन्य सडक पनि चौडा बनिरहेका छन्,’ उनले भने, ‘धनगढी बजारलाई अहिले नै व्यवस्थित नगर्ने हो भनेपछि यसको अस्तित्व संकटमा पर्छ।’ 

ad
ad