
नेपाल प्रहरीका आइजिपी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल संयुक्त राष्ट्रसंघको युनाइटेड नेसन्स चिफ समिट (अनकोप्स) सकेर स्वदेश फर्केका छन् । उनीहरू गत साता राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा भएको समिटमा भाग लिन त्यसतर्फ गएका थिए ।
समिट तीन दिनसम्म चलेको थियो । आइजिपी सिंहले राष्ट्रसंघका महासचिवबाट जारी साझा एजेन्डा र ‘ए–४ पी र ए–४ पी प्ल्स (एजेन्डा एक्सन फर पिस किपिङ)’ कार्यान्वयनका सन्दर्भमा विशेष छलफल भएको बताए । समिटमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए । ‘अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता भयो । युएन मिसनमा सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको पाएँ,’ उनले भने ।
आइजिपीद्वय सिंह र अर्यालले राष्ट्रसंघअन्तर्गत डिपार्टमेन्ट अफ पिस अप्रेसनका पदाधिकारीसँग भेटवार्ता गरेका थिए । भेटपछि उनीहरू शान्ति मिसनमा महिलाको सहभागिता बढाउन सहमत भएका आइजिपी सिंहले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको शान्ति मिसन ‘एफपियू’अन्तर्गत ‘प्रि–डेप्लोइमेन्ट भिजिट’ र ‘एसेसमेन्ट एडभाइजरी भिजिट’का लागि राष्ट्रसंघको टोली आगामी अक्टोबरमा नेपाल आउनेछ ।
त्यसबाहेक शान्ति मिसनमा नेपालको सहभागितालाई थप व्यापक बनाउन तालिम प्रशिक्षकका लागि अतिरिक्त कोटा उपलब्ध गराउने तथा प्रशिक्षण कार्यमा खटाउने र नेपालमा शान्ति मिसनसम्बन्धी अन्तर्राष्ट्रिय तालिम सञ्चालन गर्न उनीहरू सहमत भएको आइजिपी सिंहको भनाइ छ । १५ देखि १७ भदौसम्म चलेको समिटमा एक सय ८१ देशका प्रहरी प्रमुख सहभागी थिए ।