१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Sunday, 22 September, 2024
२o७९ भदौ २१ मंगलबार १४:o५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भारतीय माछाका कारण चितवनको माछाले बजार पाएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १४:o५:oo

भन्सार छली भारतीय माछा सहज रुपमा नेपाल भित्रिँदा नेपाली माछाले बजार पाउन छाडेको छ। बजारीकरणका लागि चितवनका पोखरीमा माछा तयार रहे पनि काठमाडौंको बजारमा भारतीय माछाले कब्जा जमाएसँगै माछा बिक्री गर्न असहज भएको चितवनका मत्स्य व्यवसायीको गुनासो छ।

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार माछामा आत्मनिर्भर जिल्ला चितवनमा वार्षिक ६ हजार पाँच सय मेट्रिक टन माछा उत्पादन हुने गर्छ। साउनयता मात्रै वार्षिक उत्पादनको झन्डै ३५ प्रतिशत माछा तयारी अवस्थामा छ। बर्सेनि भदौ महिनामा दैनिक आठदेखि १० टनसम्म माछा चितवनबाट बिक्रीका लागि बाहिरी जिल्ला पुग्छ। चितवनमा उत्पादित माछाको बजारको आधा हिस्सा काठमाडौं, पोखरा, गोरखा र तनहुँ पुग्ने गरेको छ।

तर, सहज रूपमा भन्सार छलेर भारतीय माछा नेपाल आाउन थालेपछि स्वदेशी कृषकलाई मार परेको अध्यक्ष सुवेदी बताउँछन्। उनले भने, ‘जिउँदो माछा स्टोर गरेर राख्ने प्रविधि छैन। बिक्री नभएका माछा पोखरीमा नै मर्छन्। भारतीय माछा भन्सार छलेर अवैध रूपमा नेपाल ल्याइएको छ। यसमा कडाइ नगर्दा समस्या भयो।’

यसअघि विभिन्न कारणले माछा बिक्री रोकिएकोमा अहिले फेरि अवैध भारतीय माछाका कारण आाफूहरूको उत्पादनले बजार नपाएको भन्दै उनले गुनासो गरे। ‘साउनमा माछामासु खपत कम हुन्छ। भेटेरेनरी अस्पतालको आन्दोलनले बिक्री स्वच्छताको प्रमाणपत्र नपाउँदा दुई हप्ता माछा बिक्री रोक्यो। अहिले फेरि भारतीय माछाले गर्दा बजार पाएको छैन। चितवनको चर्को घामका कारण पोखरीमा हुने तातो पानीले बिक्री गर्न योग्य माछा बेच्न सकिएन भने हामीलाई घाटा हुन्छ।’
 
सम्बन्धित निकायसम्म पटकपटक यस विषयमा कुरा राख्दा बेवास्ता हुने गरेको सुवेदी बताउँछन्। किसानले नेपालमा उत्पादित माछा विनारोकतोक देशका जुनसुकै स्थानमा ढुवानी गरी बिक्री–वितरण गर्न पाउनुपर्ने, भारतीय विषाक्त माछा भित्र्याउने नीति खारेज हुनुपर्ने, माछा व्यवसायलाई उद्योगबाट हटाएर कृषिमा दर्ता गर्नुपर्नेलगायतको माग मत्स्य व्यवसायीको छ।