विश्वभर विद्युतीय सवारीसाधन (इभी)को प्रयोग दिनप्रतिदिन बढिरहेको छ । डेढ दशकअघिदेखि सुरुवातमा आएको इभी हाल नेपालका सडकमा पनि कुदिरहेका देख्न सकिन्छ । भन्सार विभागको तथ्यांकअनुसार हालसम्म ४० हजार विद्युतीय सवारीसाधन आयात भएको देखिन्छ । त्यसो भए पछिल्लो एक दशकमा विश्वभर इभी खरिद–बिक्रीको अवस्था कस्तो थियो त ?
सन् २०११ मा फर्किऊँ । त्यतिवेला विश्वभर करिब ५० हजार मात्रै इभी बिक्री भएको थियो । त्यसको १० वर्षपछि अर्थात् सन् २०२१ मा उक्त बिक्रीको फिगर बढेर ७० लाख पुगेको छ । धेरै देशले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएको र सोहीअनुसार नीति पनि लागू गरेकाले पछिल्लो एक दशकमा इभीको विश्वव्यापी बजार बढिरहेको इन्टरनेसनल इजर्नी एजेन्सीको तथ्यांकले देखाउँछ ।
इभीको पूर्ववर्ती बजार : सन् २०११ देखि २०१५ सम्म आइपुग्दा विद्युतीय सवारीसाधनको वैश्विक बिक्री वार्षिक ८९ प्रतिशत थियो । रोचक कुरा त के छ भने समग्र बिक्रीको एकतिहाइ अमेरिकामा मात्रै थियो ।
सन् २०१४ मा अमेरिका चीन, नेदरल्यान्ड, नर्वे र फ्रान्सपछिको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधनको बजार थियो । तर, यो स्थिति स्थिर रहेन । सन् २०१५ मा आइपुग्दा धेरै कुरा फेरबदल भयो । जसकारण चीनको इभी बजार सन् २०१४ को तुलनामा दुई सय ३८ प्रतिशतले बढ्यो र शीर्ष स्थानमा पुग्न सफल भयो । चीनको विकासमा सरकारलाई वर्षौं लागेको थियो । तर, सरकारले विद्युतीकरण सवारीसाधनमा उदार प्रोत्साहन र सब्सिडी दिन थालेपछि त्यसले उत्पादनलाई थप प्रोत्साहन ग¥यो । सन् २०१६ मा चिनियाँ उपभोक्ताले विश्वका अन्य देशले भन्दा धेरै विद्युतीय सवारीसाधन खरिद गरे । त्यसपछि चीनले इभी सेक्टरमा पछाडि फर्केर हेर्नुपरेन । सन् २०२१ मा आइपुग्दा विश्वको आधाभन्दा बढी इभी बिक्री चीनमा हुन थाल्यो ।
कुन देशले कति–कति बिक्री गरे ? : सन् २०२० सम्म वैश्विक इभी बिक्री ३८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । तर, यो बिक्री सन् २०२१ मा भने दोब्बर हुन पुग्यो । यसको जस चीनलाई जान्छ, किनकि उसले २०२१ मा विश्वका सबै देशले भन्दा बढी बिक्री गरेर रेकर्ड राख्यो ।
चीनले सन् २०२१ मा कुल ३५,१९,०५४ एकाइ बिक्री गर्यो, जुन विश्वको कुल ५१ प्रतिशत हुन आउँछ । यस्तै, अमेरिकाले ६,३१,१५२ एकाइ (९.३ प्रतिशत), जर्मनी ६,९५,६५७ एकाइ (१०.२ प्रतिशत) र फ्रान्सले ३,२२,०४३ एकाइ (४.७ प्रतिशत) इभी बिक्री गरे । त्यसैगरी, युके ३,२६,९९० एकाइ (४.८ प्रतिशत), नर्वे १,५३,६९९ एकाइ (२.३ प्रतिशत), इटाली १,४१,६१५ एकाइ (२.१ प्रतिशत), स्विडेन १,३८,७७१ एकाइ (२.० प्रतिशत), दक्षिण कोरिया १,१९,४०२ एकाइ (१.८ प्रतिशत) र नेदरल्यान्ड्सले ९७,२८२ एकाइ (१.४ प्रतिशत) बिक्री गरे । युरोपका बाँकी देशले कुल ४,६९,९३० एकाइ (४.९ प्रतिशत) बिक्री गर्दा विश्वका अन्य देशले भने ३,१३,१२९ एकाइ अर्थात् ४.६ प्रतिशत विद्युतीय सवारीसाधन बिक्री गरेका थिए । विद्युतीय सवारीसाधनमा चीनका करिब तीन सय मोडेल विश्वबजारमा उपलब्ध छन्, जुन अन्य देशको तुलनामा बढी हो । साथै, विश्वका १० ठूला ब्याट्री उत्पादक कम्पनीमध्ये चार ब्याट्रीको उत्पादनकर्ता पनि हो, चीन । त्यसबाहेक चीनमा इभीको मूल्य पारम्परिक कारभन्दा जम्मा १० प्रतिशत मात्रै महँगो छ । तर, यही इभीको मूल्य बाहिरी बजारमा ४५ देखि ५० प्रतिशतसम्म महँगो छ ।
युरोपको ठूलो अटो मार्केट जर्मनीले सन् २०२१ मा सात लाखको हाराहारीमा इभी बेच्यो । यो बिक्री २०२० लाई दाँजेर हेर्दा ७२ प्रतिशतले बढी हो । चीनले युरोपीय भूमिमा पनि इभी फ्याक्ट्री सञ्चालनको घोषणा गरेको छ । जसमा टेस्ला, भोल्कस्वागेन र चाइनिज ब्याट्री गेन्ट क्याट्लले या त त्यहाँ गिगाफ्याक्ट्री सञ्चालन गरिरहेका छन् या सञ्चालनको योजना बनाइरहेका छन् । समग्रमा युरोपमा इभीको बिक्री सन् २०२१ मा ६५ प्रतिशतले बढेको छ ।
उता, अमेरिकाले पनि दुई वर्षको गिरावटपछि पुनः इभी बिक्रीमा सुधार गरी सन् २०२१ मा बिक्री दोब्बर पुर्याएको छ । इभीमा यो वृद्धिलाई २४ प्रतिशतको समर्थन मिल्यो । यस्तै, टेस्ला मोडेलका इभीको उत्पादन पनि बढ्न पुग्यो । जुन पूरै विश्वको आधा बिक्री हो ।
–एजेन्सीहरूको सहयोगमा