विश्व अर्थतन्त्रको नक्सा परिवर्तन हुँदै गर्दा छिमेकी देश भारत ठूलो अर्थतन्त्र भएको पाँचौँ देशका रूपमा उदाएको छ । विश्वकै ठूलो आर्थिक रूपमा सबल राष्ट्र बेलायतलाई पछि पार्दै भारत सो स्थानमा पुग्न सफल भएको हो । नेपालको छिमेकी मुलुक भएको नाताले यसको सबैभन्दा प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रलाई पर्ने अर्थशास्त्रीहरू बताउँछन् ।भारतको केन्द्रीय सांख्यिकी संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलदेखि जुनसम्ममा १३.५ प्रतिशत आर्थिक वृद्धि भारतले गरेको छ । अघिल्लो आर्थिक वर्षमा भारतको अर्थतन्त्र २४ प्रतिशतले संकुचित भएको थियो ।
चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको नेपालले भारतको यो आर्थिक फड्कोबाट लाभ लिन सक्ने संकेत देखिएको अर्थशास्त्री डा. पुष्कर बज्राचार्यको भनाइ छ । हाल भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आठ सय ५४ अर्ब डलर पुगेको छ । जबकि बेलायतको आठ सय १६ अर्ब डलर मात्रै छ । विश्व अर्थतन्त्रमा भारतको हिस्सा ३.५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४.८ र जर्मनीको ४.१ प्रतिशत हिस्सा छ । रोटीबेटीको सम्बन्ध भएको नेपाल–भारतको राजनीतिक सम्बन्धलाई जोडेर एउटा भनाइ चर्चित छ, दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्नुपर्छ । यो भनाइ दुई देशको अर्थतन्त्रमा पनि उत्तिकै सान्दर्भिक हुने गरेको छ । नेपाल र भारतको मुद्रा स्थिर रहेका कारण पनि नेपालको आर्थिक कारोबार, वृद्धि र महँगी दर सबैमा भारतीय प्रभाव देखिने गरेको छ ।
मुद्रा अवमूल्यनको बोझ घट्न सक्छ
भारतीय रुपैयाँ (भारु)मा भएको सामान्य परिवर्तनले पनि नेपाली मुद्रालाई असर गर्छ । अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर बन्दै जाँदा नेपाली मुद्रासमेत अवमूल्यन हुँदै गइरहेको छ । अहिले एक अमेरिकी डलरबराबर नेपाली १२७.९८ रुपैयाँ छ । गत जनवरीमा ११८.७८ रुपैयाँ रहेको डलरको मूल्य अहिले नौ महिनापछि नौ रुपैयाँभन्दा बढी दरले बढिसकेको छ । नेपालले कुल आयातको ६० प्रतिशतभन्दा बढी मूल्यबराबरको वस्तु भारतबाट आयात गर्छ । त्यस्तै, कुल निर्यातको ७७ प्रतिशतभन्दा बढी व्यापार भारतसँगै रहेको छ ।
विश्व अर्थतन्त्रमा बलियो उपस्थिति जनाउन सफल भएको भारतीय मुद्राले त्यहाँको आर्थिक वृद्धिअनुसारको मजबुती बनाउन सकेको छैन । जसले गर्दा नेपाली मुद्रा पनि निरन्तर अवमूल्यन भइरहेको छ । कोभिडमा खुम्चिएको अर्थतन्त्रलाई चाँडै सुधार गरेको भए पनि भारतले अपेक्षित उत्पादन र निर्यात वृद्धि गर्न नसकेका कारण मुद्रा अवमूल्यन भार कम हुन नसकेको अर्थशास्त्री डा. पुष्कर बज्राचार्यको भनाइ छ । उनले भने, ‘भारतले जति आर्थिक वृद्धिको तथ्यांक बाहिर ल्याए पनि उसको मुद्रा त्यहीँअनुसार बलियो बन्न सकेको छैन । भारतको आयात बढेको बढ्यै छ, निर्यात कमजोर नै छ ।’ जसकारण महँगीको प्रत्यक्ष असर नेपालले पनि आयातमार्फत व्यहोर्नुपरेको उनले बताए ।
सिद्धान्ततः भारतीय अर्थतन्त्र बलियो बन्दा त्यसले नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । भारतीय अर्थतन्त्र सबल बन्दै गएपछि भारतमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले नेपालले निर्यातबाट पनि ठूलो लाभ लिन सक्ने उनको भनाइ छ । उनले भने, ‘सैद्धान्तिक रूपमा छिमेकी देशको अर्थतन्त्र बलियो भएपछि नेपालले त्यसको लाभ पाउनुपर्ने हो । यद्यपि, भारतले यस्तो समयमा परिमाणात्मक बन्देज लगाउने र ट्यारिफ ब्यारियर लगाउने गरेको हामीसँग अनुभव छ । त्यसैले व्यावहारिक रूपमा कति लाभ पाउँछ भन्ने हेर्न बाँकी छ ।’
अर्थतन्त्र बलियो भए पनि दक्षिण एसियाली छिमेकी मुलुकहरूलाई भारतले त्यसको लाभ नदिएको अर्थशास्त्री बज्राचार्यले बताए । उनले भने, ‘नेपालले खानेतेलको राम्रो निर्यात गरिरहेको थियो । तर, भारतले यसबीच तेलको भन्सार दर नै घटाइदियो । जसले महँगोमा कच्चा तेल ल्याएर प्रशोधन गर्ने उद्योगीले उचित लाभ पाउने अवस्था नै रहेन । त्यसको असर अहिले आयात र निर्यात दुवैमा परेको छ ।’
रोजगारीको अवसर
भारतमा कति नेपाली श्रमिक छन् भन्ने तथ्यांक सरकारसँग पनि छैन । पाँच लाखभन्दा बढी भारतमा रहेको सरकारी अनुमान छ । तर, सीमावर्ती क्षेत्र, सुदूरपश्चिम र कर्णाली प्रदेशका युवाहरू कामको खोजीमा भारत जाने गरेका छन् । भारतीय अर्थतन्त्र सबल हुनेबितिक्कै त्यहाँका उद्योगधन्दा फस्टाउँछन् र ठूलो जनशक्तिको आवश्यक पर्छ । यसले नेपाली श्रमिकहरूले भारतमा रोजगारी पाउने सम्भावना बढ्ने देखिन्छ ।
पुँजी पलायनको जोखिम
उच्च आर्थिक वृद्धि गरिरहेको भारतको वैदेशिक लगानी प्रवद्र्धन नीतिलाई नेपालले प्रतिरक्षा गर्न उपाय नलगाउने हो भने पुँजी पलायनको जोखिम रहेको अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । भारतको अर्थतन्त्र नेपालको तुलनामा मजबुत हुनेबित्तिकै नेपाली उद्योगधन्दा भारतमा स्थानान्तरण हुन सक्ने सम्भावना उत्तिकै रहेको छ ।
भारतीय लगानी नेपालमा बढ्न सक्छ
नेपालमा भएका विदेशी लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा चीन र भारतको छ । भारतीय अर्थतन्त्र सबल बन्दा त्यहाँको लगानी नेपालमा पनि आउन सक्ने अर्थशास्त्रीहरूको भनाइ छ । उद्योग विभागको तथ्यांकअनुसार नेपालमा भारतले आठ सय २० कम्पनीमार्फत एक खर्बभन्दा बढी लगानी भित्र्याउने प्रतिबद्धता जनाइसकेको छ । त्यसबाहेक जलविद्युत्जस्ता ठूला पूर्वाधारमार्फत पनि नेपालमा लगानी गर्न खोजिरहेको छ । तर प्रतिबद्धताअनुसार लगानी आउन सकिरहेको छैन ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठयता नेपालले ६ अर्बभन्दा बढी मूल्यको बिजुली भारत निर्यात गरेको छ । नेपालमा जलविद्युत् आयोजनाहरू धमाधम बनिरहेका र विद्युत् उत्पादनसमेत बढिरहेको अवस्थामा भारतलाई बिजुली बेच्न सक्नु उपयोगी हुन्छ । भारतको अर्थतन्त्र सुदृढ बन्दै गएपछि त्यहाँका उद्योग–कलकारखानामा विद्युत्को माग बढ्न थाल्छ । त्यसका लागि पनि नेपालले थप विद्युत् व्यापार गरेर मनग्य कमाउने आधार बलियो हुने विज्ञहरूको बुझाइ छ ।