मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०५:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कान्ति बाल अस्पताल निर्देशकको कक्षमा तालाबन्दी 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०५:५४:००

निर्देशक र लेखा अधिकृतको मिलेमतोमा अनियमितता बढ्दै गएको भन्दै कर्मचारीहरू कालोपट्टी बाँधेर आन्दोलनमा 

निर्देशक र लेखा अधिकृतको मिलेमतोमा अनियमितता बढ्दै गएको भन्दै कान्ति बाल अस्पतालका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले २४ बुँदे माग राख्दै अस्पतालमा निर्देशक र लेखा अधिकृतको कार्यालयमा दुई दिनदेखि तालाबन्दी गरेका छन् । 

पाँच वर्षयता अस्पतालमा विकास समिति बोर्ड नहुँदा निर्देशकले मनोमानी गर्र्दै आएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । अस्पतालको विकास समिति तत्काल गठन हुनुपर्ने, भर्तीकेन्द्र बन्द गरिनुपर्ने, तत्काल कर्मचारीको स्तर वृद्धि गर्नुपर्ने, कोटेसन खरिद बन्द गरी टेन्डर प्रक्रियामा लानुपर्ने र अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाई अनियमितता अन्त्य गर्नुपर्ने भन्दै कर्मचारीहरू बुधबारदेखि कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरूले स्वास्थ्य मन्त्रालयलाई समेत अस्पतालको विकास समितिको बोर्ड गठन गरिदिन पटक–पटक आग्रह गरे पनि मन्त्री भवानी खापुङले बेवास्ता गर्दै आएको आन्दोलनरत कर्मचारीहरूको गुनासो छ । कर्मचारीहरूले स्वास्थ्यमन्त्री खापुङलाई तीनबुँदे माग बुझाएका थिए । उनले शनिबारसम्म समस्या समाधान गर्ने वचन दिए पनि पूरा नभएको कर्मचारीहरूको भनाइ छ ।

‘०७३ यता व्यवस्थापन समिति नै गठन भएको छैन । तलबभत्ता, वृत्ति विकास सबै रोकिएको छ । अस्पतालमा तीन सयभन्दा बढी विकास समितिअन्तर्गतका कर्मचारी छन् । निर्देशकमाथिका कर्मचारीले सेवा–सुविधाको वास्ता नगरी आफ्ना मान्छेलाई ल्याएर थुपार्ने ठाउँ बनाएका छन्,’ अस्पतालका कर्मचारी शमशेर नेपालीले भने । खरिद प्रक्रिया, स्वास्थ्य बिमाको रकममा अनियमितता र कोभिड भत्तामा समेत लापरबाही गरिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएको उनको भनाइ छ । आन्दोलनरत कर्मचारीले यसअघि नै आफ्ना मागबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री, सचिवहरूलाई भेटेर जानकारीसमेत गराइसकेका छन् ।

स्वास्थ्य बिमामा काम गर्ने कर्मचारीको भत्ता निर्देशक र लेखा प्रमुखलाई 
अस्पतालको कोभिड भत्ता र स्वास्थ्य बिमाअन्तर्गतको कर्मचारी प्रोत्साहन भत्ता नियमविपरीत निर्देशक र लेखा प्रमुखले लिएको भन्दै कर्मचारी आन्दोलित भएका छन् । स्वास्थ्य बिमाअन्तर्गत काम गर्ने कर्मचारीलाई छुट्याइएको १० प्रतिशत भत्ता निर्देशक र लेखा प्रमुखलगायत अनधिकृत व्यक्तिले लिएको उनीहरूको भनाइ छ ।
स्वास्थ्य बिमा बोर्डबाट प्राप्त गत आर्थिक वर्षको १० प्रतिशत प्रोत्साहन भत्तामा अनियमितता भएको देखिएको छ । कान्ति अस्पतालमा बोर्डबाट भुक्तानी भएको रकमको १० प्रतिशत अर्थात् तीन लाख २४ हजार सात सय रुपैयाँ अनियमितता भएको हो । जसमध्ये २० हजार रुपैयाँ निर्देशक डा. युवानिधि बसौला, २० हजार उपसचिव (लेखा) श्रीराम दाहाललगायत १५ जना कर्मचारीले लिएको पाइएको छ । कान्ति बाल अस्पतालको २० असार ०७५ को निर्णयविपरीत अनधिकृत व्यक्तिले रकम दुरुपयोग गरेको पाइएको हो ।

स्वास्थ्य बिमामा मात्रै नभई कर्मचारीले पाउने सामान्य सेवा–सुविधासमेत कटौती गरेर निर्देशकलगायतले रकम लिनु अस्पताल प्रशासनका लागि सामान्यजस्तै भइसकेको आन्दोलित कर्मचारी बताउँछन् । ‘कोभिड भत्तामा पनि अनियमितता भएको छ । यसको विवरण माग्दा दिएनन् । कोभिडको समयमा डा. युवानिधि बसौला कान्तिमा निर्देशक नियुक्त भएकै थिएनन् । यहाँका कर्मचारीको कोभिड भत्तामा केही ढिलाइ भएको थियो । पछि निर्देशक आफूले समेत कोभिड भत्ता लिएको देखिएको छ,’ आन्दोलनरत कर्मचारी शिव प्याकुरेलले भने ।

स्वास्थ्य साम्रगीलगायत खरिदमा समेत चरम अनियमितता भएको पाइएको छ । डेन्टल चेयर, डेन्टल इक्विपमेन्ट, सवारी मेन्टेनेन्स, बेड मेट्रेसजस्ता ३६ वटा सामग्री खरिदमा अनियमितता भएको देखिएको छ । विभिन्न शीर्षकमा खर्च भएको देखाइए पनि सामान मर्मतसमेत नभएको कर्मचारीले बताएका छन् । ल्याब प्राविधिक शमशेर नेपाली भन्छन्, ‘१२ वटा एसी मेन्टेनेन्स शीर्षकमा तीन लाख ४८ हजारभन्दा बढी खर्च देखाइएको छ । तर, हामीले एसी मर्मत गरेको देखेका छैनौँ । यस्ता कैयौँ शीर्षक छन्, जसमा खर्च मात्रै देखिएको छ, मर्मत भएको छैन ।’