१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १६ बिहीबार
  • Saturday, 28 September, 2024
अनिल यादव काठमाडाैं
२o७९ भदौ १६ बिहीबार १४:३७:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ओजसमा ‘असुर’को मञ्चन सुरु

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १६ बिहीबार १४:३७:oo

ओजस थियटरमा नाटक ‘असुर’को मञ्जन सुरु भएको छ । बुधबार बेलुका खचाखच दर्शकबीच नाटकको घुम्टो खोलियो । विवेक न्यौपाने (घने)ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तिका लागि भोको व्यक्तिको कथा भन्छ । ‘असुर एउटा गाउँको पारिवारिक कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । यिनीहरूको शक्तिसंघर्षकाे बीचमा जो पर्छ, ऊ बर्बाद हुन्छ,’ न्यौपानेले भने ।

‘असुर’को प्रसंग हिन्दूधर्मसँग मिल्न जान्छ । असुर एउटा शक्ति भोको पात्र हो । जो शक्ति प्राप्तिका लागि जे पनि गर्न सक्छ । कहिले देवता जस्तो त कहिले दानवजस्तो रूप लिन सक्छ । के हाम्रो घर समाजमा पनि यस्ता पात्रहरू छन् ? जसको शक्ति लालचले गर्दा राजनीतिक परिवर्तनहरू आममान्छेको दैनिकीमा रूपान्तरण हुन सकेको छैन । यिनै प्रश्न हामीले यो नाटकमार्फत केलाउने प्रयास गरेका छौँ,’ न्यौपानेले प्रस्ट्याए ।

रविन दोङको लेखन रहेको नाटकले पितृसत्तात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरा पनि समेटेको छ । ‘०५८ देखि ०६२–०६३ सम्मको देशको परिवेशलाई असुरले ऐनाले जस्तै देखाउने चेष्टा गरिएको छ । ध्वनि संयोजन, प्रकाश, संगीत संयोजन आदिले नाटकलाई सुनमा सुगन्ध थपेको छ । असली उत्पीडन र दमनविरुद्धको सिद्धान्तमा हिँड्ने व्यक्तिलाई अवसरवादीले ओझेलमा पारेको सन्दर्भलाई प्रस्ट पार्न खोजिएको छ । नाटकले उत्पीडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ । क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो,’ लेखक दोङले भने ।

राजन कार्की र शंकर कार्कीले निर्माण गरेको नाटकमा  सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रह्लाद खरेलले ‘जुद्ध प्रसाद’को चरित्र बाँचेका छन् । नाटकमा केशव सिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्रसिंह कुसवाहा, अस्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंसा गहतराज र शुक्रराज मगरको पनि अभिनय छ ।

भदौ १५ देखि मञ्चन सुरु भएको नाटक असोज ८ सम्म चल्नेछ । काठमाडौं महानगर वडा नम्बर ९ स्थित रातोपुलमा सञ्चालित ओजस थियटरमा बिहीबारबाहेक हरेक दिन साँझ ५ः३० बजे नाटक सुरु हुनेछ । शनिबार भने दिउँसो १ बजे मञ्चन हुनेछ ।

ओजसले यसअघि ‘पिंजडा’, ‘जालो’, र ‘म जोकर बन्छु’ जस्ता नाटक मञ्चन गरिसकेको छ ।