
नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन्।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको उनले बताए।
‘हामीले प्रतिप्रश्न गर्यौँ, संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरूको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाईं लिनुहुन्छ कि लिनुहुन्न भन्यौँ । लिनुपर्छ, लिएकै छु तर बोल्ने क्रममा भनेको मात्रै हुँ भन्नुभयो,’ विश्वकर्माले भने, ‘उहाँले आफ्नो प्रतिरक्षा गर्ने क्रममा व्यक्त सबै भनाइलाई हामीले छानबिन गर्न बाँकी नै छ। उहाँले आफ्नो प्रतिरक्षाका लागि केही कुराहरू सीमाभन्दा बाहिर गएर बोल्नुभयो। न्यायालयभित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरूको टाउकोमा सबै दोष थुपार्नु नै सीमाबाहिर गएर बोलेको हो।’