आजको दिनमा विद्युत् महत्वपूर्ण वस्तु भए पनि संसारमा यसलाई सामान्य प्रविधिको रूपमा लिइन्छ । तर, आजभन्दा ११० वर्षअघि विद्युत् संसारमै नौलो प्रविधि थियो । र, सोही वेलामै नेपालले ५०० किलोवाट क्षमताको जलविद्युत् आयोजना बनाएको थियो, त्यो हो– फर्पिङ लघु जलविद्युत् आयोजना ।
काठमाडौंदेखि करिब १२ किलोमिटर दक्षिण–पश्चिम कोणमा रहेको उक्त आयोजना १९६८ मा बनेको हो । यसको निर्माण भने वि.सं. १९६४ मा सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर वि.सं. १९६४ मा बेलायत भ्रमण गरेर फर्किएपछि यो आयोजना निर्माण गर्ने काम अघि बढाएका थिए । उनले उक्त आयोजनाको निमित्त नेपाली सेनाका इन्जिनियर कर्नेल किशोरसिंह राणालाई योजना बनाउन भनेका थिए ।
साथै, बेलायतको जनरल इलेक्ट्रिक कम्पनीबाट लिन्जा नाम गरेका एक इन्जिनियर पनि ल्याइएको थियो । तत्कालीन समयमा उक्त आयोजना बनाउन रु. ७ लाख १३ हजार खर्च भएको थियो । नेपालले इंग्ल्यान्ड सरकारको आर्थिक सहयोगमा उक्त आयोजना बनाएको थियो ।
यसरी बनेको नेपालको पहिलो जलविद्युत् आयोजना तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले उद्घाटन गरेका थिए । राजा शाहले वि.सं. १९६८ जेठ ९ गते साँझ ६:३० बजे टुँडिखेलबाट बत्ती बालेर उक्त आयोजनाको उद्घाटन गरेको इतिहास पाइन्छ । चन्द्रशमशेरले बनाएको हुनाले उक्त आयोजनाबाट उत्पादित विद्युत्लाई श्री चन्द्रज्योति प्रकाश भनिन्थ्यो ।
उक्त आयोजनाको विद्युत् ११ केभीको वितरण प्रणालीमार्फत काठमाडौंमा ल्याइन्थ्यो । टुँडिखेलमा सबस्टेसन बनाएर उक्त विद्युत् काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तत्कालीन समयमा काठमाडौंमा बस्ने राणा र हुनेखाने वर्गका परिवारले मात्र उक्त विद्युत् प्रयोग गर्न पाएका थिए ।
उक्त आयोजना सञ्चालन गर्न बिजुली अड्डा नामको एक संस्था स्थापना गरिएको थियो, जुन अहिले नेपाल विद्युत् प्राधिकरणको नाममा स्थापित छ । यस आयोजनाबाट झन्डै ६० वर्षसम्म विद्युत् उत्पादन गरियो । तर, पछि काठमाडौंमा खानेपानीको अभाव भएपछि २०३८ मा उक्त आयोजना बन्द गरेर फर्पिङको पानी काठमाडौं ल्याइएको थियो ।
तथ्यांकमा फर्पिङ आयोजना