१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Wednesday, 23 October, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ भदौ १३ सोमबार o६:४७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगुको संक्रमण तीव्र

सामान्यतया भदौदेखि देखिने डेंगु यो वर्ष सुरुवातमै दुई हजार पाँच सय ३९ मा देखियो

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार o६:४७:oo

१० जिल्ला बढी प्रभावित, उपत्यकामा १,४१० जना संक्रमित

डेंगुको संक्रमण यो वर्ष सुरुवाती समयमै बढेको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढेपछि अस्पतालका इमर्जेन्सी वार्ड भरिन थालेका छन् । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म एक हजार चार सय १० जनामा संक्रमण देखिइसकेको छ । 

लामखुट्टेको टोकाइबाट फैलिने डेंगु सामान्यतया भदौबाट देखिने भए पनि यो वर्ष सुरुवाती समयमै अत्यधिक देखिएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म देशभर दुई हजार पाँच सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा सन् २००४ देखि पुष्टि भएको डेंगु सन् २०१९ मा आएर अत्यधिक बढेको थियो । पछिल्लो दुई वर्षमा संक्रमण नियन्त्रणमा रहे पनि यो वर्ष अत्यधिक बढिरहेकाले सजग रहनुपर्ने चिकित्सकको सुझाव छ ।

१० जिल्ला बढी प्रभावित 
देशभरि नै डेंगुको संक्रमण देखिए पनि बागमती, लुम्बिनी र प्रदेश १ का १० जिल्लामा अधिक छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै ललितपुरमा आठ सय ५८, रुपन्देहीमा तीन सय ६३ र काठमाडौंमा पाँच सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, भक्तपुरमा २०, संखुवासभामा ५१, अर्घाखाँचीमा ५० र गुल्मीमा ४९ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । 

महाशाखाका कीटजन्य रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु नियन्त्रणका लागि अति प्रभावित एक सय ४९ वटा स्थानीय तहमा बजेट छुट्याइएको छ । ‘लामखुट्टे नियन्त्रणमा नल्याउँदासम्म डेंगु नियन्त्रणमा ल्याउन सकिँदैन । यो वर्ष डेंगु संक्रमण अत्यधिक देखिएकाले नियन्त्रणका लागि बजेट छुट्याइएको छ,’ उनले भने । 

पछिल्ला चार दिनयता टेकुमा दैनिक सयजना डेंगुका बिरामी 
पछिल्लो दुई महिनायता उपत्यकामा मात्रै एक हजार चार सय १० जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ । ललितपुरमा आठ सय ५८, काठमाडौंमा पाँच सय ३२ र भक्तपुरमा २० जनामा संक्रमित भइसकेका छन् ।यस वर्ष ललितपुरमा ९ असार, काठमाडौंमा २३ असार र भक्तपुरमा १ भदौदेखि संक्रमण देखिएको थियो । पछिल्लो समय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, टेकु अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतमा डेंगुसँग मिल्दाजुल्दा लक्षणसहित आउने बिरामीको संख्या बढेको छ । 

टेकु अस्पतालको इमर्जेन्सी वार्डमा शनिबार ८५, शुक्रबार ६८, बिहीबार ६५ र बुधबार ५९ जना उपचारका लागि पुगेका छन् । इमर्जेन्सीका सबै बेड भरिएपछि आइतबार कुर्सीमा राखेर बिरामीको उपचार गरिएको थियो । 

टेकुमा मात्रै दैनिक सय जना डेंगुको आशंकासहित परिक्षणका लागि बिरामी आउने गरेका छन् । जसमध्ये करिब ८० प्रतिशतमा डेंगु पुष्टि भइरहेको अस्पतालले जनाएको छ । हाल गम्भीर लक्षणसहितका २२ जना अस्पतालमा भर्ना छन् । जसमध्ये चारजना आइसियूमा छन् ।काठमाडौंको टेकु, त्रिपुरेश्वर, वसन्तपुर, शंखमूल, नयाँ बानेश्वरलगायतका क्षेत्रबाट आउने बिरामी बढी छन् । ‘डेंगु अप्रत्यासित रूपमा बढिरहेको छ,’ शुक्रराजका मेडिकल प्रमुख डा. विमल चालिसेले भने, ‘पछिल्लो चार दिनमा सोचेभन्दा बढी बिरामी आइरहेका छन्, यससँग सम्बन्धित लक्षण बोकेर आउनेको संख्या पनि धेरै छ ।’ उनले डेंगुबाट जोगिन आफैँले ख्याल गर्नुपर्ने र विशेषगरी घरवरपर पानी जम्न नदिन विशेष ख्याल राख्नुपर्ने बताए । टेकुको इमर्जेन्सी वार्डमा शनिबार ८५, शुक्रबार ६८, बिहीबार ६५ र बुधबार ५९ जना उपचारका लागि पुगेका छन् । आइतबार इमर्जेन्सीका बेड भरिएपछि कुर्सीमा राखेर केही बिरामीको उपचार गरिएको थियो । 

ललितपुरमा पनि संक्रमणदर अत्यधिक देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १२ बिरामीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कतिपय इमर्जेन्सीमा आउनेहरू डेंगु वा कोभिड लागे–नलागेको पुष्टि गरेर फर्कने गरेका छन् । ‘उपत्यकाभित्र ललितपुरमा डेंगुका बिरामी धेरै हुनुको कारण हामीले राम्ररी परीक्षण गरेका छौँ भन्ने पनि हो, त्यस्तै लक्षण देखिएका प्रायः बिरामी अस्पताल आइरहेका छन्,’ स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक सतिश विष्टले भने, ‘पहुँचमा नआएका बिरामीको संख्या अझ धेरै पनि हुन सक्छ ।’

भक्तपुरमा भने हालसम्म करिब २० जनामा डेंगु संक्रमण भएको छ । भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक रत्नसुन्दर लासिवाले संक्रमण बढ्ने डरले नियमित एन्टिजेनमार्फत परीक्षण भइरहेको र जनचेतनामूलक कार्यक्रम सुरु गरिएको बताए । ‘हामीकहाँ थोरैलाई संक्रमण देखिएको छ, तर संक्रमण बढ्ने सक्ने डरले हामीले नियमित परीक्षण र जनचेतनाका कार्यक्रम गरिरहेका छौँ,’ उनले भने । 

चिकित्सकको सुझाव 
 डा. विमल चालिसे, टेकु अस्पताल 

डेंगु संक्रमण लामखुट्टको टोकाइले एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले भिडभाड रहने स्थानमा छिटो फैलिन्छ । लामखुट्टेमा भाइरस पुस्तान्तरण सजिलै हुने भएकाले पनि मानिसमा संक्रमण बढ्ने गरेको छ । निरन्तर बान्ता हुनु, पेट धेरै दुख्नु, रक्तस्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स र सेता रक्तकोषको संख्या तीव्र गतिमा घट्नुले जटिलता निम्त्याउने गर्छ । 

यसबाहेक आधा प्रतिशतभन्दा बढीमा पखालाको समस्या पनि देखिन थालेको छ । अधिकांशमा संक्रमण सजिलै निको हुने भए तापनि यस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिन आवश्यक छ । घरमा राखिएका गमला वा भाँडाकुँडा, बोतल, बिर्को, टायर, सानोतिना खाल्डाखुल्डीजस्ता स्थानमा लामखुट्टे लामो समयसम्म बस्न सक्ने भएकाले घरवरवर सफा राख्न आवश्यक छ । 

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने यो संक्रमण डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ सेरोटाइपका कारण हुने गर्छ । नेपालमा सेरोटाइप १ र २ फैलिने गरेको पाइए पनि यो वर्ष फैलिइरहेको लामखुट्टेको सेरोटाइप पुष्टि भइसकेको छैन । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ भने सफा पानीमा फुल पार्छ ।