केही दिनअघि फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन एउटा निजी पार्टीमा उनकी साथीहरूसँग मस्ती गर्दै गरेको भिडियो सार्वजनिक भयो । भिडियोमा ३६ वर्षीया मरिन नाच्दै घुँडा टेकेर हात, टाउको पछाडि फैलाई साथीहरूसँग अंगालोमा बेरिएकी देखिन्छिन् । यति मात्रै होइन, सोही पार्टीमा खिचिएको र मोडल सविना सार्खाले पोस्ट गरेको एउटा तस्बिरमा दुई महिला ‘टपलेस’ देखिन्छन् । यो प्रकरणपछि फिनल्यान्डको राजनीति तरंगित भएको छ ।
मध्य–वामपन्थी विचारधारा बोक्ने सोसल डेमोक्य्राटिक पार्टीकी नेतृ मरिन सहभागी पार्टीलाई लिएर विभिन्न प्रश्न उठे । के पार्टीमा लागुऔषध प्रयोग भएको थियो ? मरिन काममै रहँदा पार्टीमा गएकी थिइन् या छुट्टीमा ? पार्टीमा झुमिरहँदा प्रधानमन्त्री मरिन कुनै आपत्कालको सामना गर्न सक्ने गरी होसमा थिइन् ? उनीमाथि अनेकौँ प्रश्न खनिइरहेका छन् । देशकी प्रधानमन्त्रीको उन्मुक्त नाचले फिनिस राजनीतिज्ञदेखि जनता उनको पक्ष र विपक्षमा विभाजित भए । एकथरीले उनको खुब आलोचना गरे भने केहीले उनको निजी जीवन र खुलापनको समर्थन पनि गरेका छन् ।
मरिनले पार्टी भर्खरैको भएको बताएकी छिन् । तर, त्यो पार्टी कहाँ र कहिले आयोजना गरिएको थियो भनेर चाहिँ उनले अहिलेसम्म खुलाएकी छैनन् । पार्टीमा रक्सी सेवन गरेर उन्मुक्त भई झुमेको स्विकार्दै उनले माफी पनि मागिन् । तर, पार्टीमा लागुऔषधको उपयोग भएको विषय भने उनले खण्डन गरिरहिन् । यससम्बन्धी अड्कलबाजी अन्त्य गर्न उनले ड्रग टेस्ट दिइन्, जसको रिपोर्ट नेगेटिभ आइसकेको छ । यहीबीच, उनको पार्टीमा सहभागी दुई महिलाको ‘टपलेस’ तस्बिर बाहिरियो । यसमा पनि उनले तस्बिर ‘अमर्यादित’ नै भएको टिप्पणी गर्दै यही प्रकरणमा दोस्रोपटक माफी मागिन् । प्रधानमन्त्रीले उनका गतिविधिका लागि माफी मागिरहँदा देशबासी भने सोही गतिविधिलाई लिएर बहसमा उत्रिएका छन् ।
को हुन् मरिन ?
सान्ना मरिन् सन् २०१९ मा ३४ वर्षको उमेरमा फिनल्यान्डको इतिहासकी सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् । सन् १९८५ मा जन्मिएकी मरिन सानै छँदा उनका अभिभावक छुट्टिएका थिए । उनलाई उनकी आमा र आमाको महिला पार्टनरले हुर्काएका थिए । प्रशासनिक विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी मरिनले २० वर्षको उमेरमा सोसल डेमोक्रेटिक पार्टीको युवा संगठन सोसल डेमोक्रेटिक युथबाट राजनीति सुरु गरेकी थिइन् । सान्नाको राजनीतिक करियर छिटोछिटो उकालो लागेको देखिन्छ ।
३६ वर्षीया प्रधानमन्त्री सान्ना मरिन एउटा डान्स पार्टीमा झुमिरहेको दृश्य सार्वजनिक भएपछि एक सातादेखि फिनल्यान्डमा प्रधानमन्त्रीले के गर्नुहुन्छ के हुँदैन भनेर बहस चलिरहेको छ
सन् २००६ मा पार्टीको युवा संगठन प्रवेश गरेकी सान्ना चार वर्षपछि त्यसको उपाध्यक्ष बनिन् । सन् २०१४ मा उनी मूल पार्टी सोसल डेमोक्रेटिकको दोस्रो सहअध्याक्ष बनिन् । सन् २०१५ मा फिनल्यान्डको संसद्मा निर्वाचित मरिन् चार वर्षपछि एसडिपीको अध्यक्ष चुनिएकी थिइन् । उनी पार्टी अध्यक्ष रहे पनि पूर्वअध्यक्ष एन्टी रिने प्रधानमन्त्री थिए । तर, रिने पोस्टल स्ट्राइक काण्डमा फसेपछि पदबाट राजीनामा दिन बाध्य भए अनि सन् २०१९ डिसेम्बरमा मरिन् फिनल्यान्डको इतिहासकै कान्छी प्रधानमन्त्रीमा चुनिइन् । उनको सरकारले पाँचदलीय गठबन्धन सरकारमा रहेका १९ मन्त्रीमध्ये १२ महिला भएकाले पनि चर्चा पाएको थियो ।
विभाजित मत
प्रधानमन्त्रीको डान्स पार्टीलाई लिएर फिनिस मत विभाजित छ । मार्केटिङ क्षेत्रमा काम गर्ने जोसुवा फेगरहोम यो घटनाले फिनल्यान्डको प्रतिष्ठा र फिनिस राजनीतिज्ञप्रतिको जनविश्वासमा कुठाराघात गरेको ठान्छन् । ‘हाम्रा राजनीतिज्ञले सम्मानित व्यवहार प्रदर्शन गर्नुपर्छ र जनविश्वासको कदर पनि गर्नुपर्छ । त्यसैले, मलाई यो उपयुक्त लागेन,’ उनी भन्छन् ।
आफ्नो निजी जीवन पनि भएको बताउँदै डान्स पार्टीबारे मरिनले आफ्नो बचाउ गरेकी छिन् । ‘मलाई लाग्छ सन् २०२२ मा नीति–निर्माता नाचेको, गाएको र पार्टीमा सहभागी भएको विषयलाई स्विकारिन्छ,’ उनी थप्छिन्, ‘यसबारे मतदाताले निर्णय गर्ने नै छन् ।’ फिनल्यान्डको सरकार प्रमुख भए पनि मरिनले आफू पनि फुर्सदको समयमा उनको उमेरका आममानिसजस्तै साथीभाइ एवं परिवारसँग रमाइलो गर्ने बताइन् ।
हेलसिन्कीमा अध्यनरत असन्तु मिन्टु किलियानेन रमाउने अधिकार सबैलाई भएको भन्दै मरिनको समर्थन गर्छिन् । ‘यो सामान्य पार्टी हो,’ किलियानेन भन्छिन्, ‘उनले पनि आफ्नो जीवनमा रमाइलो गर्नुपर्छ । तर, पदको मर्यादा भने कायम राख्नुपर्छ ।’ प्रधानमन्त्री मरिनको आलोचनालाई उनका केही समर्थकले चाहिँ ‘सेक्सिजम’बाट प्रेरित भएको आरोप लगाएका छन् ।
सन् २०२० मा भोग म्यागेजिनलाई दिएको एक अन्तर्वार्तामा मरिन आफैँले पनि युवा र महिलाको विषय धेरै सोधिने भनेर दिग्दारी व्यक्त गरेकी थिइन् । व्यैयक्तिक स्वतन्त्रताको पक्षधर समतावादी नर्डिक मुलुकमा पनि आफ्नो लैंगिकता र उमेरलाई लिएर बढी नै चर्चा भएको हो भन्ने मरिनलाई लाग्छ । तर, फिनल्यान्डस्थित तुर्कु विश्वविद्यालयमा लैंगिक विषय प्राध्यापन गर्ने अनु कोइभोनेने भिडियोलाई लिएर उठेको चर्चामा लैंगिकता मूल कारक नभएको टिप्पणी गर्छिन् । साइबर सुरक्षाविद् तथा फिनल्यान्डको कन्जर्भेटिभ राष्ट्रिय गठबन्धन पार्टीका क्षेत्रीय नेता जार्नो लिम्नेल प्रधानमन्त्रीको सो पार्टी सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको बताउँछन् । यसले सुरक्षा चासोलाई बेवास्ता गरेको उनको टिप्पणी छ । ‘सूचना विभिन्न स्रोतबाट संकलन गरिन्छ । सूचनाको सामान्य जानकारी पनि विदेशी शक्तिका लागि महŒवपूर्ण हुन सक्छ,’ लिम्नेलको प्रतिक्रिया छ ।
मरिनका केही विवादास्पद कार्य
मरिनको पार्टी अन्तर्राष्ट्रिय समाचारहरूको शीर्षक बनेको यो पहिलो घटना भने होइन । गएको डिसेम्बरमा कोभिड–१९ संक्रमण उच्च रहेकै समयमा मरिन बिहान ४ बजे क्लबबाट बाहिरिएको देखिएपछि उनले सार्वजनिक रूपमा माफी मागेकी थिइन् । यद्यपि, कोभिड परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ देखिएको थियो । सरकार प्रमुखका रूपमा औपचारिक सभा–समारोहमा सरिक हुँदा औपचारिक पोसाक नलगाएकोमा पनि उनको आलोचना हुने गरेको छ । तर, थुप्रै फिनल्यान्डवासी उनको आधुनिक दृष्टिकोणमा गर्व पनि गर्छन् । महामारीको संकटसँग प्रभाकारी रूपले जुझेको, नेटो सदस्यताका लागि पहल गरेको, महिला बहुल मन्त्रिपरिषद् निर्माण गरेको जस्ता थुप्रै कारणले उनी चर्चित छिन् ।