मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Sunday, 05 January, 2025
जसिन्डा आर्डेन
२o७९ भदौ १० शुक्रबार o८:४४:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निःशस्त्रीकरण रोज्ने कि आणविक विपत्ति ?

हिरोसिमा र नागासाकीमा खसालिएका दुई आणविक बम विश्वमा अहिले शस्त्रागारमा रहेका करिब १३ हजार आणविक हतियारको भयावहलाई प्रदर्शित गर्न काफी छन्

Read Time : > 3 मिनेट
जसिन्डा आर्डेन
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार o८:४४:oo

विश्व रसातलमा जानबाट अझै पनि रोकिन सक्छ । आणविक शस्त्र सम्पन्न अमेरिका, रसिया, चीन, फ्रान्स र बेलायतले विश्वलाई रसातलमा जानबाट रोक्ने कार्यको नेतृत्व गर्नैपर्छ । सन् १९४५ मा आणविक अस्त्र पहिलो र केवल एकपटक मात्र प्रयोग भएको थियो । दुई आणविक बमले नै नागासाकी र हिरोसिमामा तीन लाख ५५ हजार मानिस मारिएका थिए । यो घटना वर्तमान शस्त्रागारमा रहेका करिब १३ हजार आणविक हतियारको संवेदनशीलतालाई प्रदर्शित गर्न काफी छ ।

हुन त वैश्विकस्तरमा मौज्दात १३ हजार आणविक अस्त्रहरूले थुप्रै अर्थमा यसमा नियन्त्रणको प्रगतिलाई नै प्रतिबिम्बित गर्छन्, किनकि शीतयुद्धको अवधिमा परिचालित ६३ हजारभन्दा धेरै आणविक अस्त्रहरूको तुलनामा त यो एकचौथाइभन्दा पनि कम हो ।सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले संयुक्त राष्ट्रसंघमा जे भनेका थिए, त्यो अहिले पनि उत्तिकै जरुरी छ ः ‘यी हतियारले हामीलाई समाप्त पार्नुअघि नै हामीले यिनलाई समाप्त पार्नुपर्छ ।’

आणविक अप्रसार सन्धि सुरु भएको पचास वर्षभन्दा धेरै भइसक्यो । त्यसयता यो सन्धिले आणविक हतियारले हामीलाई समाप्त बनाउन सक्ने जोखिम घटाउन महत्वपूर्ण भूमिका खेलेको छ । आणविक हतियारको संख्या झन्डै ८० प्रतिशत घटाउनुका अलवा यो सन्धिले यो प्राप्त गर्ने मुलुकको संख्यामा ढक्कन लगाउन पनि योगदान गरेको छ । अन्य कुनै हतियारलाई सीमित गर्ने निःशस्त्रीकरण सम्झौतालाई भन्दा यो सन्धिलाई धेरै मुलुकले अनुमोदन गरेका छन् । अहिले न्युयोर्कमा यसलाई अझ अगाडि बढाउने सुअवसर छ । र, हामीले यसो गर्नैपर्छ ।

अहिले हाम्रो विश्व शीतयुद्धपछि आणविक विपत्तिको सबैभन्दा ठूलो जोखिममा छ । महाशक्तिबीचको बढ्दो तनाव अनि (आणविक) हतियार नियन्त्रणमा प्रगति ठप्पप्रायः बनेको दुई दशकले यी हतियारको जोखिमलाई वास्तविकताको नजिक पुर्‍याएको छ । अहिले एक सय ९१ मुलुक संयुक्त राष्ट्रसंघमा आणविक अप्रसार सन्धिलाई नवीकरण गर्न बैठकमा छन् र यस सम्बन्धमा वर्तालाप भइरहेका छन् । यी वार्ताले आणविक निःशस्त्रीकरणमा नयाँ जीवन भर्ने अवसर प्रदान गर्छन्, जुन यो समय विश्वलाई पहिलेभन्दा बढी आवश्यक छ ।आणविक विपत्ति कुनै अमूर्त खतरा होइन, बल्कि एउटा वास्तविक खत्तरा हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएअनुसार आवश्यक परे युद्धमा आणविक हतियार परिचालित हुन सक्छन् । बढ्दो तनावको समयमा गलत अनुमान वा कुनै त्रुटिले पनि आणविक हतियार परिचालित हुन सक्ने वास्तविक खतरा रहन्छ ।

न्युजिल्यान्डले आणविक शक्ति सम्पन्न राष्ट्रहरू, अमेरिका, रुस, चीन, फ्रान्स र बेलायतलाई आणविक विपत्तिको रसातलमा खस्नबाट पछि हट्न आग्रह गरिरहेको छ । यी देशका नेतृत्वले बहुपक्षीय आणविक निःशस्त्रीकरणको नयाँ खाकामा कुराकानी गर्ने प्रतिबद्धता जाहेर गरे यो कदम उठाउन सक्छन् । आणविक विस्फोटन भएको खण्डमा वायुमण्डलमा पुगेका विकिरणजन्य आणविक कणहरू बिस्तारै थेग्रिँदै  खस्ने स्थलमा विश्वमा न्युजिल्यान्ड सबैभन्दा जोखिमयुक्त भौगोलिक अवस्थितिमा छ । यसकारण पनि न्युजिल्यान्ड यो मुद्दालाई धेरै गम्भीर रूपमा लिन्छ ।

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले संयुक्त राष्ट्रसंघमा जे भनेका थिए, त्यो अहिले पनि उत्तिकै सान्दर्भिक छ ः ‘यी हतियारले हामीलाई समाप्त पार्नुअघि नै हामीले यिनलाई समाप्त पार्नुपर्छ ।’

हामी प्रशान्त क्षेत्रीय राष्ट्र हौँ । हाम्रो यो क्षेत्रले दशकौँको आणविक परीक्षणको दाग बोकेको छ । त्यो दाग हाम्रो क्षेत्रका जल, थल र मानिस सबैमा व्याप्त छ । त्यसैले, ३५ वर्षदेखि न्युजिल्यान्डले गर्वका साथ आणविक संरचनारहित अनि आणविक हतियारमुक्त विश्वको वकालत अन्तराष्ट्रियस्तरमा गर्दै आएको छ ।तर, यसको मतलब यो पनि होइन कि हामी वास्तविक संसारको गतिशीलता बुझ्ने सवालमा आलाकाँचा छौँ । न त हाम्रो भौगोलिक अवस्थितिको अर्थ अरूसँग नभएको नैतिक अडानको सुविधा हामीसँग छ भन्ने हो । वास्तवमा आणविक हतियारहरूले कसैलाई सुरक्षित बनाउँदैनन् र अब हाम्रो यो विश्वलाई यसको कुनै आवश्यकता छैन भन्ने न्युजिल्यान्डको सन्देशले अधिकांश राष्ट्रहरूको दृष्टिकोणलाई नै प्रतिबिम्बित गर्छ । हामीले फरक दृष्टिकोण सम्भव छ भनेर विश्वास गर्न मात्र आवश्यक छ । 

सुरक्षित भविष्यको मार्ग कोर्नका लागि हामीले पछाडि फर्केर हाम्रो इतिहासलाई हेर्नुपर्ने हुन्छ । हिरोसिमा र नागासाकीको पाठ अनि प्रशान्त क्षेत्रमा भए, गरिएका आणविक परीक्षणबाट पाएका पाठले आणविक हतियार तैनाथीको औचित्य कहिल्यै पुष्टि हुन सक्दैन भन्ने कुराकै स्मरण गराउँछन् ।बहुपक्षीय आणविक निःशस्त्रीकरणमा सहमतिका चुनौती असाध्यै ठूला देखिन सक्छन् । तर, यो कामलाई अनिश्चितकालका लागि रोक्न पनि सकिँदैन । अहिले नै पनि यो सन्धि दबाबमा छ । यसलाई आणविक शक्ति सम्पन्न मुलुकबीचको तनावलगायत भूराजनीतिक विकासक्रमले प्रभावित गरेको छ । यो सन्धिअन्तर्गत आणविक हतियार सम्पन्न राष्ट्रहरूले गरेका निःशस्त्रीकरणका प्रतिबद्धता उनीहरूले पूर्ण रूपले कार्यान्वयन गर्ने मनशायले गरेका थिएनन् भन्ने शंका र सन्देह बढ्दो छ । यसबीच, यी राष्ट्र भने विश्वव्यापी सुरक्षा वातावरणका कारण निःशस्त्रीकरणको वाचा पूरा गर्न एकदमै कठिन भइरहेको तर्क गरिरहेका छन् ।

यदि यसैले निरन्तरता पाउने हो भने यो सन्धिप्रति मुलुकहरूको विश्वास गुम्ने वास्तविक खतरा रहन्छ । यसो हुँदा आणविक निःशस्त्रीकरणको प्रगतिमा र आणविक हतियारका कच्चा पदार्थहरूको प्रसार नियन्त्रण दुवैमा यो सन्धिले खेल्न सक्ने भूमिका कमजोर हुनेछ । यो हप्ता न्युयोर्कमा धेरै कुराको निक्र्योल हुनेछ । कसै–कसैले भन्न सक्छन्, वर्तमान विश्व परिवेशमा नयाँ आणविक हतिरयारको होडबाजी अपरिहार्य छ । तर, यो तर्कले हाम्रो आणविक निःशस्त्रीकरण र अप्रसारका प्रयासलाई अझ कमजोर बनाउनेछ ।

असुरक्षा र अस्थिरताले हामीलाई विश्वलाई सुरक्षित र स्थिर बनाउन मद्दत गर्ने कदम चाल्नबाट रोक्छ भन्ने तर्कलाई यो सन्धिको इतिहासले नै खण्डन गर्छ । त्यसैले म तर्कलाई स्वीकार गर्न सक्दिनँ । निःशस्त्रीकरण सम्भव मात्रै होइन, अत्यावश्यक पनि छ । फरक मार्ग चाहिएको छ र त्यो मार्ग छ पनि । एउटा मार्ग हो, नेतृत्व (यसलाई कसैले तत्काल नेतृत्व गर्नुपर्‍यो) गर्ने, विश्व आणविक विपत्तिको डिलमा पुगेको स्वीकार गर्ने, विश्वलाई आणविक हतिरयारबाट मुक्त बनाउनेतर्फ निरन्तर प्रगति गर्ने ।