१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गुरुराज घिमिरे
२०७९ भदौ ९ बिहीबार ०६:४३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कसरी तंग्रिएलान् लोकतन्त्र र कांग्रेस ?

हामीलाई निर्वाचन नजिती भएको छैन । तर, पार्टीको कार्यशैली र मूल्यांकन प्रणाली सामन्ती र मनोगत छ । यस्तोमा कसरी जितिएला ?

Read Time : > 4 मिनेट
गुरुराज घिमिरे
२०७९ भदौ ९ बिहीबार ०६:४३:००

सामवेदले भनेको छ– जागरुक व्यक्तिले मात्र समाजको रक्षा गर्न सक्छ । यसमा दुईमत छैन । परिवार समाजको महत्वपूर्ण र राष्ट्रको सबभन्दा सानो एकाइ हो । घरमुलीको कुशल नेतृत्व र व्यवस्थापनले नै कुनै पनि परिवार समृद्ध र प्रतिष्ठित बन्ने हो र समाजका सबै एकाइ समृद्ध हुनु भनेको राष्ट्र समृद्ध हुनु हो । यसको अर्थ पारिवारिक एकाइका मुलीहरूले कुशल नेतृत्व प्रदान गरिदिँदैमा राष्ट्र स्वतः समृद्ध बन्छ भन्ने चाहिँ होइन । राष्ट्रमुलीको नेतृत्व कुशलताले चाहिँ राष्ट्रिय समृद्धि प्राप्त हुन्छ भन्न खोजेको हो । समाज र परिवार राष्ट्रका सहायक पक्ष मात्र हुन् ।

मानवसभ्यताको विकासक्रममा समय र नागरिक आवश्यकताले गठन गरेका असंख्य समाजको एकीकृत र विस्तृत स्वरूप नै राष्ट्र हो । यसको उदयको प्रमुख उद्देश्य नै नागरिक भलाइ हो । तत्पश्चात् हजारौँ वर्ष व्यतीत भए र राष्ट्रहरू बन्ने र विघटित हुने क्रम–उपक्रम पनि चल्दै आयो । बलिया र समृद्ध राष्ट्रले गरिब र अविकसित राष्ट्रलाई आफ्नो अधीनमा पार्दै लगे । राष्ट्रको आकार, स्वरूप र संख्यामा फेरबदल हुँदै आयो ।

दुनियाँमा ठुल्ठूला लडाइँ भए र हिंसात्मक युद्धमा परेर करोडौँ मानिसले जीवन गुमाए । आआफ्नै राष्ट्रका निरंकुश शासकको कोपभाजनमा परेरसमेत करोडौँ मानिसको जीवन गयो । इतिहासतर्फ दृष्टिपात गर्ने हो भने बडो कहालीलाग्दो चित्र देखिन्छ । तथापि मानवसभ्यता सबै किसिमका उतारचढाव झेल्दै आजसम्म आइपुगेको छ ।  तत्कालीन समाजका जागरुक, कुशल, सुविचरित, साहसी र मिहिनेती नेतृत्वले छोटोे समयमै राष्ट्रमा अभूतपूर्व प्रगतिको लहर ल्याएको छ । र, जनतालाई सुख दिएको छ, दुनियाँमा प्रतिष्ठा प्राप्त गरेको छ । यी सबैको केन्द्रमा जागरुकता छ अर्थात् ‘होस’ । बेहोसीमा भएका कामले प्रतिफल र उत्पादकत्व दिँदैन । नेपालका राजनीतिक दलका नेताहरू बहोसीमा काम गरिरहेका छन् भन्ने 
जागरुक मानिसको आरोप छ, जसले हामीलाई गन्तव्यमा पु¥याउँदैन । 

 मूल्यांकन 
यतिवेला नेपाली कांग्रेससामु चुनौतीको पहाड खडा छ । यसलाई छिचोल्दै अघि बढ्न त्यति सजिलो छैन । मूलतः कांग्रेसले तत्काल पार लगाउनुपर्ने केही महŒवपूर्ण जिम्मेवारी छन् । तीमध्ये सन्निकट रहेको संसदीय निर्वाचन मुख्य हो । अरू थप जिम्मेवारीका सन्दर्भमा अर्को परिच्छेदमा चर्चा गरौँला । र, यी सबै जिम्मेवारी पूरा गर्ने सामथ्र्यको प्रमुख आधार भनेको पार्टीको आन्तरिक जीवनको सुदृढ व्यवस्थापन हो । केन्द्रदेखि टोलसम्मका सांगठनिक अवयवको ‘रुटिन’ गतिविधि अर्थात् योजनाबद्ध क्रियाशीलता हो । अहिले कांग्रेसका सबै तहका संरचना सन्तोषजनक रूपमा परिचालित छैनन् । पार्टीका अधिकांश सदस्यमा सांगठनिक जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने दायित्वबोध पाइँदैन र जाँगर पनि देखिँदैन । यसको कारण पार्टीभित्र मौलाएको चरम पक्षपात हो ।

पार्टीका लागि जतिसुकै मरिमेट्दा पनि एकथरी साथीहरूले कुनै अवसर पाउँदैनन् भने अर्काथरी सदस्य, जसलाई काम र मिहिनेतमा खासै अभिरुचि नै छैन । तर, तिनै व्यक्तिले बारम्बार अवसर पाइरहेका हुन्छन् । यस्तो अवस्थाले समय क्रममा पार्टीको सांगठनिक जीवनलाई कमजोर बनाउँदै लैजान्छ । र अन्ततः पार्टीको जीवनहीन संरचना मात्र बाँकी रहन्छ । आफ्नो योग्यता देखाएर पार्टी र देशका लागि काम गर्ने भावना भएका साथीहरूको उचित मूल्यांकन नहुँदा आमजनताले समेत पार्टीभित्रको विभेद थाहा पाउँछन् । यसले आमनिर्वाचनमा राम्रो नतिजा निकाल्न बल पुग्दैन । इमान, योग्यता र निरन्तरको क्रियाशीलता पुरस्कृत नहुनु भनेको त्यस संस्था वा राजनीतिक दलमा जनताको आकर्षण नरहनु हो । कांग्रेसका सदस्यको आजको मुख्य चिन्ता यही हो । कुनै पनि राजनीतिक दलले आफ्ना सदस्यहरूको योग्यता र योगदानको समुचित मूल्यांकन गर्दैन भने त्यो दलमा नयाँ व्यक्तिको प्रवेश शून्यप्रायः हुन पुग्छ । र, दल टाक्सिँदै जान्छ । यस समस्याबाट राजनीतिक दल मुक्त रहन सक्नुपर्छ । हाम्रो अगाडि आमनिर्वाचन छ र उम्मेदवार बन्ने आकांक्षी धेरै छन् ।

हामी अहिले चुनावी तालमेल रचना गर्नमा केन्द्रित छौँ । यसको उद्देश्य चुनाव जित्नु हो । तालमेलको बलमा चुनाव पनि जितिएला, तर लोकतन्त्रको भविष्य सुरक्षित हुने गरी जितिएला कि नजितिएला ? मूल प्रश्न यही हो । 
 

यसको समुचित व्यवस्थापन हुन सकेन भने परिणाम राम्रो नआउन सक्छ । त्यसमाथि चुनावी तालमेलका कारण अवसरको न्यूनता छ । यसले चुनौती थपेको छ । यस्तो वेलामा कांग्रेसले उत्कृष्ट निर्णय गर्न सक्नुपर्छ । पार्टीको निर्णयमाथि सार्वजनिक प्रश्न उठ्ने अवस्था आउनु हुँदैन । निर्वाचनको मैदानमा पठाउने व्यक्ति जनताले पत्याएको हुनुपर्छ । गुटका नाममा थोपरिने जोसुकै व्यक्तिलाई मतदाताले स्वीकार गर्दैनन् । कांग्रेसलाई चुनाव जिताएर तंग्य्राउने हो भने सही उम्मेदवार छनोटबाटै सुधार प्रारम्भ गर्नुपर्छ । आजको प्राथमिक आवश्यकता यही हो । 

कार्यशैली 
 नेपालका राजनीतिक दलहरूको कार्यशैली परम्परागत र शास्त्रीय छ । दलभित्र कुलीनतन्त्र हाबी हुँदै गएको छ, जहाँ नाता र पैसाको प्राधान्य रहन्छ । यस प्रवृत्तिले कांग्रेसलाई पनि गाँजेको छ । र यो दिनानुदिन बढिरहेको छ । पार्टीभित्रको सामन्तवाद र ठालुतन्त्रको उत्कर्ष नै कुलीनतन्त्र हो । समयमै कांग्रेसले आफ्नो मौलिक चरित्र नअँगाल्ने र वास्तविक धरातलमा नफर्किने हो भने यस प्रवृत्तिले लोकतन्त्रलाई नै खान्छ । हुन त यस विषयमा चिन्ता गर्ने फुर्सद हामी कसैलाई छैन । पार्टीको केन्द्रीय कार्यालयदेखि वडा तहसम्मको कार्यशैली एकदमै पुरातन छ । वडा कार्यालयहरूमा एउटा गुटले अर्को गुटको उछित्तो काढ्ने प्रवृत्ति छ । गुटहरूबीच गहिरो वैरभाव छ । पार्टीका सबै साथीको शक्ति यसैमा केन्द्रित छ ।

आखिर यस्तो परिपाटी कहिलेसम्म चलाउने ? नेताको वैयक्तिक स्वार्थमा तगारो बन्न खोजेको आरोपमा कतिपय राम्रा साथीहरूलाई बारम्बार अवसरबाट वञ्चित कहिलेसम्म गर्ने ? जनताले रुचाएका साथीहरूलाई उपलब्ध अवसरबाट वञ्चित गर्दै गएर परिणाम निकाल्न सकिएला त ? यी र यस्ता अनेकौँ प्रश्नले घेरिएका छौँ हामी । हामीलाई निर्वाचन नजिती भएको छैन । तर, पार्टीको कार्यशैली र मूल्यांकन प्रणाली सामन्ती र मनोगत छ । यस्तोमा कसरी जितिएला त ? आज सबैको मनमा यही चिन्ता छाएको छ । राजनीतिक परिवर्तन मात्र अग्रगामी भएर नपुग्ने रहेछ । कार्यशैलीसमेत अग्रगामी हुनुपर्ने रहेछ । तसर्थ, कांग्रेसको पुनर्जीवनको प्राथमिक सर्त नै अग्रगामी कार्यशैली हो । पुराना बानी र आदतले हामीलाई थिच्नुसम्म थिचेको छ । यसलाई परित्याग नगरी अघि बढ्न सकिँदैन । 

ऐतिहासिक दायित्व 
 नेपालमा लोकतन्त्रको संस्थागत विकास अझ पनि हुन सकेको छैन । संविधान लेखेर एक–दुइटा चुनाव गर्दैमा संस्थागत विकास नहुँदो रहेछ । जबसम्म लोकतन्त्रमा योग्यता र दक्षता संरक्षित र पुरस्कृत हुँदैन, तबसम्म लोकतन्त्रले जरा गाडिँदैन । सिमान्तमा रहेको गरिब नेपालीबारे चिन्ता गर्ने प्रणाली हो लोकतन्त्र । तर, हाम्रो लोकतन्त्रले आफ्नो, निजी परिवार र बढीमा गुटको मात्र चिन्ता गर्न सिकाएछ । हाम्रा कुरा भने रामराज्यका छन् । हाम्रा शास्त्रहरू ज्ञानका अपार भण्डार हुन् । सनातन धर्म अँगाल्ने जाति या समुदायका लागि वेद र गीता प्रमुख शास्त्र हुन् । यी शास्त्र सम्पूर्ण मानव जातिकै लागि मार्गदर्शक छन् ।

हामीले यी ग्रन्थका ज्ञानबारे धेरथोर सुन्दै पनि आएका छौँ । अरू शास्त्रसमेत महत्वपूर्ण छन् नै । यस आलेखमा अघि नै सामवेदको प्रसंग आइसकेको छ । यसै क्रममा यजुर्वेदले भनेको छ– हामी सय वर्ष वा त्यसभन्दा बढी स्वावलम्बी भएर बाँचौँ । जीवनको महत्वलाई बुझौँ र दीनहीन जीवन त्यागेर सदैव उन्नतिको मार्गमा अग्रसर होऔँ । ‘यस उपदेशको अन्तर्य नै लोकतन्त्रको आत्मा हो ।’ लोकतन्त्रले जबसम्म योग्यता अर्थात् ‘मेरिटोक्रेसी’लाई आत्मसात् गर्दैन, तबसम्म स्वावलम्बनको कुरा फगत मनोगत चाहना सावित हुन्छ र उन्नतिको मार्ग भेटिँदैन । योग्यताले स्वावलम्बनको जग बसाउँछ र थप प्रगतिको मार्गमा अग्रसर गराउँछ । बडो दुःखसाथ भन्नुपर्छ कि हामी यस बाटामै छैनौँ । 

हामी अहिले चुनावी तालमेल रचना गर्नमा केन्द्रित छौँ । यसको उद्देश्य चुनाव जित्नु हो । तालमेलको बलमा चुनाव पनि जितिएला, तर लोकतन्त्रको भविष्य सुरक्षित हुने गरी जितिएला कि नजितिएला ? मूल प्रश्न यही हो । चुनाव जित्न हामी अरूको भरथेग खोज्दै छौँ । तर, हामी अरूको भरथेग पनि चाहिनेभन्दा ज्यादा गर्दै छौँ । यसले लोकतन्त्रको भरथेग गर्छ कि जरो खन्छ, समयक्रममा चर्चा गरौँला । 

यतिवेला यो चर्चा बेमौसमी बाजा जस्तो लाग्न सक्छ । तर, कांग्रेसको काँधमा लोकतन्त्रको सुदूर र सुरक्षित भविष्यको गह्रौँ भारी र गहन दायित्व पनि छ । वर्तमान पुस्ता र समकालीन नेतृत्वले लोकतन्त्रको जगलाई मजबुत बनाउन र भविष्यलाई सुरक्षित राख्न सक्नुपर्छ । त्यसैले, निर्वाचनको परिणामले लोकतन्त्रको सच्चा आत्मा बोक्न सक्नुपर्छ । यदि हाम्रो कदमले लोकतन्त्रको समाधी तयार भयो भने भाग्ने ठाउँ पनि बाँकी रहनेछैन ।