मैले हालै एक अफगान शरणार्थीलाई रोममा भेटेकी थिएँ । तालिबानले अगस्ट २०२१ मा अफगान सरकारलाई ढाल्दै गर्दा उनी योग्यता प्राप्त डाक्टर बन्न महिना दिन मात्रै बाँकी थियो । उनकी दिदी विश्वविद्यालयमा दन्तचिकित्सा अध्ययन गरिरहेकी थिइन् र दुई बहिनी विद्यालयमा उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । यी बहिनी र अन्य एक करोड ९० लाख महिला र बालिकाले रातारात विश्वविद्यालय वा विद्यालय पढ्ने, काम गर्ने र स्वतन्त्रताको अधिकार गुमाए । मैले रोममा शरणार्थी अफगान युवतीसँग कुरा गर्दै गर्दा उनले आफ्ना बुबालाई अँगालो मारेकी थिइन् । उनका बुबाले अफगानिस्तानमा दशकौँदेखि ग्रामीण विकास विज्ञका रूपमा काम गरेका थिए । अफगानिस्तानबाट परिवारसहित भागेर हिँड्दा उनले सबैथोक छाडेर हिँडेका थिए । अश्रुधारा बगाउँदै ती युवती आफू मात्रै नभई मुलुककै महिलाका लागि दुःखी भएको बताउँछिन् ।
११ सेप्टेम्बर २००१ को घटनाअगावै अफगान महिलालाई पत्थर हान्ने, कोर्रा बर्साउने र विद्यालय जानबाट रोक्ने कामले विश्वस्तरमा आक्रोशको स्थिति पैदा गरेको थियो । अफगानिस्तानमा नेटोको अतिक्रमणबारे प्रश्न गर्दा अमेरिकी र अन्य पश्चिमा नेताले एकै वाक्यमा अफगान महिलाको अधिकार र तालिबानलाई निर्मूल पार्छौं भन्थे । पछिल्ला दुई दशकमा अफगान महिलाले अथक प्रयासका माध्यमबाट आफूलाई सशक्त बनाउँदै गरेको दृश्य निरन्तर रूपमा हिंसा र पीडा भोगिरहेको अफगानिस्तानका लागि आशाको किरण थियो । महिला सशक्तीकरणमा अफगान पुरुषको सहयोग पनि उल्लेख्य थियो । एक वर्ष अगाडिसम्म अफगान महिलाले चिकित्सक, शिक्षक, कलाकार, प्रहरी अधिकारी, पत्रकार, न्यायाधीश, वकिल र जनप्रतिनिधिको भूमिका निर्वाह गर्थे । अफगान बालबालिकाले आफ्ना विद्यालयमा दोहोरिइरहने आत्मघाती हमलालाई चुनौती दिँदै आएका थिए । ग्रामीण क्षेत्र विशेषतः तालिबान नियन्त्रित क्षेत्रका महिलाको अवस्था अप्ठ्यारो भए पनि मुलुकभर महिलाको अवस्थामा सुधार आएको थियो भन्नेमा दुई मत थिएन । तर, यी जम्मै सुधार गल्र्यामगुर्लुम्म ढल्यो ।
सामथ्र्य, लचिलोपन र संसाधनका मामिलामा अफगानिस्तानका छोरी असाधारण छन् । मैले एक अफगान महिला भेटेकी थिएँ, जो तालिबानको पुरानो शासनकालमा केटाको पहिरन लगाएर गोप्य ढंगले विद्यालय जानेमध्येकी एक हुन् । यिनै महिलाले नेता र अन्तर्राष्ट्रिय समुदायले अफगान समाजमा महिला मतको उच्च सम्मान हुने भनेर दिएको प्रत्याभूतिलाई विश्वास गर्दै पत्रकार र वकिल बनेर मुलुकको भविष्यका लागि योगदान गरेका थिए ।
महिला उत्पीडनको मूल्यमा हामीले अब तालिबानलाई कूटनीतिक छुट दिन बन्द गर्नुपर्छ, बरु हामीले त्यहाँका महिलालाई गर्न सक्ने सहयोग गर्नुपर्छ
यी प्रत्याभूति तोडिए र योभन्दा ठूलो विश्वासघात के हुन सक्थ्यो र ? महिला फेरि सडकमा पिटिँदै छन् अथवा महिलालाई रातमा घरबाट निकालेर यातना दिइँदै छ । मुलुकका जेल महिला राजनीतिक बन्दीले भरिएका छन् । अपहरण गरेर बालिकालाई तालिबान नेतासँग जबर्जस्ती विवाह गराइएका खबर पनि बाहिर आएका छन् । एक महिला र आमाका नाताले तालिबानकालदेखि महिलामाथि हुने हिंसाविरुद्ध अफगानिस्तानका परिवारको शक्तिहीन अवस्थालाई सम्झेर नै पीडाबोध हुन्छ । यद्यपि जोखिमका बाबजुद महिला अधिकार पुनर्बहालीको माग गर्न कुनै विदेशी शक्ति आएनन्, यसका लागि प्रतिरोधी अफगान महिला नै सडकमा उत्रेका छन् ।
अफगान महिलालाई लामो समयसम्म घरको चार दिवारीमा कैद गरेर राखिराख्ने सोच्नु अब असम्भव छ । अफगान महिला मुलुक र संसारका लागि अविश्वसनीय स्रोत हुन् भन्नेमा दुई मत छैन । अर्थतन्त्र र समग्र समाज अफगान महिलाको पूर्ण सहभागिताविना क्रियाशील हुँदैन । महिला उत्पीडनको जगमा निर्माणमा भएको शान्ति वास्तविक शान्ति होइन, अर्थात् समाज आफैँसँग निरन्तर रूपमा युद्धरत हुन्छ । आफ्नै नागरिकको सफलता, स्वास्थ्य, स्थायित्व र शिक्षामा योगदान पुर्याउने महिलालाई थुन्नु र यातना दिनु कायरता मात्र नभई मूर्खता पनि हो । २१औँ शताब्दीमा महिलालाई कति शिक्षा ‘उपयुक्त’ हुन्छ भनेर बहस गर्नु वा शक्तिशाली एवं स्वतन्त्र ढंगले सोच्ने महिलादेखि डराउनु सबैभन्दा बेतुके कुरा हो । अफगान महिलाले के भोग्नेछन् भन्नेले नै मलाई कोक्याउँछ र यो दमनकारी राज्य कहिलेसम्म चल्ने हो भन्ने सोचेर भाउन्न छुट्छ ।
सन् १९९० को दशकमा महिलामाथि भएको अत्याचारका लागि हामी आक्रोशित हुनु जायज थियो र अहिले पनि हामी आक्रोशित छौँ । पछिल्ला केही वर्षयता अमेरिका अफगान महिलाका लागि गरेको वाचाबाट पछि हटेको छ, जसमा तालिबानसँगको सम्झौता पनि पर्छ , जहाँ महिला अधिकार वा अफगान महिला र नागरिक समाजको सहभागिताबारे कुनै विषय उल्लेख गरिएन । महिला उत्पीडनको मूल्यमा हामीले अब कूटनीतिक छुट दिन बन्द गर्नुपर्छ, बरु हामीले त्यहाँका महिलालाई गर्न सक्ने सहयोग गर्नुपर्छ । शिक्षाका लागि आतुर बालिका घरमा थुनिएका छन् र यी बालिकालाई अनलाइन वा भूमिगत विद्यालयका माध्यमबाट शिक्षा जारी राख्न सहयोगको खाँचो छ । टाउको लुकाएका मानवअधिकार रक्षकले के बुझ्न जरुरी छ भने तपाईंलाई हामीले बिर्सेका छैनौँ र यी मामिलामा तपाईंले गरेको व्यवहारको जवाफ पक्कै खोज्नेछौँ ।
अफगानिस्तानका इतिहासमा थुप्रै कालखण्ड आए र त्यसमध्ये कैयौँ कालखण्ड कहालीलाग्दा छन् । अहिलेको समय पनि कहालीलाग्दो समयकै कडी हो । मलाई विश्वास छ यो अन्तिम कडी होइन । सबै नागरिकको समान योगदान र वाक्स्वतन्त्रतामा आधारित बहुलवादी, स्वतन्त्र अफगानिस्तानको परिकल्पना यथार्थमा एक टाढाको सपनाजस्तो देखिन सक्छ, तर यो सम्भव छ भन्नेमा म विश्वस्त छु ।
(हलिउड अभिनेत्री जोली टाइम म्यागेजिनकी स्तम्भकार हुन्) टाइम म्यागेजिनबाट