१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अपूर्वानन्द
२o८१ बैशाख २१ शुक्रबार ११:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बलात्कारीलाई आजादीको अमृत पिलाउँदै भारत 

देश/विदेश

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२८:oo

मुसलमानका हत्यारा र बलात्कारीलाई रिहा गरिरहँदा भारतीय जनता पार्टीको सरकारले मनाइरहेको अमृत महोत्सव कसका लागि हो भन्ने प्रश्न उठेको छ 

हालको विद्रूप समयलाई प्रतिबम्ब गर्ने गरी सन् २००२ मा बिलकिस बानो र अन्य महिलाको सामूहिक बलात्कार तथा बिलकिस बानोकी तीन वर्षीया छोरी सलेह र अन्य १३ जनाको हत्यामा दोषी ठहर भई आजीवन जेल सजाय काटिरहेका ११ अपराधीलाई गुजरात सरकारले स्वतन्त्र भारतको ७५औँ वर्षगाँठका दिन रिहा गरेको छ । वीर सावरकरको पदचाप पछ्याउने हो भने मुसलमान महिलाको बलात्कार र मुसलमानको हत्या जायज हो । सावरकरले भनेझैँ जब बलात्कार र हत्या नै वैधानिक राजनीतिक वा वैचारिक कदम हुन्छ भने ११ अपराधीले अपराध नै गरेका थिएनन् ।     

पछिल्ला समयको तुलनामा यस वर्ष सरकार सावरकरलाई भारतीय स्वतन्त्रताका मुख्य नायकका रूपमा स्थापित गर्न जोडतोडले लागिपरेको छ । सावरकरको वैचारिकी हालको भारतीय राज्यको औपचारिक विचार बनेको छ । वीर सावरकरले आफ्नो पुस्तक ‘सिक्स ग्लोरियस इपक्स’मा बलात्कारलाई राजनीतिक रूपमा जायज ठहर्‍याएका छन् । सावरकरका अनुसार हिन्दूको हत्या र बलात्कार हुन नदिन मुसलमान महिलाको बलात्कार एवं मुसलमानको हत्या गर्नु वैधानिक हो र यसो गरिनैपर्छ ।

मुसलमानका हत्यारा र बलात्कारीलाई रिहा गरिरहँदा भारतीय जनता पार्टी (भाजपा) सरकारले मनाइरहेको अमृत महोत्सवको अर्थ स्पष्ट हुन्छ । यो महोत्सव कसका लागि अमृत हो र कसका लागि विष ? ‘अपराधको प्रकृति’का नाममा यी अपराधीलाई सजाय पूरा हुनुअगावै रिहा गर्नु विडम्बना होइन र ? गुजरात सरकारले जोकोहीले पनि घिनलाग्दो र अक्षम्य मान्ने अपराध गरेका अपराधीलाई आजादीको अमृत पिलाएको छ । यी अपराधीलाई रिहा गर्ने पञ्चमहल कारागार सल्लाहकार समितिमा भाजपा समर्थक सरकारी अधिकारी र नेता त थिए नै, त्यसबाहेक ६ जना प्रहरी अधिकारीले समेत १५ अगस्टका दिन अपराधी उन्मुक्तिलाई सदर गरेका छन् । यसबाट सावरकर वैचारिकी कति अदृश्य ढंगले सामान्यीकृत भएको छ, त्यसको अनुमान गर्न सकिन्छ । 

भारतमा बलात्कारलाई हत्याभन्दा ठूलो अपराध मानिन्छ । तपाईं आममानिससामु बलात्कारीलाई के सजाय दिनुपर्छ भन्ने प्रश्न गर्नुस्, उत्तर झुन्ड्याउनुपर्छ भन्ने पाउनुहुन्छ । यस अवस्थामा पञ्चमहल कारागार सल्लाहकार समितिले ७५औँ स्वतन्त्रता दिवसका दिन यी अपराधीप्रति किन सदासयता देखाएका होलान् ? यी ११ बलात्कारी र हत्याराले २ मार्च २००२ का दिन १७ मुसलमानलाई खेदेर, घरेर आक्रमण गरेका थिए । उसो त गोधरा स्टेसनमा ५६ जनाको मृत्यु हुने गरी आगलागी भएपछि मुसलमानमाथि हमला भएको थियो भन्ने गरिन्छ, तर बलकिस परिवारसहित, गोधरा प्रकरण हुनुभन्दा एक दिनअगाडि नै गाउँ छोड्न बाध्य भएकी थिइन् ।

किनभने, अघिल्लो बकर इदमा गाउँमा मुसलमानमाथि हमला भएको थियो । २ मार्चमा लाठी, हँसिया, बन्चरो र तरबार बोकेको हिंस्रक समूहबाट जोगिन भागिरहेकी बिलकिस र अन्य तीन महिलालाई उनीहरूले बलात्कार गरेका थिए । बिलकिसकी तीन वर्षीया छोरी सलेहाको टाउको भुइँमा बजारेर हत्या गरिएको थियो । अन्य १४ जनाको पनि हत्या गरिएको थियो । ६ जनाको त शव नै पत्ता लागेन । निर्वस्त्र भएकी बिलकिसलाई होस आएपछि एक आदिवासी महिलाले लुगा दिएकी थिइन् । र, उनी कानुनी प्रक्रियातर्फ लागिन् । गोधराको राहत शिविरमा बसिरहेकी बिलकिसलाई तत्कालीन राष्ट्रिय मानवअधिकार आयोगले न्यायका सहयोग गरेको थियो । हो ! त्यसवेला मानवअधिकार आयोगमा मानव र अधिकार दुवै जीवित थिए ।

करिब ६ वर्षको कानुनी लडाइँपछि बिलकिसले न्याय पाएकी थिइन् । यी ६ वर्षसम्म बिलकिस र उनका श्रीमान् पहिचान लुकाएर भूमिगत जीवन जिउन बाध्य भएका थिए । मानवअधिकार आयोगले बिलकिस र परिवारलाई संरक्षण गरेको थियो । आयोगको तदारुकता प्रशंसनीय थियो, तर पूरा घटनाक्रम भारतका लागि लज्जास्पद रह्यो ।  सन् २००८ मा सिबिआई अदालतले १२ जना संदिग्धलाई सामूहिक बलात्कार एवं हत्या गरेको पुष्टि गर्दै आजीवन जेल सजाय दियो । अपराध भएको १७ वर्षपछि सर्वोच्च अदालतले बिलकिसलाई क्षतिपूर्तिस्वरूप ५० लाख रुपैयाँ, एक घर र रोजगारीको प्रबन्ध गरेको थियो । अपराधको गाम्भीर्यलाई मध्यनजर गर्दै यो विशाल क्षतिपूर्ति दिइएको थियो । तर, सन् २०२२ मा यो गाम्भीर्य कता हरायो ? हत्यारा र बलात्कारीलाई खुला छाड्दा गुजरातका अधिकारी एवं सरकारले बिलकिस र परिवारलाई असुरक्षा हुन्छ भन्ने किन देख्न सकेन ? 

गुजरात राज्यले महिलाको सम्मान गर्नुपर्छ भनेर नसिहत दिएका प्रधानमन्त्रीको राय किन नसुनेको भनेर केही पत्रपत्रिकाले लेखेको देखियो । तर, यिनै प्रश्न गर्नेहरू बिलकिस र परिवारमाथि अपराध हुँदा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी थिए भन्ने बिर्सन्छन् । मोदी मुख्यमन्त्री हुँदा उनले बिलकिसलाई कानुनी लडाइँमा साथ दिएका थिएनन् । तत्कालीन गुजरात प्रहरीले प्रमाण र बारदात लुकाउन र दबाउन खोजेको थियो । पत्रपत्रिकाले महिला सम्मानको नसिहत दिने मोदीले तत्कालीन समयमा बिलकिसलाई एक्लो किन पारेको भनेर प्रश्न गर्नुपर्ने हो ।  

तत्कालीन मुख्यमन्त्रीको नेतृत्वमा बिलकिस बानो किन असुरक्षित थिइन् ? के यो प्रश्न हिन्दू भिडबाट मारिएका तत्कालीन विधायक एहसान जाफरीकी श्रीमती जाकिया जाफरीले मात्रै गर्ने हो ? र, जाकियालाई २० वर्षदेखि प्रश्न गर्न बल पुर्‍याउने तिस्ता शीतलवाड जेलमा किन जाकिनुपर्ने हो ? किन, किन, किन ?  

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) 
डेक्कन हेराल्डबाट

 

ad
ad