मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Monday, 16 December, 2024
अपूर्वानन्द
२o७८ चैत ३० बुधबार o७:५१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दुत्वको प्रतिकार : हिन्दूको नैतिक जिम्मेवारी

‘मुसलमानको अपमान, हिंसा वा हत्या गरेर तपाईं असल हिन्दू हुन सक्नुहुन्न’ भन्नु र एक मुसलमान वा इसाईको जीवनमा हस्तक्षेप गर्न तपाईंलाई कुनै अधिकार छैन भन्नु एउटै तर्क होइन ।

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार o७:५१:oo

भारतमा मुसलमानविरुद्ध दुष्टतापूर्ण आक्रमण भइरहेका वेला केही सज्जन हिन्दुत्वको राजनीतिले हिन्दूलाई नै असर गरिरहेको हुनाले हिन्दुत्वको राजनीतिको विरोध गर्नुपर्ने तर्क गर्छन् । यी सज्जनका अनुसार हिन्दुत्वको राजनीतिले हिन्दू युवालाई ठोस मुद्दाबाट भड्काएर घृणाको जमातमा परिवर्तन गरिरहेको छ । युवाहरू बढ्दो बेरोजगारी वा इन्धन मूल्यबारे किन सोच्दैनन् ? अर्थात् हिन्दुत्व समूहले मुसलमानलाई निसाना बनाइरहेका छन् किनभने हिन्दूलाई दिग्भ्रमित गर्नु छ । 

धेरै हदसम्म यी तर्कको उद्देश्य आमहिन्दूलाई मुसलमानविरोधी लहरमा नआउन भनेर गरिन्छ र यो कोणबाट तर्क अकाट्य नै देखिन्छ । हिंसाको राजनीतिले हिन्दूहरूमा गम्भीर संज्ञानात्मक क्षति पुर्‍याएको छ । यिनका विश्व र समाज हेर्ने दृष्टिकोण गहिरो गरी चोटिल भएको छ । हिन्दूहरूले आफ्नो स्वत्वको ज्ञान पनि गुमाइसकेका छन् । हिन्दूका शुभचिन्तक चिन्तित छन् र यो चिन्ता जायज पनि छ । हिन्दुत्वका कारण सहिष्णु भनेर चिनिने धार्मिक समुदाय अहिले विश्वकै सबैभन्दा पाखण्डी समुदाय बन्न पुगिरहेको छ । त्यसमाथि घृणाको राजनीतिले भारतीय अर्थतन्त्रलाई धराशयी बनाउनेछ भन्नेबारे पनि हिन्दू अनभिज्ञ छन् ।

उदाहरण, हलाल प्रमाणपत्रविरुद्धको अभियानले भारतको निर्यात व्यापारमा ठूलो क्षति निम्त्याउनेछ, किनभने यसले मुसलमान बाहुल्य मुलुक र भारतकै मुसलमानका लागि बजारवस्तुलाई स्वीकारयोग्य बनाउनेछ । यो कोणबाट तर्क गर्नेमा किरन मजुमदार सअजस्ता कर्पोरेट अगुवा छन् । मुसलमान व्यापारमाथि आक्रमण र बहिष्कारपछि सअले ‘कर्णाटकले सधैँ समावेशी आर्थिक विकास गरेको छ र हामीले साम्प्रदायिक बहिष्करणलाई ठाउँ दिनुहुँदैन । यदि साम्प्रदायिकता फैलिए हाम्रो वैश्विक नेतृत्वको छवि धुलिसात बन्नेछ’ भन्दै ट्विट् गरेकी थिइन् ।

भाजपाका आइटी सेलबाट आक्रमण भएपछि सअले कर्णाटकका मुख्यमन्त्रीले विवादलाई शान्तिपूर्ण ढंगले समाधान गर्नेमा विश्वस्त रहेको बताएकी थिइन् । वास्तवमा ‘विवाद’ दुई पक्षबीच शान्तिपूर्ण ढंगले समाधान हुन्छ, तर मुसलमानको व्यापारलाई बहिष्कार गर्ने काम एकतर्फी आक्रमण हो र यो रोकिनुपर्छ । सम्भवतः सअको टिप्पणी हिन्दुत्व समूहलाई नछोईकन गरिएको एक शिष्ट टिप्पणी मात्रै हो । प्रश्न उठ्छ के हिन्दुत्वको राजनीति भारतीय व्यापार र व्यापारको ‘वैश्विक नेतृत्वदायी छवि’को बाधक हो ?   

भाजपा आइटी सेलका प्रमुख अमित मालवीयका अनुसार गुजरातमा अटोमोबाइल क्षेत्रले सन् २००२ को गुजरात आमहत्यापछि उल्लेख्य प्रगति गरेको छ । उनी गलत छैनन् । सो आमहत्याले गुजरात व्यापारिक केन्द्र हो भन्ने छविलाई धुमिल पारेको छैन । रतन टाटासमेतले पनि सन् २००२ पछि गुजरातमा आफ्नो पसल थापेका होइनन् र ! र नरेन्द्र मोदीलाई भारतको भविष्य देखेका होइनन् ? 

यसबाट प्रमाणित हुन्छ कि ‘आधुनिक समयका निरो’ मोदीको नेतृत्वमा भएको आमहत्याले राज्यको आर्थिक सम्भावनामा क्षति पुर्‍याएको देखिँदैन । गुजरात कर्पोरेट जगत्को आकर्षणकै गन्तव्य बनिरह्यो । मुसलमानको सीमान्तीकरण र तिनलाई निमुखो बनाउने कामले गुजरातको छविलाई कुनै क्षति पुर्‍याएन । ठीक विपरीत गुजरातलाई ‘विकास मोडल’का रूपमा प्रस्तुत गरिन्छ । सन् २०१४ सम्ममा अधिकांश भारतीय विशेषतः हिन्दूले भारतमा पनि गुजरात मोडल लागू गर्नुपर्ने देखे । जबसम्म ’विकास’ र कर्पोरेट नाफामा छ मुसलमानले हिंसाको सामना गरिरहेका छन् वा छैनन् भन्नेले फरक पर्दैन । बिस्तारै मुसलमानविरुद्धको हिंसा गुजरात ‘विकास’मा अप्रासांगिक पादटिप्पणी बन्दै गएको छ । 

भारतीय समाजलाई मुसलमानमाथि गरिने हिंसालाई सहनुहुन्न भन्न हामीलाई किन अप्ठ्यारो ? वा मुसलमानविरोधी हिंसा सहने र गराउने सरकार निर्वाचित गराउनु हुँदैन भन्न केले रोकेको छ ? मुसलमान समुदायविरुद्धको हिंसाले समुदायको मानव अधिकार हनन हुन्छ भन्ने सामान्य आधारमा हिंसाको निन्दा गर्न अप्ठ्यारो किन ? मुसलमानविरुद्धको हिंसाले हिन्दूलाई फरक नपरे पनि हिंसाको निन्दा हुनुपर्ने होइन र ? हिंसाको निन्दा गर्ने संकुचित कोण भारतलाई आवश्यक छैन । पक्कै पनि हिंस्रक र मौन रहेर हिंसालाई सहने वा भड्काउनेलाई पनि हिंसाले असर पुर्‍याउँछ, तर यसको बोध केही उच्च चेत भएका मानिसमा मात्रै देख्न सकिन्छ । र, बाँकी हामी सबैका लागि हिन्दुत्वको राजनीति भारतीय मुसलमान र इसाईको अस्तित्वका लागि हानिकारक भएको भन्ने तथ्यका कारण मात्रैले पनि हामी हिन्दुत्वको राजनीतिलाई भारतमा ठाउँ दिनुहुन्न भन्छौँ । 

निश्चय नै हिन्दूको छवि मार्काको तर्क आमहिन्दूलाई हिंसामा संलग्न नहून् भन्ने उद्देश्यले पनि गरिन्छ । तर, सारा अथरले भनेझैँ हिन्दुत्वको राजनीतिले हिन्दूलाई नै असर गर्छ भन्ने तर्क आत्ममुग्धताबाहेक केही होइन, अर्थात् सडक–गल्लीमा हिंसाको वास्तविक चपेटामा मुसलमान पर्ने, तर त्यसले पनि हिन्दूलाई नै असर गर्छ भन्ने ? अथरका अनुसार ‘औसत हिन्दू उदारवादी आफूलाई ब्रह्माण्डका केन्द्र ठान्छन् । हुँदा–हुँदा उनीहरू तेलको बढ्दो मूल्यबाट ध्यान मोड्न पनि नरसंहार मच्चाइन्छ भन्ने विश्वास गर्छन्’ । वास्तवमा हिन्दुत्वको राजनीति कुनै विषयान्तर होइन, हिन्दुत्व एक धेरै पुरानो वैचारिक योजना हो, जसको केन्द्र भनेकै इस्लाम र इसाईद्वेष हो । यही वैचारिकीको विरोध एवं प्रतिकार गरिनुपर्छ ।    

‘मुसलमानको अपमान, हिंसा वा हत्या गरेर तपाईं असल हिन्दू हुन सक्नुहुन्न’ भन्नु र एक मुसलमान वा इसाईको जीवनमा हस्तक्षेप गर्न तपाईंलाई कुनै अधिकार छैन भन्नु एउटै तर्क होइन । जति तपाईंलाई आफ्नो जीवन जिउने अधिकार छ त्यति नै मुसलमान वा इसाईलाई पनि आफ्नो जीवन जिउने अधिकार छ । संख्यामा थोरै छन् वा राज्य तपाईंको पक्षमा छ भन्दैमा तपाईं मुसलमान वा इसाईको जीवन तहसनहस गर्न पाउनुहुन्न । मुद्दा हिन्दूको छविको होइन । मुद्दा हो, मुसलमानको जीवनको । र, हामीले यो सत्य बोल्न सक्नुपर्छ । द वायरबाट