मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ५ आइतबार o५:५६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्ताए समाजवादी चिन्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार o५:५६:oo

समाजवादी चिन्तकका रूपमा परिचित प्रदीप गिरि चार दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ७५ वर्षीय गिरिको राति साढे ९ बजे निधन भएको हो । समाजवादी चिन्तकका रूपमा परिचित गिरि चार दशकभन्दा लामो समयदेखि राजनीतिमा संलग्न थिए ।

स्वास्थ्य अवस्था स्थिर बनेपछि गिरिलाई भेन्टिलेटरमा राखिएको थियो । मेडिसिटीमा डा. पंकज वर्मनसहितको चिकित्सक टोलीले उनको उपचार गरिरहेको थियो । गिरिको निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर अन्य भागमा पनि फैलिँदै गएको थियो । 

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि गिरिलाई तीन साताअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनको निधनप्रति राजनीति नेतृत्वले दुःख व्यक्त गरेको छ । 

कांग्रेसले विज्ञप्ति निकालेर उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मित्रलाल र पुण्यप्रभाका छोरा गिरिका श्रीमती र एक छोरा छन् । उनी सिराहा १ बाट प्रतिनिधिसभा सदस्य हुन् । स्थायी ठेगना बस्तीपुर सिराहा रहेका गिरि हाल भीमसेनगोला काठमाडौंमा बस्दै आएका थिए ।

आइतबार ९–११ बजेसम्म पार्थिव शरीर अस्पतालमै श्रद्धाञ्जलीका लागि राखिने, ११ः३० देखि २ बजेसम्म पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताले अस्पताल पुगेरै गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । 

उनको अध्ययन, अनुसन्धान तथा लेखनमा रुचि थियो । उनले राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेलजीवन बिताएका थिए । उनमा दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता थियो । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । हरेक राजनीतिक आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । उनका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

०१७ को घटनाक्रमपछि राजनीतिमा सक्रिय उनी ०२४ मा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए । ०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित गिरि संविधानसभा सदस्य निर्वाचन, ०६४ मा कांग्रेसबाट समानुपातिक सभासद् भएका थिए । 

दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० मा पनि कांग्रेसबाट समानुपातिक सभासद् चयन भएका थिए भने संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ मा सिराहा १ बाट निर्वाचित बनेका थिए । उनी प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य थिए ।

शेरबहादुर देउवा, प्रधानमन्त्री
नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद खडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

डा. शेखर कोइराला, कांग्रेस नेता
नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदीप दाइले पुर्‍याउनुभएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहन्छ । नेपालको सिंगो राजनीति र सिंगो कांग्रेस पार्टीमा प्रदीप दाइको अभाव सधैँ खट्किरहनेछ । शोकाकुल यस समयमा समस्त परिवारमा समवेदना तथा स्व. प्रदीप दाइप्रति भावपूर्ण श्रद्धाञ्जली !

शंकर पोखरेल, महासचिव, एमाले
नेपाली राजनीतिका एक अध्ययनशील चिन्तक तथा विचारक नेता प्रदीप गिरिज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली !