माओवादी केन्द्रीय समिति जारी बैठकमा उमेरहदका कारण बहिर्गमित विद्यार्थी नेताहरूको व्यवस्थापनको विषयमा चासो व्यक्त भएको छ । ३२ वर्ष उमेरहद लगाउनुपर्ने पक्षमा निर्णय भएपछि करिब ६ सय विद्यार्थी नेताहरु भूमिकाविहीन भएका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा केही नेताहरूले भूमिकाविहीन विद्यार्थीको व्यवस्थापनबारे चासो राखेका हुन् ।
अखिल क्रान्तिकारीमा उमेरहद कायम भएपछि बहिर्गमित नेताहरूले अब के हुन्छ भनेर आफूनिकट नेताहरूलाई प्रश्न गरिरहेका छन् । अध्यक्षमा इन्द्र भुसाल, मिलन एम, जिपी मैनाली, तुकमान महरा, पवन कार्की, केशव रावल ,नारायण खनाल, मदन भुल र नरेश शर्मासहितका नेताहरू आकांक्षी थिए । विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको उचित व्यवस्थापन नभए विशेष महाधिवेशन मात्र होइन, आउँदो फागुनको स्ववियु निर्वाचनमा समेत प्रभाव पर्ने दाबी कतिपय नेताहरूको छ ।
गत १० देखि १४ असोजसम्म कीर्तिपुरमा चलेको क्रान्तिकारीको बन्दसत्रमा उमेरहदको विषयले प्रवेश पाएपछि विवाद सुरु भएको थियो । उमेरहद पक्ष र विपक्षमा प्रतिनिधिहरू बाडिँदा तनाव भएको थियो । जसका कारण सम्मेलन स्थगित गर्नुपरेको थियो । कार्यक्रम अगाडि बढाउन गाह्रो भएपछि १३ पुसमा जिल्ला जिल्लामा मतदान केन्द्र राखेर मुक्ति प्रधान नेतृत्वको निर्वाचन समितिले उमेरहदबारे जनमत लिएको थियो । संगठनभित्रै प्रतिनिधिबिच मतदान गराएको थियो, जसले ३२ वर्षे उमेरहद अनुमोदन गरेको थियो ।
लामो समय विद्यार्थी आन्दोलनमा ऊर्जाशील समय खर्चेका विद्यार्थी नेताहरू बाहिरिएपछि त्यसले ठुलो असन्तुष्टि सिर्जना गरेको छ। अघिल्लोपटक रन्जित तामाङ अध्यक्षबाट बाहिरिँदा तामाङसहित सातजना विद्यार्थी नेताहरूलाई माओवादीले पार्टी केन्द्रमा स्थान दिएको थियो।