मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २२ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार

ढकारी गाउँपालिकाद्वारा जलीय जैविक विविधता संरक्षण विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १७:४३:oo

अछामको ढकारी गाउँपालिकाको हिउँदे अधिवेशनले जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक पारित गरेको छ । सोमबार सम्पन्न १४औँ अधिवेशनले जलीय जैविक विवधताको संरक्षणसम्बन्धी विधेक पारित गरेको हो ।

विधेयक पारितपश्चात् बनेको ऐनले गाउँपालिका क्षेत्रभित्रका नदी, पोखरी, तालतलैया, जलचर, जलीय जैविक विविधताको संरक्षण गर्न सहज हुने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए । उनका अनुसार जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न तथा जलस्रोत र जलचरमा आश्रित समुदायबिचको आध्यात्मिक एवं सांस्कृतिक अन्तरसम्बन्ध र अन्तरनिर्भरतासमेत सुदृढ हुनेछ ।

यसले गाउँपालिकाका नागरिकको आर्थिक हित हुने भएकाले पनि विधेयक ल्याएको अध्यक्ष साउदले बताए । अधिवेशनमार्फत गाउँपालिकाले आर्थिक वर्ष ०८१-८२ को अहिलेसम्म भएका विभिन्न ४८ वटा निर्णय अनुमोदन गरेको छ । यस्तै, आर्थिक वर्ष ०८१-८२ मा महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु अनुमोदन गरी फर्स्योट गर्ने निर्णय पास गर्नुका साथै आर्थिक वर्ष ०८१-८२ देखि ०८५-८६ सम्मका एकीकृत आवधिक योजनासमेत पारित गरिएको छ ।

अधिवेशनमा व्यापक छलफलपछि आर्थिक वर्ष ०८१-८२ का रकम अभाव देखिएका स्वीकृत कार्यक्रम सञ्चालन गर्न केही शीर्षकहरूलाई रकमान्तर, संशोधन र खारेज गर्ने निर्णय पनि गाउँसभाले गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको अध्यक्षता तथा उपाध्यक्ष नेत्रकलादेवी शाहीको स्वागत मन्तव्यबाट सुरु गरेको सभामा सभाका सदस्य चन्द्रबहादुर बुढाले जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक प्रस्तुत गरेका थिए । अर्का सदस्य प्रकाशबहादुर थापाले बेरुजु फर्स्योट, रामबहादुर थापाले कार्यपालिकाको निर्णय अनुमोदन, पहलवान थापाले आवधिक योजना र चन्द्रबहादुर साउदले बजेट रकमान्तर बारेको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।